Tuesday, March 31, 2009

चौतारिमा आइतबारे साहित्यिक महोत्सब

बिशेष गरी मार्च महिना महिला स्पेसल महिना परेको हुनाले मार्टीन चौतारीमा पनि मार्च महिनाभर छलफलका बक्ताहरु महिलाहरु नै रहे । चौतारीको नियम अनुसार हरेक अंग्रेजी महिनाको अन्तिम आइतबार भने साहित्य स्पेसल हुने हुनाले यो आइतबार अझ फरक खालको माहोल बनेको थियो । सधैको आइतबारहरुमा कहिले ठुल ठुला साहित्यकारहरुको पुस्तकको बारेमा गफ हुन्थ्यो त कहिले ठुल ठुला साहित्यकारहरुले साहित्य सँग सम्बन्धित रहेर बिभिन्न छलफल गर्ने गर्थे तर यो पटक नवोदित (स्थापित नभै सकेका) महिला कविहरुले आफ्ना रचनाहरु ठुल ठुला कविहरुको माझ बाचन गरेका थिए । महिला बिशेष भएता पनि शिर्षक आफु खुसी थियो कसैले माया प्रेमका बारेमा सुनाए त कसैले जीवनका भोगाइहरुकाबारेमा कसैले समसामयीक विषयमा त कसैले शिक्षाकाबारेमा ।
सधै झैं घडिको चक्रले तीन बजायो सम्पूर्ण स्रोताहरु जम्मा भइ सकेका थिए । संगिता पाण्डे दिदीद्वारा कार्यक्रम सुरु भएको संखघोस गर्नु भएको थाहा पाइ म पनि ढोकाबाट चियाउदै चियाउदै भित्र छिरेँ, त्यसबेला सबै जनाले आ आफ्ना परिचय दिइ रहेका थिए मैले पनि दिएँ । कविताको चाङ् थुप्रै भएतापनि सुनाउने कवयित्रीहरु भने सिमीत उपस्थित भएका रहेछन। परिचयको क्रम सकिए पश्चात कार्यक्रम संचालन गरिरहनु भएको दिदी संगीताले चौतारीको नित्यकर्म पुरा गर्नु भो । म आनन्दै कुनामा बसेर अन्य कुरा सुनी रहेकी थिए ।
सुर्य पनि सुरुमा पुर्बैबाट झुल्कन्छ भने झै आइतबारको कविताको सुरुवात पनि पुर्बेली कबयित्रीबाटै सुरु गर्नु पर्ने स्थिती आयो । अगाडीबाट नाम उच्चारण भै सके पस्चात पहिलो कबिता लिएर म नै त्यहा झुल्किन पर्ने भयो । गन्तव्य बिहिन यात्रा शिर्षकको कबिता लिइ अगाडी गए । सधै पछाडी बसेर सुन्ने बानी धेरै मानिसको अगाडी पुग्दा आफैलाइ असहज महसुस भयो । मेरो पालो हतार हतार कविता पढेर सकाइ दिए । पछि कमेन्ट पनि आयो जति कबिताको भाव बगेको छ त्यती बाचनमा बग्न सकिन रे ।
त्यस पछि साहित्यीक यात्रा चितवन तिर पुग्यो तर कवयित्री नारायणी देवकोटा उपस्थीत नभएको कारण कार्यक्रम संचालिकाले नै बाचन गर्नु भयो ।
चितवनबाट यो यात्रा काठमाण्डौं तर्फ आइ पुग्यो । कबिताको रचनाकार सृजना सुब्बाको अनुपस्थितीका कारण कैलाश दिदीले कबिता बाचन गरिदिन परेको थियो । बाग्मतिबाट सुरु भएको काठमाण्डौंको साहित्यीक यात्रामा अनिता दुलाल, कमला शर्मा देखी बालाजुकी रेनुका श्रेष्ठको म हारेकी छु मा पुगेर टुङ्गीयो । यात्राको दौरानमा एकछिन बिसौनी लिर्यौ । यस बिचमा साहित्यकार पुस्कर लोहनि??? बाट कवयित्री नारायणी देवकोटाको कबिताको टिप्पणी श्रवण गर्यौ । फेरी कबितात्मक साहित्यीक यात्रा नेपालकै सुन्दर नगरी पोखरा तर्फ लाग्यो आइमाइ शिर्षकको कबिताको पनि लेखक उपस्थीत नभएका कारण अरुले नै बाचन गर्नु परेको थियो । यात्राले कोल्टेफेर्दै जादा बा लाइ चिट्ठी शीर्षकमा कबिता लिएर आन्वीका गिरी आइपुगीन् ।

त्यस पछि यात्रा पश्चिमी पहाड रुकुम तिर लाग्यो । रुकुमकी स्मिता मगरको मैले नचाहेको शुभचिन्तक शिर्षकको कबिता पश्चात यात्रा भेडेटारको घुम्तिहरुमा लुकामारी खेल्दै तमोर र अरुण नदीमा डुवुल्की मार्दै पुन पुर्वको पहाडी तर रमणिय स्थल भोजपुर सम्म पुग्यो । जिवनको वास्तविक भोगाइ डेरा खोज्दा शिर्षकको कबिता लिएर पुन एक पटक कवयित्री कैलाश दिदी उदाउनु भयो । अन्तमा कथाकार संगिता पाण्डे दिदीले पनि एउटा रमाइलो कबिता सुनाएर नवप्रतिभाको कबिता बाचनको बिट मार्दै स्थापित कबिहरुलाइ पालो दिनु भयो । तीन जना स्थापित उपस्थित कवयित्रीहरुको कविता सुनेर आइतबारे साहित्यीक कार्यक्रमको बिसर्जन भयो ।

यसरी माहोल पनि कबितामय भएको र मलाइ भने ब्लग पनि अपडेट गर्ने मौका नमिलेकोले फेरि ब्लगमा पनि एउटा सन्देशमुलक कबिता छोड्न मन लाग्यो ।

ब्यर्थै शिशिरको तुषारोलाई अगाल्न नखोज
बसन्तको बहार चुमेर रहनेले
ब्यर्थै काँडा सरीको फुललाई नै नरोज
बगैचाको माली भै फुलको स्याहार गर्नेले

ब्यर्थै पहाडको पखेरुमा जिउन नखोज
तराईका समथर मैदानमा हुर्कीनेले
ब्यर्थै औसीको रातलाइ अगाल्न नखोज
सधै सधै चाँदनी रातमा जिवन जिउनेले

ब्यर्थै अरुको दुखमा सामेल हुन नखोज
सधै आफ्नो खुसीयालीमा रमाउनेले
ब्यर्थैको संघर्षमा होमीन नखोज
सरल शैलीमा जिवन जिउन चाहनेले

मलाइ थाहा छ यहा कविता लेखाइका नियमहरु पुगेका छैनन् तर पनि यहा कैलाश दिदीको भाषामा टासो छोड्न मन लागेर मात्रै हो सबैलाइ ह्याप्पी ब्लगीङ ।

Wednesday, March 11, 2009

होली पर्व एक संस्कृति र यस सँग बढ्‍दै गरेको विकृती तथा बिसंगती




हिन्दु धर्म ग्रन्थ अनुसार राक्षसी होलिका भष्म भएर सत्यको जित भएको सम्झनामा मनाइदै आएको पर्व फागुपूर्णीमा(होली) को आज भोली रुप फेरीदै गएको छ । नेपाली समाजमा आधुनिकताको नाममा विभिन्न नेपाली चाड पर्व सँगै विकृति र बिसंगतिको चुनौती पनि मौलाउदै गएको छ । नेपालका सहरी क्षेत्र विशेष गरि काठमाण्डौं त्यस्तो थलो हो जहा होलीको असली अर्थलाइ सामाजिक विसंगति तफ धकेली रहेको छ । देशको राजधानी काठमाण्डौं, होली आउनु एक हप्ता पन्ध्र्र दिन अगाडी देखि नै सडक यात्रु महिलाहरुले फोहर पानीका लोला झेल्नु पर्छ । सम्पूर्ण क्षेत्रमा पितृसत्तात्मक विभेदको झल्का होलीमा सम्म देख्न सकिन्छ । देशभर फागुपूर्णीमाको एक दिन मात्र होली मनाइन्छ भने काठमाण्डौंमा होलीको एक हप्ता अगाडी देखि पुरुष युवाहरुलाइ मात्र होली लाग्ने गर्दछ, त्यो पनि महिलाहरुलाइ फोहोर पानीको लोला हान्ने । सभ्य सहरको नामले कहलिएको काठमाण्डौंको गल्ली र सडक त भए भए अझ त्यस भित्रको शैक्षिक क्षेत्र (विद्यालय,क्याम्पस तथा विश्वविद्यालय) मा पनि असभ्य ब्यक्तीका हातबाट फोहर पानीले भरिएका बेलुन तथा प्लास्टिक्सका झोलाको मार सहनु पर्छ महिलाहरुले ।
सम्पुर्ण नेपालीहरु बिच सद्‍भाव, खुसियाली र मानवीय प्रेम बाड्‍न विभिन्न प्रकारका रंग र अबिरको प्रयोग गर्दै मनाइने परम्परागत पर्व फागुपूर्णीमा आज तिनै समाजका आधा हिस्सा ओगटेर रहेका महिलाहरुको लागि अभिषाप बन्न पुगेको छ । होली आउनु एक महिना अघि देखि प्राय: प्रत्येक दिन गल्ली, चौक तथा खुल्ला सडक जहाँ पनि लोलाको निसानामा महिलाहरु नै परिन्छन्‍ । त्यसबाट उत्पन्न मानसिक तनाव र शारिरीक पीडाको सामना गर्नु कुनै एक व्यक्ति विशेषको नभै घरबाट बाहिर निस्कने कामकाजी, विद्यार्थी लगाएतका सम्पूर्ण नेपाली महिलाको बाध्यता हो । हुनत प्रत्येक वर्ष होली पर्व हर्सोल्लासका साथ मनाइएका समाचार र फोटो प्रत्येक नेपाली टेलीभिजन तथा रेडियोले प्रसारण गर्छन भने प्रत्येक दैनिकी र साप्ताहिक समाचार पत्रहरुले पनि महत्वका साथ छाप्ने गर्दछन्‍ । साथै होली अगावै सडक बटुवा तथा अपरिचित जो सुकैलार्इ पनि लोला हानि रहेको दृष्यहरु देखाइन्छन्‍, साथीभार्इ तथा छरछिमेकमा त्यसको चर्चा निकै चल्ने पनि गर्दछ तर यो एक परम्परागत रुपले मान्दै आएको संस्कृतिको रुप दिनानु दिन विकृति तिर वढि रहदा कसैको पनि त्यता तिर ध्यान गएको पाइन्दैन । पत्रपत्रिका तथा साथीभार्इ बिच चर्चा जति चले तापनि सकारात्मक परिवर्तन भने खासै पाइन्दैन ।
गत वर्षको एक प्रसंग: होली आउनु ३, ४दिन बाँकी थियो । हाम्रो स्नातकोत्तर दोश्रो वर्षको अन्तिम परिक्षा चलि रहेको थियो । परिक्षा केन्द्र सरस्वति क्याम्पस भएको हुनाले म लगाएत ५, ६जना केटीसाथीहरु र २, ३जना केटा साथीहरु अमृत साइन्स(अस्कल) क्याम्पसको बाटो हिड्‍दै जादै थियौ । अस्कलको अगाडी पुग्दा बाटोमा ओहोर दोहोर गर्ने पैदल यात्री महिला (युवती)हरु डराइ डराइ दौडिरहेका थिए । पुल वारीपारी र माथी सवै तिर फिल्म सुटिङमा झै रमिता हेर्नेको घुइचो थियो । जव हामी त्यहा पुग्यौ कानमा आवाज ठोक्कियो "ओइ छिटो गर अर्का हुल केटिहरु टन्न आउदैछन् यसो आवाजलाइ के नियालेको थिए फोहर पानीका लोलाहरु हामी केटीहरुमा बारुदका गोली झै विपरित दिशाका युवाहरुबाट वर्षा हुन थाल्यो, सँगैका केटासाथीहरु हेर्‍या हेर्‍यै भए । एकछिन प्रतिकार गर्न खोज्यौ तर समय अभावका कारण आफै ति गन्धे पानीले लिथ्रुक्क भिजेको लुगा लिइ बाटो लाग्नुको विकल्प केही थिएन किनकी ती समाजका युवाका नाममा कंलकीत ब्वासाहरु सँग तर्क गरेर समय वर्वाद गर्नु भनेको गधालाइ कथा सुनाउनु सरह थियो । पछि हेरेको ति तलमाथि वर पर जति पनि ब्वाँसाहरु थिए तिनीहरु सबैको हात भरि भरि उनीहरुको विचार जतिकै घिनलाग्दो फोहोर पानीको लोलाहरु रहेछन्। सहरका अधिकांश शैक्षिक संस्था होलीको बेला बन्द हुन्छन तर त्यस्ता बन्दले उद्दण्ड स्वभावका नेपाली मुर्ख युवाहरुलाइ खासै केही असर पर्दैन ।
यस वर्ष पनि आज भन्दा ३, ४ दिन अगाडी नै म विहान दश बजे तिर आफ्नो काममा हतार हतार निस्कदै थिँए । होलीको बारेमा मनमा कुनै संका सम्म थिएन । एउटा प्राथमिक स्कूलको वरिपरि साना साना भार्इहरु खेली रहेका थिए, एक्कासी पिछाडी ढाँडमा ढ्‍याम्म गह्रौ चिजले लाग्यो । एकछिन अररीए पानीले सबै जीउ भिजेर पानी चुहिन थाल्यो यताउती हेरे कस्ले हो कस्ले ठम्याउनै गाह्रो भयो । आफुलाइ समयमा काममा पुग्नु पर्ने एक बाध्यता पनि साथमा छदै थियो । समय अभावका कारण पनि र ती अवोध वालकका अन्धानुकरणलाइ केही गर्न सकिएन । त्यसै दिन बेलुकी विहानको लोलाको पीरले झन साँझमा साथी र म फकर्दै थियौं । बागमति पुलको आडमा केही युवाहरु उभिएर गफ रहेका थिए । हामी आफ्नै सुरमा हिडि रहेथ्यौ जव हामी उनीहरु क्रस गरेर ३० मिटर जति पर पुगेका थियौं पिछाडी ढाडमा ढ्‍याम्म आवाज सहित ठ्‍वास्स गन्हाउने चिसो पानीको लोला बज्रियो । कसले हो भन्ने ठम्याउनै सकिएन प्रतिकार गर्न खोज्यौं तर ति समाजका कलंकित भुस्याहाहरु त झन गलललल हास्न थाले । सडक वरिपरि हिडि रहेकाहरु पनि एक आपसमा संवाद गर्न थाले "होली लागेछ है, अव दुइ चार दिन हिड्‍नै गाह्रो हुने भो ।" मैले सुने अनुसार महिलाहरुको पहिरणमा जिस्कार्इ भर पर्छ रे तर त्यसो नभै कुबूद्धि भएका समाजका भुस्याहा युवाहरुलार्इ महिला अझ अलि कलिलो उमेरका केटि मात्र भए पुग्ने रहेछ । हुनत सचेत र वुद्धि विवेक भएका युवाहरुले त त्यसो गर्दै गर्दैनन नी ।
हाम्रो समाजमा पुराना संस्कार संस्कृतिलाइ निरन्तरता दिने नाममा नेपाली ठिटाहरुले परिमार्जित र परिवर्तित बनाउदै लगेको छ जुन कुनै पनि कोणबाट सहि होइन । यस्ता युवाहरुले ल्याएको विकृतिको सिको गर्न खप्पिस छन साना बालबालिका पनि, यसमा ती बालबालीकाको केही दोष छैन, वालबालिकालार्इ सम्झाउनुको सट्टा झन उत्साहित बनाएर ठुलाहरुले नै यस्तो बिकृतिलार्इ वढावा दिइ रहेका पाइन्छन्‍ । यी विसंगति र विकृतिलाइ झाँगिन जान अन्जानमा महिलाहरु नै पनि मदत गरिरहेका छन्‍ । सडकमा आफुलाइ लोला लाग्दा रिसाउदै कराउने महिला दिदी बहिनी पनि घरमा छोराछोरीको चाहाना अनुरुप होलीमा मनोरञ्जनका समान जुटाइ दिन्छन जुन सहि होइन । त्यो होली खेल्नका लागि आवश्यक सामग्री जुटाइ दिनुको साटो राम्रो सँग सम्झाइ होलीको बारेमा बुझाएर होलीको एक दिन आफै पनि बच्चाहरु सँग रंगहरुको खेलमा सरिक भइ दिए के विग्रन्छ होला र? चिन्तन गर्न जरुरी छ ।
होली पर्व आफैमा नराम्रो होइन तर समाजमा रहेका पशुबूद्धि भएका युवाहरुले पर्वका नाममा दुरुपयोग गरि रहेका छन्। आफु आफु सद्‍भाव कायम गर्ने उद्देश्यले होलीकै दिन रंग र अविरको होली खेले त भै हाल्ने हो । तर अझै पनि चित्त नवुझेको पक्ष, यो समाजले किन संस्कृतिका नाममा पनि निर्दोष महिलालाइ नै प्रयोग गर्छन्? होलीको दिन साथी सँग मिलेर खेलेको बाहेक प्राय जसो पुरुषहरुको शरिरमा लोला त के होलीको रंग पनि पर्दैन । भने किन यी फोहर पानीका लोलाहरु महिला माथि मात्र खनिन्छन? होलीमा मात्र नभै समाजका हरेक क्षेत्रमा महिलाहरु अपमानित हुनु पर्छ । के नेपाली समाजका महिलाहरु जिस्काइनकै लागि बनेको हो त? गम्भिर भएर सोच्नै पर्ने हुन्छ ।
महिलाहरुले यस्तो समस्या कहिले सम्म भोगी रहने? यस्तो बिकृति रोक्न समाजका सचेत पुरुषले सोच्ने की नसोच्ने ? के एउटी महिला समाजको मानविय प्राणी होइन र? यो समाजले किन हरेक तह र तप्कामा महिलालार्इ नै आतंकित बनाइ रहेको हुन्छ ? किन नेपाली महिलाहरुले आफ्नै समाजका पुरुषहरुबाट स्वतन्त्रता र सुरक्षाको महसुस गर्न पाउदैनन? यी निर्दोष महिलाहरु आफ्नै समाज र आफ्नै दाजुभाइ सँग कति दिन सम्म त्रसित रहनु पर्ने? कतिन्जेल सम्म लोलाको निसाना बनेर हिडिरहनु पर्ने? उनीहरुले जति सजिलै जिस्काउछन उतीकै सजिलै हरेक जिस्काइको शारिरीक तथा भौतीक दण्ड दिन पाउने की नपाउने? यसरी लोलाहान्ने र लोला हान्न हौसला दिने जो कोहिलाइ हामीले फर्केर गइ गालामा चड्‍कन लाउन पाउने की नपाउने? जवाफको खाचो छ ।
यसबारे सम्पूर्ण समाजका सचेत बुद्धिजिवीहरुले गहिरिएर सोच्नै पर्छ । यस्तो विकृति र विसंगतिको संस्कारमा समाज रुपान्तरण जरुरी छ । हरेक समस्याको रोकथामको खोजी हुनु हो भने समाधान असम्भव केही छैन तर पनि यस्ता विकृति र विसंगति प्रति नेपाली समाज किन जहिले मौन रहन्छ ? यहा बुझाइको आवश्यकता छ ।
शुभ होली ।।।