दिनानु दिनको महंगी र अशान्तिको माझमा बाच्ने क्रममा झेलिएका आफ्ना कटुभावनालाई समेटी दिगो शान्तिको आसमा एक शब्द खर्चेको छु ।
काठमाडौंको भिडभाड सडकमा
मेरो यात्रालाइ निरन्तरता दिइ रहेछु
सुकुम्वासी झुप्रो त कहिले महलमा
बिस्तारै बिस्तारै पाइला बढाइ रहेछु
चक्का जाम र सडक आन्दोलनको चहल पहलमा
आफुलाइ सुरक्षित राख्ने ठाउ खोजी रहेछु
थाहा छैन यो गन्तव्य बिहिन यात्राको समाप्ति संगै
म आफु कसरी र कहा पुगी रहेकी छु
वरिपरि अशान्ति हिंसा छरिएको बेला
सिहंदरबारको टालिएको कानको अपरेशन गर्दैछु
अन्धकार र सुनसान कहाली लाग्दो सडकमा
अभावको जीवन संगै उन्माद हाँसोको फोहरा फुटाइ रहेछु
नारी अस्मीता र पहिचानको खोजीमा
आफै संग हजारौ अनुत्तरित प्रश्न संगालि रहेछु
अधिकार प्राप्ति र स्वतन्त्रताको आशामा
बिच गल्लीमा कुहिरोको काग झै रुमल्ली रहेछु
चर्को मंहगी र अभावको मारले रुग्न शरीर लिएर
आफ्नै जीवन जुवाको कौडीमा बाजी थापिरहेछु
कालोबादलको काखमा मडारिदै बस्तुहरुमा
रुपान्तरित हुदै बागमतिमा फोहोरको थुप्रो सँग
मिसिएर धमिलो वर्षे झरिको भेल बाढि संगै बगि रहेछु
मनमा भने काठमाडौ लगाएत नेपालभुमी भरि चाडै दिगो शान्ति
आउने झिनो आसको त्यान्द्रोलाई काख च्यापी नै रहेको छु ।