Wednesday, December 24, 2008

भोटेकोशी तिर बरालिदा





























नेपाल एउटा सुन्दर प्रकृतिले दिएको उपहार हो भनेर भनिरहनु आवस्यक छैन तर यहा का सबै सुन्दर ठाउमा पुग्ने घुम्ने मौका भने मिलेको छैन त्यस्मा पनि तातोपानी तिरको यात्रामा धुलिखेल कटेर जाने मौका मिलेको थिएन तर गत सुक्रबार युबा अभियानले पुरा गरि दिएको छ।
बिहानै कहिलै उठ्न नसक्ने भएता पनि कहिले काहि हिड्न भने पछि निन्द्राले पनि समय मै छोड्दो रहेछ । करिव २ महिना जति भएको थियो होला बिहान ८ बजे मात्र उठ्ने गर्थे तर गत Dec 19 (4 सुक्रबार) भोटेकोशीको लागी ६ बजे सबै जना शान्तीनगरमा भेटिनु पर्ने भएकोले म पनि ५ बजे नै उठेर आफ्नो झोला बोकी हिडने तरखर मा थिए जाडोयामको समय ५ बजे पनि राती झै अध्यारो नै भएकोले दाइले शान्तीनगर अफिस सम्म ड्रप गरी दिनु भयो । म कस्तो खालको तालिम गर्न हिडेको हो भन्ने कुरा म आफैलाई पनि थाहा थिएन मलाई यति मात्र थाहा थियो म Civic Leadership School (CLS) मा जादै थिए । तर त्यहा हामीलाई के के सिकाउछ र को को मेरो साथीहरु हुन्छन भन्ने केही थाहा थिएन जव हाम्रो बसले गन्तब्यको लागी प्रस्थान गर्न लाग्यो तब थाहा पाए म मात्र हैन हामी जम्मा २४ जनामा लगभग १९ जना जती म जस्तै रहेछन् मेरो मतलव मै जस्तो अन्योलमा रहेछन् ।

गन्तब्य स्थान भोटेकोशीको किनारमा रहेको The Last Resort मा पुग्दा सम्ममा केही साथी भै सकेका थिए त केही बाकी त्यो पनि एकैछिनमा समाप्त भयो। परिचयको सुरुवात भुवनदाई ले यति प्रभावकारी तरीकाले गराउनु भयो की त्यस पछि एकअर्काको नाम हत्तपत्त बिर्सिएनौ । हामी सहभागी २४ जना २४ वटै अलग अलग क्षेत्रबाट उपस्थित थियौ तापनि ५ दिनको सगै बसाइले यति नजिकको सम्वन्ध स्थापित गरायो जुन हाम्रो बर्सौ देखिको मित्रतामा छ । तालीम त तालीम साच्चै प्रभावकारी छन् ति दिनहरुमा सिकाईएका कुराहरु मानौ मलाई त कुनै समयमा लागी रहेको थियो म कुनै Resort मा आएर होईन कि म कुनै आर्मी तथा पुलिसको तालीममा सामेल छु । त्यहा खानपिन लगाएत सबै कुरा यति समयमा गर्नु पर्ने थियो कि के भन्ने र....................

तर जती सुकै कडा नियम भएतापनि भुवनदाई लगाएत द लास्ट रिसोर्ट टिमका सम्पूर्णदाइहरुको त्यो सहयोग बिर्सीनसक्नु छ । हामीलाई सबै कुरा पुर्वजानकारी बिना गरीने हुनाले कहा कतिखेर के गर्न जानु पर्ने भन्ने थाहा नभएको कारण फोटोहरु खिच्न त्यति पाइएन त्यसमा अलि दुख लागेको छ तर हुन त हामी घुम्न गएको नभइ एउटा कोर्स पुरा गर्न गएकोले चित्त बुझाएकी छु । The Last Resort ले दिएको Surprise treat असाध्यै रमाइलो थियो जसमा विश्वदाई र सुनील जी को साहसीक performance देखेर म त साच्चै मोहीत भएकी थिए। त्यो बेला मलाइ लाग्यो म लाइभ आफ्नै आँखा अगाडी हेरेको नभै कुनै टेलीभिजन च्यानल मार्फत सर्कस हेरी रहेकी छु । अझ सुनील जी को त्यो सुरीलो आवाज अनि फुर्तीलो नाँचको त फ्यान नै भएकी छु र उहाको त्यो सुरलो आवाज सुन्न उहा सँग फेरी अर्को चोटी बन्जी जम्पमा भेट्ने बाचा पनि गरेकी छु किन भने यस पटकको ट्रिपमा बन्जि जम्प गर्न पाएनौ मेरो एउटा रहर बन्जी जम्प पनि हो त्यसैले आशा छ कुनै दिन पुरा गर्ने छु ।

Hiking तथा Rock climbing गर्ने केही महिना अगाडी देखिको मेरो सपना थियो त्यो Last Resort मा गएर पुरा गर्न पाए तर मैले जिवनमा कहिले Rafting र abseiling गर्छु होला भनेर कल्पना पनि गरेकी थिइन त्यो पनि सजिलै पुरा गरे हुनत साथीहरुको हौसला र Organizer को उत्प्रेरणा बिना कुनै पनि कुरा सम्भव थिएन । Rock climbing र Rafting को बेला साथीहरु लगाएत भुवनदाईको उत्प्रेरणाले यति भुमिका खेलेको छ की म यहा वर्णन गर्न सक्दिन । जीवनमा पौडी नखेलेको मान्छे म भोटेकोशीका ती नागबेली परेको कुनाकानी साथै आकाश भन्दा निलो पानीको माझमा पौडनलाई त्यति सजिलै आँट गर्न सकिन तर भुवनदाईको म माथीको बिश्वासले म आफैमा confident बढेर आयो। अन्ततया मैले पौडी मात्र नभइ TITINIC Film मा झै नाउको छेउमा उभिएर करिव १० मिनेट जति लामो जलयात्रा पार गर्न सफल भए । त्यो बेलाको स्वर्निम आनन्द त कहिलै पनि प्राप्त गरेकी थिईन तरपनि राजु दाई, प्रतीक जी, भुवनदाई, बिकाश, लक्ष्मण जी र उमेश जी को त्यो बेलाको सहयोग र आत्मीयपन जीवनभर भुल्ने छैन ।
मलाई यस अघि लाग्थ्यो की म मा यी सबै गुणले भरी पुर्ण छु । मैले सानै उमेरमा धेरै कुरा सिकेको छु र गर्न सक्छु तर जब मैले CLS पुरा गरे बल्ल थाहा पाए की मैले कति गलत सोचाई राखेकी रहेछु, म कमजोर र स्वार्थी रहेछु साथै घमन्डी पनि । यस सीकाइबाट मैले मेरो रिसर्चको बेलामा टिम वर्क होस वा जुन सुकै अवस्थामा साथी भाई सँगको सहकार्यलाई धेरै नै सहयोग मिल्ने ठानेकी छु। साथीहरु बिचमा गर्नु पर्ने विश्वास, साथीहरु सँग हुदा निभाउनु पर्ने कर्तब्य तथा हामी मानीसले समाजीक एकताको लागी गर्नु पर्ने बिविधकुराहरु त्यस मध्य अरुको कुरा सुन्ने बानीको बिकासबारेमा पहिला भन्दा धेरै सजक हुन पाए त्यसको लागी युवा अभियान(YI) परिवार धन्यवादको पात्र त छदैछ साथमा भुपेन्द्र पुलामी दाइ पनि धन्यवादको पात्रबाट मुक्तहुनुहुन्न जसले मलाई त्यहा सम्म पुर्याउनु भयो । म सँग रहेका यी नै केही फोटोहरु भोटेकोशीको सम्झना स्वरुप राखेकी छु ।

Monday, December 15, 2008

केही दिनको गन्थन मन्थन

आज अन्तरािषटय पर्वतिय चलचित्र महोत्सव KIMFF तथा गैरनाफामुखि प्रकाशनहरुको पुस्तक प्रर्दशनीको पाचौ दिन भनौ न आज देखी समाप्त हुदैछ । आज सम्ममा करीव ६६ वटा नेपाली तथा अन्य भाषा भाषीका चलचित्रहरु प्रदर्षण गरिएको छ । जम्मा ३५० भन्दा बढि चलचित्रहरुबाट ६६ वटा लामा तथा छोटा चलचित्रहरु प्रदर्षण गरियो । ति मध्य सम्पुर्ण चलचित्र हेर्ने मौका त पाइएन र पनि धेरथोर चलचित्रहरु हेरियो। डकुमेन्ट्री तेस्तै नै हो कति जानकारी मुलक थिए त कति पिडा दायिक सन्देश बोकेका । कति प्रष्ट बुझिने त कुनै कति पनि नबुझिने ।
मैले हेरेका मध्य चौकैठ ‌‌‌‌ छोटो तर मिठो लाग्यो शहरीया र मधेशी मुलको २ महिलाहरुको कथावस्तुलाई यति मिठो गरी ३१ मिनेटमै देखाउन सफल छ त्यो त कैलाशदिदीले बेलीबिस्तार लगाई सक्नु भएको छ उहाको ब्लगमा । अनि सन्जोग लाफा मगर दाईले बनाउनु भएको जीवसीम पनि जे होस मन छुने नै थियो जुन एक बयोबृद्ध मगरबुवा आफ्ना जिवनका ४० बर्ष कहा भुमिगत बिताउनु भयो उहाले समाज सुधारका लागी कहा कहा के के काम गर्नु भयो र कसरी भुमीगत जीवनबाट फर्केर फेरी आफ्नो घर फर्कनु भो भन्नेबारेमा जानकारी समेट्न सफल छ तर के कारणले भुमिगत रहनु भयो भन्नेबारे अझै पनि खुल्न नसकेको कारण आशा गर्न सक्छौ जिवसीम भाग २ पनि निकट भबिश्यमा बन्न सक्छ ।

अर्को मन छुने चलचित्र थियो कठपुतली अहो जीवनमा अभी सर संग पहिलो पटक चलचित्र हेर्न बसेकी थिए म त्यस दिन ।चलचित्र जापानीज मानीसले बनाएता पनि नेपाल र नेपाली कै सन्दर्भमा नेपाली नै कलाकारहरुले अभिनय गरेको थियो संवाद तथा अभिनयमा निखारता भने कलाकारहरुमा कमै देखिएता पनि दृष्यहरु साच्चै राम्रा थिए । नेपालको पर्यटन क्षेत्र घोषित धम्पुसको लहलहाउदा तोरीबारीको दृष्यले साच्चै मन छोएको थियो । अनि जापानको पहाडी क्षेत्रमा चलाइने गोरुगाडा र बच्चाहरुकोलागी खेलौना फिरफिरे असाध्य मन परेको थियो । ए अनी आइ बिकेम पनि छोटो तर गहकीलो सन्देश बोकेको चलचित्र हो भन्न मैले रुचाए। वास्तवमा हाम्रो समाजमा ब्याप्त घटनालाई सजिलै उतारेका छन् ले । आफ्नो भोक र प्यासको लागी आफुलाई जतिसुकै मन परेको चिज पनि बेच्न बाध्य हुन्छन मानीसहरु । अब मन नपरेको त नभनौ नबुझिएको मध्य एक खोडा जस्ले ६ मीनटमा के के केके सबै चिज समेटेको छ। त्यस्तो एनिमेसनको कुरा मेरो यो सानो दिमागले केही पनि घुसाउन सकेन । यहाहरु मध्य कसैले बुझ्नु भएको भए कृपया अलिकति भए पनि बुझ्न चाहन्छु ।
अब अरु
अरु जे सुकै जस्तो सुकै भए पनि यी यतिका दिनको फिल्म फेस्टिभलले एउटा भावना भने मेरो मनमा जन्माइ दियो जस्लाइ यहाहरु माझ पनि सेयर गर्न चाहे।

ति बुढो काठमाण्डौ स्वार्थी र सोसकहरुको काखमा ङिच्च दात देखाएर हासेको छ
जिर्ण र असक्त घरहरु लिएर थरथर गोडा कपाउदै बसेको छ
पशुपतिनाथ पनि घात प्रतिघातको भिडमा न्याय र अन्याय छुट्टाउन नसकी अलमल्लमा परेको छ स्वयंभु डाडैमा दुईवटा ठुलाठुला आँखाहरु बालेर
देशको बिध्वंसात्मक र बिनासकारी घटना टुलुटुलु हेर्न बाध्य छन्
मानीसहरु पापी र दुष्ट नै भए पनि सुन्दर र हराभरा प्रकृतीले कम्तिमा मन थाम्न सघाएको छ
कलकल बग्ने ति निर्मल नदि नाला अनि पाहुना आगमनको आसमा
काख फैलाएर बसेका ताल तलैयाले सितलता प्रदान गर्न सघाएकै छन्

तर मेरो मनको एउटा कुनाले काठमाण्डौको अर्कै रुपको कल्पना रचेको छ
बल्खु कालीमाटी कोटेश्वर र कलंकीमा जाम नहोस्
चक्का जाम तोड फोड र धुवा धुलो रहित स्वच्छ काठमाण्डौ होस्
जब बागमतीको पानी स्वच्छ र निर्मल भै कलकल बगोस्
नदी किनारमा यु एन पार्क हरीयाली भै छाओस्
बागमती र बिष्णुमती नदी भरि बोटिङमा जलयात्राको सयर गर्न पाइयोस्
साथै नदी वारीपारी बिभिन्न आराम गर्ने तथा भोजन गर्ने स्थलहरु बनोस्
त्यो बेला पर्यटकहरुको घुइचोले काठमाण्डौ र ललितपुर खचाखच होस्
आहा
नेपाल साच्चै त्यो बेला स्वर्ग संग तुलनात्मक हिसावले दाज्न सकिने थियो तर मेरो मनको लड्डु एउटा चलचित्रको पर्दामा देखिने काल्पनिक चित्रै त हुन् जुन कल्पनागरेर बनाइएका चित्र झै


















Wednesday, December 10, 2008

जीन्दगी

साचि भन्नु पर्दा यसलाई यहा कबिता भन्न मिल्छ या मिल्दैन त्यो पनि थाहा छैन है । तर मेरो सोझो हिसाबले चै कबिता नै लेखेको हो । यहा महान कबिहरुको माझमा खोइ के खोइ के भनेजस्तो हुने होकि? यसो अल्छि लागेको बेला ब्लगमा हाल्ने चिज बिज केही नभेटको सुरमा एउटा भवना कोरी हेरे,लौजा कल्पना नै सहि यस्तो पनि त हुदो हो कतिलाइ ? मौका यही हो,ठेलि दिय मैले पनि।



यो जीन्दगी त के हो र जसो तसो दिनहरु काटेकै छु
जीवन साथी तिमीलाई नै बनाउछु भनि आटेकी छु
तिम्रै एक धर्को सिन्दुरको आशमा बाचेकी छु
मन भरि तिता मिठा सपनाहरुलाई साचेकी छु

मलाई छोडी अन्यत्र नै जाऊ तिमी तर
यो मन मन्दिरमा तिमीलाई नै सजाई राखेकी छु
पुनर्मीलनको लागी देवी देउराली भाकेकी छु
जन्मौ जन्मान्तर तिमी मेरै हौ भनी मागेकी छु

मानीस नै हुँ जीवनमा गल्ती कुनै दिन गरे हुँला
त्यसको लागी पटक पटक तिमी सँग माफी मागेकी छु
यो मनमा माफी गर्छौ भन्ने विश्वास राखेकी छु
यो जीन्दगी घरीघरी तिम्रै नाममा बाचेकी छु
तिम्रै एक धर्को सिन्दुरको आशमा दिनहरु काटेकी छु

Friday, November 28, 2008

श्रद्बान्जली का दुइ शब्द

गुमसुम छ संसार
हजार हेर्ने आखाहरु
बिचित्रका द‌ृष्य सहित
हृदय बिदारक छन् भाकाहरु
फैलिदैछन् रोगब्याधि
बिस्तारीत हुदैछन डाँकहरु
अशान्ती दुर्ब्याबहार र अपराधले
रित्तिदैछन् सयौ काखहरु
हेर्न बाध्य छु आफ्नै अनन्य मित्रका
छुटिदै गरेका साथहरु

यति बेला मेरा थरथर कापेका हृदय बाट बस्
टक्राइ रहेछु मृतक सबैलाइ हार्दीक श्रद्बान्जली

वास्तवमै यति बेला बिभिन्न किसिमका अपहरण पश्चात हत्या र समाजमा घटीरहेका बिबिध अपराधीक घटनाहरुले कैयौ काखहरु रित्तिदैछन् । हत्या पनी एक एक मात्र हैन एकै पटक २ २ जना । पहिला २ जना खेलाडीको र पछि निर्दोस बिद्यार्थीहरु । घरमा रहेका आमा बुवाहरुले घुम्न निस्केका र आफुले बेचेको मोवाइलको पैसा उठाउन गएका छोराहरु आउने आशमा बिच्छाएका आँखाहरु एकै चोटी जंगलमा सास बेगरको लास मात्र भेटाए पछि छोराहरु नआउने पू्र्ण बिश्वासका साथ लोलाएकै भए पनि उठाउन बाध्य छन् । राजधानीका बिभिन्न चोक चोकमा लगातार २ दिन सम्म टाएरहरु जलेर सेलाउनै नपाएका धुवा पूनः २ दिन पश्चात उहि कारणले सडकहरु बलेर आकाशका मडारिन बाध्य छन् । निर्दोश ति बबुराहरुको के गल्ती भन्ने सम्म कसैलाइ थाहा छैन । अब गल्तीनै केही नगरे पनि कहाँ नेर पुग्दा के हुनेहो कहाँ नेर आफ्नो कालले पनि आफैलाइ पनि पर्खीरहेको छ भन्ने त्रास मनमा उब्जिन थालेको छ । राजधानी जस्तो सुबिधा सम्पन्न शहरमै त यस्ता घटना दिन दहाडै घटीरहेका छन् भने राजधानी बाट पर के अबस्था होला सोच्नै पर्ने बेला भएको छ । राज्य यो अवस्थामा पनि टुल‍टुलु हेर्न बाहेक केहि गर्न सकि रहेका छैनन् गृहमन्त्री ज्यू कता हराउनु भयो केहि थाहा छैन प‍‌धान मन्त्री ज्यू शोक सन्तप्त परिवारमा हार्दीक समबेदना र घटना गराउने अपराधी पती घोर भर्तसना ब्यक्त गर्दामै ब्यस्त देखिनु भयो ।यो त भयो हाम्रो देशको घिनलाग्दो राजनीतिको तितो असर। यसका अलावा बिबिध बुदे समझदारी फेरी पनि कार्यान्वयन हुन नसक्दाका कारणहरुले सडक कति दिन अबरुद्द हुने हो कति दिन फेरी जल्नु पर्ने हो कसैले अडकलवाजी सम्म गर्न नसक्ने अबस्था छ । कति दिन सम्म देशका अब्यवस्थीत र घिनलाग्दो राजनीतिको शिकार हामी सोझा सीधा नागरीक बन्नु पर्ने हो? कस‍ैलाइ थाहा छैन ।अब जे नहुनु पर्ने हो हाम्रो देशमा त्यही नै भै रहेको छ ।यो अबस्थामा शोक सन्तप्त परिवार पति म पनि हार्दिक समबेदना तथा श्रदान्जली अर्पण गर्न चाहान्छु । हिजो बेलुकी लगभग न बजे तिर दमकमा बस दुर्घटनामा परि मेरा अनन्य मित्र सुदेशको अल्पायु मै दिवङ्गत भएको छ । दिवङ्गत आत्माको चिर शान्तिको कामना पनि यसै मार्फत ब्यक्त गर्न चाहन्छु ।
आखिरी हामी साथीहरुले श्रद्बान्जलीका दुइ शब्द बाहेक के नै पो दिन सकिदो रहेछ र

Wednesday, November 19, 2008

नेपाली शिक्षा निती र केहि तिता वास्तविकता

होस्टेल बसाइ सकिएको त निकै दिन भै सकेको रहेछ आज अचानक एक जना दिदीले झ्याउ शब्द निकाल्नु भयो र होस्टेलका ति दिनहरुको ताजा स्मरण हुन पुगे लौजा मलाइ पनि यहि बिषयमा केहि गन्थन मन्थन ब्लगमा ठेलि दिन मन लाग्यो।
शनिबार थियो क्यारे बिहानको लगभग आठ बज्न लागेको थियो ।सानी ओच्छ्‍यान भरी किताब फिजाएर बसी रहेकी थिइन्। उसको परिक्षा नजिकिइ रहेको थियो। सृजना ढोकाबाट साम्साम सुम्सुम छाम्दै भित्र छिरीन् कस्तो झ्याउ लाग्दो दिन, ओइ यहाँ को छ? किन दिदि सानीले जवाफ दिइन, ए मलाइ एकछिन तिम्रो किताब देउ न तिमी नपढेको बेला पढ्‍नु पर्‍यो कोर्सको किताब हेर्दा हेर्दा कस्तो झ्याउ लाग्यो । सानी र सृजना दुवै जना विद्यालय निरिक्षकको तयारी गर्दै थिए । परिक्षा नजिकिएकोले दुबैलाइ एउटै बुक पढ्‍नु थियो । सृजना आफै देख्न नसक्ने र पढ्‍न नसक्ने, हुनाले पुस्तक किनेकी थिइनन् तर सानीको पुस्तक नै मागेर अरुलाइ पढ्‍न लगाइ सुन्थिन। सानीको आफ्नो कलेजको पनि परिक्षा नजिकिएकोले गर्दा खाली समयमा सृजनालाइ किताब दिइ सहयोग गर्थिन।
ए केटी हो, खाना पकाइ सक्यौ की हल्ला मात्र गर्दैछौ? बीना पनि छिरिन् सानीको कोठामा । छैन । अरु उत्तर दिइ बस्ने फुर्सद सानीमा थिएन । अनि के के पुस्तक समाइ बसेकी नी सृजनाले चाही? बीनाले सृजना तिर प्रश्न तेर्साइन । ए यो ‌‌ वि.नि.को हउ छोटो उत्तर दिइन सृजनाले । उफ् खोइ सक्नु चै छैन के को बि.नि.को परिक्षा दिनु पर्‍यो नि तिमीलाइ? बीनाले अलि खसालेर बोलिन् हुन त उनको स्वभाबै त्यस्तै हो र पनि सृजनालाइ चित्त बुझेनछ क्यारे प्रश्नको हत्तपत्त उत्तर फर्काइ हालिन् तिमी नदिने मान्छेलाइ के को खस्‍खसनी ? सकुँ या नसकुँ यो मेरो बस्‍को कुरो हो नी । सृजना यो पटक रिसैले कड्‍किइन । होइन तिमी दशठाउ छाम्दै हिड्‍नु पर्छ त्यस्तो मान्छे कति दौडनु पर्छ वि.नि.मा अनि त्यो सक्दै नसक्ने काममा किन भनेको पो त सृजना रिसाएको भान पाएर थमथमाउनलाइ आतुर थिइन् बीना, म त एसो २,४ हजारको सजिलो काम पाएमा जान्थे पो । जागिरमा आफु एक्लो ज्यान त पालिइ हालिन्थ्यो नी , तर के गर्नु आफ्नो त कर्मै हारेको जहाँ गए नी दया गर्ने को छ र यहाँ ? एसो चिनेको कोही छ भने भनी देउ है नानी हो साह्रै भो एम. ए पढेर नी के गर्नु? जागीर नै पाउन गाह्रो म त वाक्क भै सके जीन्दगी देखि । केहि गर्ने जोश जागर पनि मरी सके ।
ति तिनै जनाको चालामाला मात्र हेरेर अवाक थिए म कुनामा । बीनाको यो वाक्यशंले सृजनालाइ फेरी पोलेछ क्यारे ह्या...........तिमी पनि जाबो २, ४ हजारले के नै आउछ र यो समयमा ? हेर नमरी बाचे एक न एक दिन आउला नी त हाम्रो नी पालो । अब त झन नया समाबेशी सरकार बन्दैछ । यस पालिको सभासदमा हाम्रा नी मान्छे जालान, संविधानमा हाम्रो हक अधिकारका बारेमा नी केही उल्लेख गर्लान्। किन तिमी यसरी हतास भएकी? म संसार नदेख्ने मान्छेमा त केही गर्ने आट छ, तिमीले त देख्या छौ नी बीना सम्पुर्ण कुरा । गर्न नसक्नु अलग कुरा होला तर यसरी तिमी हतास भएको देखेर चाहि झ्याउ लाग्यो मलाइ । कथाका दुबै पात्र शारिरीक रुपले अशक्त छन् जस मध्य एक आँखा देख्न सक्दिनन् भने एक स्पष्ट बाेल्न र साह् चिज निल्न सक्दिनन् तर दुबै जना त्रि बि बि मा सिङ्गल मात्र नभै डबल डिग्री गर्दैछन् । सृजना आँखा नदेख्ने नै भए पनि साहसिली छिन् केहि गरौ भन्ने भावना उनमा जिवित छ उनैको यो झ्याउ भन्ने शब्द भने थेगो नै छ ।
कुनामा बसि रहेको म नबोलु भनेको पनि सृजनाको साहस देखेर केहि बोलु बोलु लागेको थियो, उनको उत्साहमा खै किन हो केही कुरा थपुँ थपुँ लागेको थियो। तर दुबै जनाको गफ सुनेर एक मन भने त्यसै भारी भै रहेको थियो ।
आफ्नै आखाले टुलु टुलु ती २ साथीहरुका अवस्था नीयाल्न बाहेक केही गर्न सक्ने अवस्था छैन । म सँग रहेका यी त २ जना तर यस्ता सयौ अशक्तहरु यसरी नै संर्घष गर्दै गर्दै त्रि बि. बि. परिसरमा हल्ली रहेका छन् । यहा सम्म यतिका मेहनत, संर्घष र कष्ट गरेर आइ पुगेका उनीहरुको उच्च शिक्षाको कुनै कदर छैन । न त उनिहरुलाइ कुनै पकारको स्वरोजगार छ नत उनिहरु अन्य हामी सवलङ्गहरु झै दौड धुप गर्न नै सक्छन् । अझ कुनै ठाउमा जागीर खुल्यो भने उनीहरुले पनि हामी सवलङ्गहरु सगँ बराबरीमा प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता छ । धन्य त्रि बि. बि. एउटा निशुल्क शिक्षा चाहि दिएको छ । तर सयौ सृजनाहरुले गरेका आशा कहिले पूरा होला? नेताहरु आफै कुर्सीका लागी लडि राखेका छन् यो देशमा संविधान कहिले लेखिने होला र ति संविधानमा अपाङ्ग र अशक्षमहरुका लागी अधिकार सुनिश्चित गर्ने होला? बल्ल बल्ल समाबेशी सरकार त बन्यो तर खै त नेपालमा रहेका सयौ सृजना र बीनाहरुको लागी अधिकार?
जस्तो सुकै परिस्थिती आए पनि Always be Positive and Always think Positive रे अब भोलीबादले गाँजेको यो नेपाली समाजमा फेरी पनि सबैकुरा भोली हुने गतिलो आशाका साथ भन्न मन लाग्यो

जय भोली।।

Friday, November 14, 2008

मगर मारुनि नाच

यो दृष्य एउटा मगर समाजको रमाइलो नाँचको हो। जसमा पूरुषहरु नै महिलाको भेष धारण गरेर नृत्य गर्ने गर्दछन् । आउनुस् यसै बिषयमा अलिकती जानकारी बाड्न मन लाग्याे।

मानव सभ्यताको विकास जंगली युगबाट भएको हो भन्ने कुरा त हामीले विभिन्न एतिहासिक लेख रचनामा पाउन सक्छौं । त्यस युगका मानिसहरु भोजनका लागि बनजंगलमा पाइने फलफुल, कन्दमुल तथा जंगली जीबजन्तु हरुको शिकार गर्दथे रे । ति खाने कुरा अथवा शिकारलाइ भेला गरेर आगो बाली शिकारीहरु वरिपरि नाच्दै घुम्दै रमाउने खाने पिउने गर्दथे रे गीत, संगीतसँग मगर समाजको अत्यन्त गहिरो सम्बन्ध छ भन्ने कुरा पनि सुन्नमा पाइन्छ । मगरहरु गाएर, नाचेर कहिल्यै नथाक्ने र दर्शकहरु हेरेर कहिल्यै न अघाउने हुन्छन रे । मानिसले अनेकौ घटना, आस्था, विश्वासलाइ जोडेर परापुर्व काल देखि नै आफनो कला संस्कृतिलाई जीवन्तता प्रदान गरेको पाइन्छ।

Friday, November 7, 2008

आफ्नै दुइ पल

दिन आफनै रफ्तारमा दौडिएछ । रात सुलुलु चिप्लिएछ म भने भुसुक्कै निदाएको खरायो झैँ पल्टि रहेछु । तन्द्राबाट ब्युझिएर यसो हेर्दा आफु एक्लै रन्थनिएर ढल्कि रहेकी रहेछु । वास्तवमा सबैको त होइन मलाई लाग्छ संसारका केहि व्यक्तिहरुको दिनाचर्या पनि यसरी नै चिप्लिएको होला । आज व्लग Update नगरेको पनि करिव करिव २ महिना हुन लागेछ यतिका दिन वितेको पत्तै पाइन, साच्चै म निकै हराएछु । आफै लाई खोजीमारे, आफैले नभेट्‍ने ठाउमा लुकी बसेकी रहेछु । ताजा कुरा नै गर्नु पर्दा भुपेन दाइ इण्डिया फनफनि घुमेर फर्कि सक्नु भएछ, मेरै सोल्टिनी दशै तिहार मानेर कति जील्ला चहारेर फर्कि सक्नु भएछ । देशमा गृह मन्त्रिज्यू ले नाइट रेष्टुरेन्ट क्यासिनो मात्र नभै फुटपाथका पसल हटाइ सकेछन्‍ । हुँदा हुँदा अमेरीकामा बाराकले राष्ट्रपतिय चुनाब जिती नयाँ इतिहास रचि सकेछन्‍ म भने जहिको तहि थलिएछु ।
साथीहरुको ब्लग हेरी हेरे प्रगतीका शिखर चुम्न दौडिएर निकै नै अघि पुगी सक्नु भएछ, म भने जहिको तहि मात्र हैन १० कदम धकेलिएर निकै पछि परेछ र पनि ममा कुनै नयाँ जोश जाँगर र उमंगले जन्म लिनै सकेन, खैर केही छैन जीन्दगी हो चलुन्जेल चल्न दिनु पर्छ चल्न छाडे पछि जबर्जस्ति नै सहि चलाउनु पर्छ र चलाउँदै आएकी पनि छु। कुनै ठुलो बज्रपात पछि अतल्लिएको, अर्धमृत मानिस जस्तो । हुनत वास्तवमै मनमा आघात पुगे पछि चाहेको कुरा नपुगे पछि भनौ न पूर्ण हुन लागेको कुरा पूर्ण नभै दिए पछि निकै निराशाले मन छाउदो रहेछ साथै मनका जोश जाँगर मरेर आउदो रहेछ । रफ्तारमा हिडी रहेको बेला अचानक Track change भए पछि पुन Track मा आउन निकै कठिन पर्दो रहेछ । म पनि यहि Track मा आउने कोशिस मै निकै दिन विताइ दिए ।
वास्तवमै सपना देख्नु आफैमा नरामो कुरो त पक्कै पनि होइन तर देखिएका सपना अनि रचिएका कल्पना साकार नभए पछि मानीस एक पकार भित्र भित्र टुट्दो रहेछ । यसरी टुटिँदा डोरी र मेटासीटको साहारा लिइ आफैलाई समाप्त पार्दा रहेनछन् । म पनि यस २ महिनाको दौरानमा एउटा ठुलो सपना देखेर दौडी रहेँ कुनै दिन उफ्रिरहेँ कसैले सपना देखाइ दिदैमा म लाटी पनि हो न हो देखिइ रहे तर अचानक त्यो सपना विपना भइ चकनाचुर भइ टुटी दियो त्यहि देखि म पनि केही मात्रामा टुटिन पुगे आफैलाई धिक्कारी रहे । तर फेरी आफै न्यायधिश वनि आफैलाई कसुरदार ठहर्याइ अदालतको कठघरामा उभ्याइ दिए । यसरी उराठ जीन्दगी लिइ हरीयाली वसन्तको खोजीमा पंख फुकाइ फेरी अगाडी आइरहेकी छु ।

मानीसको जीन्दगी न हो कुनै दिन निकै ठुलो सपना देखिदो रहेछ । जुन जीन्दगीका गोरेटोहरुमा भेटीदा रहेछन्‍ । साथ साथै चाडै नै मेटिदो पनि रहेछ । मेरो पनि यहि मात्रामा केहि विर्सन नसकिने गरी घटनाहरु घटे धेरै साथीहरुले Blog update नगरेकोमा गुनासो पोखाउनु भयो । आफै नै सजिव न निर्जीव भै रहेको अवस्थामा मैलै Blog update गरि निर्जिव तुल्याउनै सकिन । यस्तै क्रममा हामो कैलाश दिदीको कुरोले भने निकै घत पारेर छाड्‍यो मनमा । उहाँ पनि कुनै समयमा blog बन्द गरी अरुको Blog मा लेख्ने सोच बनाउन भा थियो रे, जडित जीले उहाँलाई जिवित पार्ने खालको केहि शब्दहरु उपहार दिनु भयो रे फलस्वरुप दिदीको Blog आज हाम्रो साम' विविध ख'राकका साथ अगाडी छ । जडित जीकै शब्दहरु सापटी लीएर मलाइ उक्साउनु भयो साच्चै चित्त वुझ्यो । उहाले भन्नु भएको बेला त खासै केही भएन तर जब घर फर्किएर आए त्यहि कुराहरु मनमा खेल्न थाल्यो। मध्यरातमा काम गरी रहेको वेला पनि बारम्वार दिमागमा आउन थाल्यो साँच्चै अरुको घरमा गएर बेस्सरी रोएर के पाइन्छ र ? लौ जा यसै बाहानामा तब थाले मनका भावना कपिमा पोखाउन, जति बेला रात निकै छिप्पिइ सकेको थियो, बाहीर कार्तिके चिसोले सम्पूर्ण संसार कठांग्री रहेको थियो, यहि चिसोलाई भगाउन बुनी रहेको मखलरको धागो र काटालाई फाली मेरा हातले कलम समाउन पुग्यो अनि कोरीन थाले यसरी यिनै मनका बहहरुः

कुनै दिन बायोडाटा बनाउदैमा त कुनै दिन University को Form भर्दैमा विताइ दिए
कुनै दिन पासपोर्टको लाइनमा त कुनै दिन सभासद ज्युसँग भेट गर्दैमा विताइ दिए
कुनै दिन डा....संगको भेटमा त कुनै दिन Internet धाउनैमा विताइ दिए
कुनै दिन कसैको शुभकामना त कुनै दिन कसैको बधाइ लिदैमा विताइ दिए
कुनै दिन घरमा दशै त कुनै दिन काठमाडौमा तिहार मनाउदैमा विताइ दिए

जीन्दगीको रफ्तारलाई यसै गरी विताइ दिए

कुनै दिन ठुला वडा भनाउदाको फोन पतिक्षा गर्दैमा विताइ दिए
कुनै दिन फोन त कुनै दिन सबैलाई मेल गर्दैमा विताइ दिए
कुनै दिन बा, आमा संग त कुनै दिन साथी संगै विताइ दिए
कुनै दिन बाहिर पढन जादैछु भनि Interview दिदैमा विताइ दिए
कुनै दिन आफ्नै सपना टुटेको खवर संकलन गर्दैमा विताइ दिए
कुनै दिन आफ्नै भाग्य र कर्मलाई दोष दिदैमा विताइ दिए
यसै गरि जीन्दगीका चारपल मात्र हैन मेरा २ महिना नै विताइ दिए