Thursday, December 15, 2011

फेसबुकमा मेरो दुई घण्टा

सँसार बिचित्रको छ, अझ यहाका मानिसहरु त झनै अचम्मै बिचित्रका । यहा कोहि पढ्छन, कोही लेख्छन , कोही गाउछन्, नाच्छन्, कोही काम गर्छन त कोही केही गर्दैनन । पढ्नेहरु पनि कोही आफ्ना लागि पढ्छन, कोही अरुकै लागि पढिदिन्छन, कोही केही सिक्न पड्छन, कोही समय बिताउनलाई पढि टोपल्छन् । लेख्नेहरु पनि कोही रहर पुरा गर्न लेख्छन, कोही बाध्यताले लेख्छन, कोही बाच्नका लागी लेख्छन् त कोही मै जस्तो रमाइलो गर्नको लागि । जे होस मानिसको स्वभावको बिविधता हेर्न सामाजिक सञ्जालमा पनि रमाइलो हुदो रहेछ। आजको बिज्ञान र प्रबिधिले जेलिएको कारण सँसारलाई हेर्न अझ सजिलो बनाएको छ । समय आफ्नै रफ्तारमा चलिरहेको छ । हामी मानबजातिहरु त्यहि समयको पछि पछि सकि नसकि दौडि रहेका हुन्छौ त्यही चल्ने क्रममा पनि कोही के गरेर कोही के गरेर म भने एक छिन सामाजिक सञ्जाल अनुहार पुस्तिका (फेसबुक) तर्फ छिर्छु ।

प्रबिधिमा मानिसको आविस्कार यो सामाजिक सञ्जाल प्राय धेरै जसो मानिसले प्रयोग गर्दा हुन् जो जस् सँग पहुँच पुगेको छ । तर पहुँच पुगेरै पनि प्रयोग नगर्नेहरुको सँख्या पनि अनगिन्ति नै छन् । त्यसमा कोही प्रयोग गर्न नजानेर त कोही जानेरै पनि समय नभ्याएर, कोही वास्ता नभएर अथवा यसलाइ यसो भनौ मन नपरेर खैर....... फरक ब्यक्ति फरक बिचार अनि फरक बिशेषता । सञ्जालबाट कसैले भरपुर मनोरञ्जन गरेका छ्न्, कसैले सके सम्म सदुपयोग गरेका छन्, कसैले यसलाइ भरपुर दुरुपयोग गरेका छन् । कसैले के रहेछ भनि चलाइ हेर्दैछन, कसैले यसलाइ सृजना बाड्ने थलो बनाएका छन्, कसैले आफ्ना बारेमा प्रचार गर्ने ठाउ बनाएका छन्, कसैले च्याट गरि नया नया साथी बनाउने ठाउ बनाएका छन त कसैले बिज्ञान र प्रबृधिको परिक्षण गर्ने ठाउ पनि बनाएका छन् । बिबिध थरिका मानिस मध्य म पनि एक हुँ म भने प्राय मेरा पुराना साथीहरुको खोजिमा छु ।

Sunday, December 4, 2011

धनकुटाकी चमक युवा साहित्यकार झमक


हिजो विश्व अपाङ्ग दिवस । विश्वभरि रहेका अपाङ्गहरुलाइ सम्बोधन गर्दै विभिन्न ठाउमा बिभिन्न कार्यक्रमहरु सम्पन्न गरे । हिजो धनकुटा नगरि मँसिरको जाडोमा पनि बेहुली सिगाँरीए झै चिटिक्कै परेर सजिएको थियो किन यति चिरिच्याट्ट सिगाँरियो त? भनेर भन्दा हाम्री झमक दिदी जन्मेको यो सुन्दर नगरी त्यसमा पनि झमकलाइ नागरिक अभिनन्दन गरिने दिन यति हुदा पनि झमक मात्र बेहुली सिगाँरीए झै सिगाँरिएर नहुने रहेछ त्यसैले धनकुटेलीहरुले नगरलाइ पनि चिरिच्याट्ट पारिएको थियो । यसै अवसरमा धनकुटाबासी नागरीकहरुले पनि धनकुटाको कचिडेमा जन्मि हुर्केकि युवा साहित्यकार झमक कुमारी घिमिरेलाई नागरिक अभिनन्दन गरेका छन् ।


अगाडी अगाडी शैनिक टुकडीको मँगल धुन साथै लावा लस्करका साथ आएका सैनीक, सशस्त्र तथा नेपाल प्रहरीका बर्दी टोली पछाडी पछाडी सेतो टाटा गाडीको पछाडी सोफामा मुसुक्क मुस्कानको चमक दिदै बसेकी थिइन झमक। यता नेवा पुच खल तथा अन्य विभिन्न जातिय सँस्थाले आ आफ्नै जातिय पहिरनमा निकालिएको झाँकी, घर घरको ढोका ढोकामा राखीएको जोडी घडाले धनकुटाको रौनक नै छुट्टै बनाएको थियो ।

Wednesday, November 9, 2011

धनकुटाको सेरोफेरो र स्वास्थ्य चर्चा


यिनि हुन मोरङ कि ८ बर्षिया बिनिता दनुवार जो हाल सम्म बोल्न सकेकि थिइनन् धनकुटामा भै रहेको निशुल्क स्वास्थ्य शिविरमा शल्यक्रिया पश्चात बोल्न सुरु गरेकी छन् ।



Saturday, October 1, 2011

दशै, दशा र हामी

सहर सुनसान हुदै छ अब दशै लागेछ क्यारे फेसबुकका भिताहरु हेर्दा पनि त्यस्तै भान भइ रहेको छ। खासमा यो दशै के हो र कसको हो मलाई पनि त्यति थाहा छैन । भन्छन् यो हिन्दुहरुको महान चाड, उसो भए अहिन्दुहरु यसमा रमाउनु किन? हुन त गणतान्त्रिक नेपालमा यो यस्को र त्यसको किन गर्ने सौहार्द्र रुपले सबैले सबैको चाड मिलेर मनाए के नै बिग्रने हो र? फेरी फेसबुक वालमा हेर्छु सबै सबैले शुभकामना आदान प्रदान गर्छन आफुलाइ दिइ सके पछि शुभकामनै साट्न त के नै फरक पर्ला र? लौ जा मैले पनि सबैलाई शुभकामना टक्राए तर केही साथीले गाली गरे शुभकामनाको लागि धन्यबाद तर यो त हिन्दुहरुको दशै हो यसमा तँ किन धेरै उछिल्लिएको ? म सँग यसको ठ्याक्कै जवाफ त छैन र मलाइ खास दशै पनि लागेको छैन तर जे होस मेरो पाच बर्षको भाइ र ८ बर्षकी बहिनीको एक हप्ता देखी नै खुसीले सिमानाघेको छ । सधै होमवर्क गर्न निकै कसरत गराउनु पर्ने यो पटक परिक्षा सकिने बितिकै देखी भ्याकेशन होमवर्कमा जुटेका छन् दुवै जना ।

दशैको बिदामा मामला जान पाइने र नया लुगा लाउन पाइने उमँग त छदैछ टिका थापेर पैसा जम्मा गर्ने लालच पनि उतिकै बढेको छ दुवैलाई। भन्छन यो पालाको दशैको टिका लाएर म झोला किन्छु अनि खै के के जाति खान्छु । तर तिनलाई यति धेरै उमँग ल्याउने दशै के हो थाहा छैन न त तिनलाई अहिले नै त्यो बुझ्नुको टाउको दुखाइ नै । अर्की बहिनी जो काठमाण्डौ बस्छिन तिनलाइ पनि उतिकै दशैको रन्कोले छोएको छ । बाबा ममि सँग दशै बिदामा घरजानलाइ एक महिना अगाडि देखी नै सहकार्य र सहमति जुटाउनमा ब्यस्त छिन । उनिहरुको स्कुल थोरै समयको लागि मात्र छुट्टि हुने हुनाले बाबा आमाको चाहाना छोरी यो पटक गाउ नजाउन तर कहा मान्छन र अचेलका भुराहरु ? हुन त खास गरि चाडबाड अझ यो दशै लाग्ने भनेको नै यिनै बालापन मै त हो नि । अलि बुझ्ने भए पश्चात अथवा अलि ब्यवहार टार्नु पर्ने उमेर आए पछि त यो दशैले उति धेरै उमँग नल्याउला भन्ने मेरो अडकल । किन कि मैले पनि त्यहि उमेर पार गर्दै आएकि हुँ । आठ दश बर्ष पछाडीका ति दशैलाई फर्केर हेर्दा सम्झनाका परेलीहरु ताजै हुन्छन । दशै ताका दाइ र दिदीहरुले ल्याइदिनु भएको त्यो फुलबुट्टे जामा नयाँ नयाँ लोभलाग्दा चप्पलका जोडिहरु लाएर कहिले साथीहरुलाइ देखाउ हुन्थ्यो मलाइ पनि। म आफु चिटिक्क नपरेकै भए पनि चिटिक्क परेका ति नयाँ बिदेशी लुगा चप्पलमा सजिएर मामला जानुको मज्जा नै अर्कै थियो । बल्ल एक वर्षमा एक पटक लाग्ने फुलपाती मेला हेर्न जानलाइ आमा सँग एक हप्ता अगाडी देखीको चिप्लो घस्नु पर्थ्यो । त्यो बेला ५ रुपैयाको रातो रिबन र ५ रुपैयाको चुरा पनि मेरा लागी असिम हर्ष ल्याउने चिज हुन्थे त्यसतै हुदो हो मेरा नानीहरुलाइ पनि आज। हिजो देखी नै मेरा नानीहरु टुडीखेल जाने आमाले ३० रुपैया पर्ने चिम्टि किन्नी दिन्छु भनेको भरमा खुसि कहा साटु कोस्लाइ सुनाम भएको छ । जे होस दशै भनेकै बालापनको लागि हो। जो जिबनमा एकपटक सबैले ब्यतित गरेका हुन्छन र फेरी पछि चाहेर पनि कसैले प्राप्त गर्न सक्दैनन् त्यो बालापन है अरु होइन ।

दशै दशै भन्छन् यो दशै हो या दशा ? भन्न त नहुने हो तर जब दशै आउछ तव दुर्घटना तथा घरमा दुख बिमारले च्याप्दै जान्छ ता पनि अबोध बालापनमा त्यसको के असर? जसले जे भोग्नु छ त्यो त सबै घरका ठुलाबडा नै त हुन नी । मेरो एकजना आफन्त जसलाइ म धेरै आदर गर्छु यति की मेरो आमा पछिको सम्मान पाउने उहा नै हुनुहुन्छ । उहा दश दिन देखी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर रोग सित लडाइ लडि रहनु भएको छ । तर उहाको पिडाले उहाको नाता नातिनिलाइ खासै छुन सकेको छैन । किन भने तिनीहरुलाई दशै लागेको छ बिधालयले दशै छुट्टि दिएको छ । तिनलाई नया लुगा किन्नु छ जुत्ता र अन्य आवश्यक पर्ने चिजबिज पनि । वरिपरिका यि र यस्तै परिदृष्य हेरेर मनमा प्रश्न उठ्छ साच्चै यो दशैले उमँग ल्याउछ कि टेन्सन?

शान्ता भन्दै थिइन "दशै आयो दशै आयो भन्छन आएको त केही देख्या होइन ब्यारे जुन पसलमा गए पनि भिड जे किन्न पनि लाइन त्यहि हो कि क्याहो दशै ?" साच्चै दशैले पसलेहरुलाइ भ्याइ नभ्याइ पारेको छ अनि किन्ने ग्राहकहरुलाइ सास्ती । हाम्रा सहकर्मीहरुको पनि पसल छ । तिनलाइ पनि दशैमासमा मौका छोप्न अति हतार पर्छ । कहिले पाच बज्छ र अफिसबाट हतार हतार गरेर पसल जानु हुन्छ । भन्छन म बसेको बेला एकै छिनमा चार पाच हजारको बिक्रि हुन्छ अरुले त्यति पारा ल्याउदैनन् दिनभरको आम्दानी त्यही दुइतिन हजार हुदो हो त्यसैले पनि म चाडै पुग्नु पर्छ। हुन पनि हो यसो दुइचार पैसाकै लागी त दुख गर्छन नी मानिसहरु त्यहि पनि बर्ष दिनमा एक पटक दशै तिहारको बेलाँ मात्र अलि चल्दो हो नत्र सुख्खाराम ।
बिशेष गरि दशैताका हर चिज आवश्यक पर्छ । दैनिक खाध् उपभोग्य होस वा अन्य लत्ताकपडा चाडबाड आयो कि चटारो । बेच्ने किन्ने सबैको लागि एकखालको उमँग र समस्या दुवै एकै चोटि लिएर आउछन् यो चाडबाडले । बेच्ने ब्यापारीहरुको जहान परिवार थोरै छ र पसल ठुलो छ भने नाफा नकमिएला भन्ने पिर तर त्यो भन्दा पनि समाजका गरिव बर्गहरुको लागी अझ ठुलो पिर । खास गरि यो दशै आए पछि विचारा गरिबहरुलाइ सास्ति । नमनाउ भने सबैले मान्छन मनै त हो आफु एक्लै नमनाइ कसरि बस्ने ? मनाउ त के ले पुराउने ? महँगि आकाशिएको छ दिनानु दिन सगरमाथा उक्लेको यात्री झै उकालो उकालो तर आयश्रोतलाई देश सरकार र सँबिधानले असर पुराएकै छ । छोरा छोरीको डिमान्ड बढेर छोइ सक्नु छैन नराम्रो र नमिठो हात नलाउ भन्छन, मिठो मसिनोको लागी गोजि पनि बाक्लै हुनु पर्यो । त्यसैले त यहि दशैताका हरेक आपराधिक घटना घट्छन् जस्तै लुटपाट चोरी डकैति सबै । गत हप्तामात्र खोकु तिरका दुइ दिदी बहिनी धरान दिदीको घर हिडेका रे साथमा पच्चिस हजार रुपैया बोकेका रहेछन् अज्ञात ब्यक्तिहरुले बाटैमा झ्वाम पैसा त लग्यो लग्यो उल्टो गालामा चड्कन पनि खाएछन् दिदी बहिनीले । जे होस यो दशैले निम्त्याएको एउटा दशा नै हो ति दिदी बहिनीलाई।

दशै चर्चा धर्म र अर्थ हरेक कुरा सँग जोडिएर आएको छ । अझ दशै आए पछि हजारौ पशु पक्षीको दशा स्वत आउछन् । धार्मिक साँस्कृतिक नाममा बलि चढाएर ति अबोध पशु पँक्षीहरुले अकाल ज्यान गुमाउनु पर्छ । धेरै जस्तोले यो हिन्दुहरुको मात्र महान चाड भनेर भनि रहदा पनि तिनले पनि पशुपक्षिबध गरेर दशै मनाइ रहेकै हुन्छन् जस्तै कि हामी त दशै मान्दैनौ भन्छन तर घरमा अन्यबेला भन्दा भिन्न तरिकाले मासु ल्याएर भेटघाट रमाइलो गरि खान्छन् । कसैले हामी त रातो टिका लाउदैनौ भन्छन तै पनि सेतै भए पनि टिका त लाएकै हुन्छन तर मैले नबुझेको कुरा टिका लाउनु मात्र दशै मान्नु हो र? अझै पनि कन्फ्युजमै छु। जे होस घरमा भएको नभएको पशुपँक्षि बध गरेर खादा ति अबोध पशुपँक्षिलाइ दशैले निम्ताएको दशा हो । अनि टिका जमारा सँग आशिर्बाद मात्र नभै भए नभइ पैसा प्रदान गर्नु पर्दा दिनेहरुको लागि जोहो गर्नु पर्ने अर्थको झन्जट दशैले निम्त्याएको दशा नै हो भन्न मन लाग्छ मलाई त ।
लौ हिन्दुहरु मात्रको दशै भए पनि हामी सबै नेपालीको भए पनि छुट्टि त पाएकै छौ सबैले त्यसैले शुभ रहोस सबैको दशै ।

Wednesday, September 28, 2011

स्वर्गको अनुभुति दिलाउने त्यो ठाउ मनाङ



जिबनका उकाली ओरालीहरुमा आरोह अवरोह पार गर्दै घुम्ने क्रममा एक स्वर्ग झै लाग्ने ठाउ मनाङमा पुगे जहा नेपाली भएर जन्मि सके पछि हरेक नेपालीले एक पटक पुग्नै पर्छ र प्रकृतिलाइ नियाल्नु पर्छ भन्ने मेरो मान्यता गत असार देखि बनेको छ । मनाङ यात्रा मेरो जिवनको एतिहासीक र साहसिक यात्रा मध्येको एक हो । मेरो ब्यक्तिगत भ्रमण नभै पशुपतिको यात्रा सिद्राको पनि ब्यापार भने झै तरिकाले उक्त स्थान पुगे पनि अब आउने दिनमा फेरी पनि त्यस ठाउमा ब्यक्तिगत भ्रमण बनाएर जाने सोच बढेको छ । हुनत पर्यटकिय क्षेत्र भएर पनि हुन सक्छ अत्यन्तै सहयोगि र मिलनसार मिजासका मानिसहरु मनाङमा बस्छन् । बिषेश गरि काठमाण्डौ तथा त्यस्तै सहरी क्षेत्रमा मानवत्वको भावना भुलेर ब्यवहार गर्ने ठाउमा बसि वाक्क भएको भए यो ठाउमा जानु राम्रो हुनेछ । मनाङेहरुको पाहुना प्रतिको सत्कार र आफ्नोपन अरुठाउ मैले पाएको छैन त्यसैले पनि एक पटक त्यो ठाउ जानु पर्छ। अझ प्राकृतिक सुन्दरताको हिसाबले भन्ने हो भने झनै जानु पर्छ ।



कुल क्षेत्रफलको २२४६ वर्ग कि मि ओगटेर गण्डकि अञ्चलमा मनमोहक दृष्यहरु अग्ला भिराला पहाड र उच्च हिमश्रृखलालाइ लिएर रहेको नेपालको दुर्गम जिल्लाहरु मध्यको एक हो मनाङ । बहुमुल्य जडिबुटि बनसम्पदा अपार जलश्रोतको धनि यस जिल्लाका अनेक अनौठो अनौठो बिषेशषताहरु छन् । जम्मा जस्तै १३ गाविसमा ११७ वडाहरु छन् र तर त्यहा एक घर परिवार पनि स्थायी व्राम्हण क्षेत्री पाइन्दैन । मर्स्याङदि दुधखोला नारखोला थोराङखोला सब्जेखोला माडा खोला डोना खोला आदी जस्ता ठुला ठुला खोलाहरु रहे पनि यी कुनै खोलामा पनि एउटै पनि माछा पाइन्न रहेछ । जिल्लाको कुल क्षेत्रफल २१९६२६ हे मा एकै गेडा पनि धान उत्पादन हुदैन । करिव ३ बर्ष अघि त झन कारागार भएको तर कैदि नभएको जिल्ला भनेर पनि चिनिने रहेछ तर नार घटनाले उक्त भनाइ हट्न पुगेछ ।



यहा पुग्नको लागि एक मात्र हवाइमार्ग काठमाण्डौ पोखरा पोखरा मनाङ हुम्दे रहेको छ । तर प्रतिकुल मौसमका कारण वर्षायाममा करिव ३ महिना उक्त मार्ग ठप्प हुने हुनाले त्यहा जानको लागि पैदल यात्रा मात्र बैकल्पिक मार्ग हो । लमजुङको बेशिसहर देखि चाम्चे सम्म गाडिको जोखिम यात्रा पश्चात सुरुहुन्छ गगनचुम्बि भिरहरुको यात्रा। एकान्त गोरेटो बाटो मर्स्याङदिको तिरै तिर करिब ३ दिनको कडा पैदल यात्रा पश्चात मात्र मनाङ बिमानस्थल पुग्न सकिन्छ तर यदि बिमानको यात्रा गर्ने हो भने सदरमुकाम चामे र त्यो वरि परि अझ लम्जुङको सुन्दर पहाडहरुलाइ चुम्नबाट बन्चित हुने छ ।

जति हिडे पनि एक पछि अर्को उस्तै उस्तै पहाड र बिकट बाटो खोलाको भिर भिर जादा आकाश साघुरो र अग्रेजी भी आकारको देख्न सकिन्छ पछाडि फर्केर हेर्दा सानो गल्छेडि भित्र मधुरो गाउ देख्न सकिन्छ । सदरमुकाम चामे देखी करिब ४ घण्टाको उकालो पश्चात ढिकुर पोखरीको प्रस्थानबाट भने आकाश फराकिलो हुदै जान्छ । हिडाइले लथ्रक्क गलेको शरिर पहाडी हुदै हिमाली मनोरम दृष्य साथै चिसो र शान्त हावाले एकखालको उमँग छाइरहन्छ । सुन्दर कलात्मक पहाड तथा हिमदृष्यहरुले शरिरका थकान मेट्दै जादा आनन्दको अनुभुति हुन्छ । जति जति माथी गयो उति उति मनमोहक दृष्यहरुले मन हरेर लैजादा आफ्ना पिर व्यथा भुलेर स्वर्गको अनुभुति दिलाउने त्यो क्षण कसैले पनि कहिले पनि भुल्ने छैनन् ।





आखा अगाडि नाकै ठोकिने हिमाली दृष्यहरुले प्रफुल्लित मन माथिल्लो मनाङमा पाइला टेकेपछि समथर फाटमा पुग्ने बितिकै सँसारकै साना गाइ लुलु पनि देख्न पाइन्छन् भने हिउद तिर चौरी गाइ तथा अन्य जँगलि जनावर पनि देख्न पाइन्छन । मसिना मसिना धुपि सल्लाका रुखहरु चौर भरि फैलिएका छन् । मुनि कलकल मर्स्याङ्दी नदि माथी अजँगको भिर स्वर्गद्वारीको मुनि रहेको त्यो बिशालकाय पत्रे चट्टान देउरालिबाट देखीने ति हिमदृष्य हुम्दे बिमानस्थल माथि पुगे पछिका अनेक आकृतिका माटोका पहाडहरु अँगालै हाल्न मिल्ने गरि देखिने ति अन्नपूर्ण हिमाल, पिसाङ, ङावल, घ्यारु , मनाङ टँकिमनाङ तथा भ्राका जस्ता माथिल्लो मनाङको भिताभरि टासिएका घरहरु वारपार भिताको पर्खाल झै देखिने सुन्दर बस्तिहरु जति बयान गरेर पनि नसकिने यस प्राकृतिक छटामा पाइला टेक्दा लाग्छ साच्चै स्वर्गको एक टुक्रा यस धरतिमा खसेको हो कि? हिमताल तथा सँसारकै उचाइमा रहेको तिलिचो ताललाइ स्पर्ष गर्न पाउनु तथा सँसारकै अग्लोपदयात्रा गरेर मनाङको थोरङ क्रस गरि मुस्ताङको मुक्तिनाथ तथा जोमसोम पुग्नु पाउनु एकबारको जुनीको अहोभाग्य मान्नु पर्दछ । वास्तवमै प्रकृति सँग लुकामारी खेल्ने नै हो र नजिकबाट नियाल्ने नै हो भने मनाङ तथा मुस्ताङको यात्रा गर्नु अत्यन्त आवश्यक छ ।



Saturday, September 24, 2011

‘सिक्लेसको ठिटो’



आफ्नै रफ्तारमा चलिरहेको समयको साथ लाग्दै कहिले दक्षिण त कहिले पश्चिम कहिले पुर्व त कहिले कता निरन्तर कहिले सार्थक त कहिले निर्थक यात्राको यात्री म ज्ञानगुणका लागि किताब नहेरेको पनि धेरै भएको रहेछ । बजारमा राम्रा राम्रा किताबहरु आएर पनि सकि सकेको हुदो रहेछ । म आफ्नै दुनियामा एउटा चार दिवारको बन्द बक्स भित्र नै सम्पुर्ण सँसार समेटी रमाउदी रहेछु । साथी भाइले फलानो किताबमा भनेको जस्तो फलानो लेख जस्तो भनेर सुनाउदा पो झसँग हुदी रहेछु । ए बा म पनि यहि दुनिया मै पो छु नी ।

हुन त कहिले समयले नै साथ नदिदो हो। कहिले अर्थले त कहिले थाहै नपाउदो हो । बल्ल तल्ल साथीभाइको सरसँगतबाट सुने पछि थाहा हुन्छन राम्रा पुस्तकहरुको नाम । यसरी नै सिक्लेसको ठिटोलाइ पनि नियाल्ने मौका प्रकाशन भएको झण्डै एक वर्ष हुनलाग्दा मात्र पाए त्यो पनि अरु नै मार्फत । किताब उपलब्ध गराइदिनु हुने मेरा मित्र गोबिन्द छन्त्याल यसको लागि धन्यबादका पात्र बनेका छन् । पुस्तक हात लाग्ने बितिकै सबै नियाल्न पाएको भए हुन सक्छ मैले यो मेरा भावना अगाडि नै लेख्ने थिए हुँला समय पनि कस्तो मैले पुस्तक हातपारेको भोलि पल्टै मेरी एक सहेलीकी भतिजीले एस एल सी पास गरिछन् हेटौडामा बनबिज्ञान अध्यनको लागी प्रयासरत छोरीलाइ कताबाट wwf को स्कलरसिप भर्ने भुत पनि सवार भइ सकेको रहेछ। खै कसले हो चन्द्र गुरुङको बारेमा लेखिएको ‘सिक्लेसको ठिटो’ भन्ने पुस्तक पढेमा केही ज्ञान पाइन्छ भन्देछन् । मेरा हातमा रहेको यो पुस्तक मैले नजर लाउनै नपाइ उनले उछिनी त गइन। म परे मनकी धनी लौ न त गरिखाउ भनेर पढ्न दिए तर फर्किनलाइ झण्डै एक महिना लाग्यो । उपलब्धि के त? भन्दा पढिस पढिनस नानी पढे मात्र । किन भने इन्ट्रान्स दिएर फर्केपछि बनबिज्ञानको मोह त्याग भएर स्थानिय स्कुलमै बिज्ञानमात्र पढ्ने भुत चढेछ र भर्ना भइछन् । जे होस ज्ञान बाड्नु नराम्रो होइन । ला.........................म त किताब भित्रका कुरा लेखुला भन्थे बहकिएर अन्तै कतै पुगेछु ।

२०६३ को घटस्थापनामा पूर्वी नेपालस्थित ताप्लेजुङ जिल्लाको घुन्सामा गाउँ नजिकैको एउटा पहाडमा ठोक्किएर हेलिकप्टर दुर्घटना हुँदा नेपाल र विश्वकै संरक्षण क्षेत्रका हस्तीहरुको निधन भएको थियो तिनै हस्ति मध्यका एक हस्ति हुन चन्द्र गुरुङ र उनैको जीवनकथा जीवनगाथाको सँगालो सिक्लेसको ठिटो । नेपालकै एक बरिष्ठ लेखक मञ्जुश्री थापाले अंग्रेजीमा लेखिएको पुस्तक ‘अ ब्वाय फ्रम सिक्लेस’ को दिपक अधिकारीले नेपालीमा अनुवाद गरेका हुन् ‘सिक्लेसको ठिटो’ लाइ ।

१८४ पृष्ठको मोटो पुस्तकमा विभिन्न १८ सन्दर्भहरु छन् । पुस्तकले घुन्सा दुर्घटनाका फ्ल्यास ब्याक देखी सुरु भएर उनको ब्यक्तिगत जीवन सम्मका धेरै कुराहरु बोकेकाछन् । पुस्तकले नेपालको वास्तविक प्राकृतिक अवस्थाको राम्रो चित्रण गरेको छ । पुस्तकले लेकमा बस्ने मगर÷गुरुङ समुदायको सामाजिक चेतना र बिकासक्रमलाई पनि रोचक रुपमा समेट्न भ्याएको छ । मुल पात्र चन्द्र एक त्यसका ज्वलन्त उदहारण हो । उनका सँगैका कतिपय सहपाठीहरु अहिले पनि त्यही गाउघरको चौघेरा नाघ्न सकेका छैनन तर चन्द्र छोटो समयमै एक विश्वव्यापी नागरिक बनिसकेका थिए ।

गाउको परिवेश आमा समुह गठन प्रकृया र त्यसले ल्याएको सकारात्मक प्रभाव कर्मचारी तन्त्र नाताबाद कृपाबाद तथा बिगतका दिनमा आरक्ष तथा निकुञ्जमा हुने गरेका सिकारको बारेमा पनि मनग्य थाहा पाइन्छ । अन्नपुर्ण सरक्षण क्षेत्र विस्तार देखि सरक्षणका हरेक क्रियाकलापमा सँलग्न रहेका चन्द्रको ब्यक्तिगत जिबन भने त्यति सफल भएको देखिन्न । हिड्दा बस्ता माया पिरती बसे पछि दुइ बिबाह गर्न पुगेका चन्द्रको दुवै सँग राम्रो घरजम हुन सक्दैन तर पनि देशको प्रकृती सँरक्षणको पाटोमा कति पनि प्रभाव पर्न दिएको छैन ।

नेपालको आदीवासी जनजाति मध्यको अन्नपुर्ण क्षेत्र भित्र सिक्लेसको गुरुङगाउमा जन्मेका चन्द्र अध्ययन तथा कामको सिलसिलामा युरोप अमेरिका सम्म पुगेर पनि घुमिफिरी रुम्जाटार भने झै आफ्नै देशमा फर्केर नेपाल र नेपालीका हितका निमित धेरै कुरा गरि नेपालकै एक कुना जहा हत्तपती मानिस पनि पुग्न नसक्ने ठाउमा पुगेर आफ्नो जिवनको इहलिला समाप्त गरेका छन् ।

पुस्तक एक जीवनी उपन्यास तथा निवन्ध सँग्रह जे भने नी हुन्छ किन भने यस पुस्तक आख्यान वा गैरआख्यान दुवै भिन्न भिन्न बिषय रुचाउने दुवैले रुचाउन सक्ने पुस्तक बनेको छ । यो एउटा सकारात्मक सोचको निम्ति प्रेरणाको श्रोत हो । देशको लागी वा आफ्नै लागि पनि केही गर्छु भन्ने भावना भएका ब्यक्तिहरुका लागी साच्चै एउटा राम्रो मार्ग दर्शन बन्ने छ ।

प्रेरणादायि पुस्तक लेखनमा लेखक मन्जुश्री थापाले २० वर्ष अघि देखीको आफ्नो मित्रताले भ्याए सम्म कुनै कुरा खोट नराखी सिक्लेसी ठिटो चन्द्र गुरुङको बारेमा हामी सामु बाड्ने हर प्रयत्न गरेको देखिन्छ । यो भन्दा अगाडी दिपक अधिकारीले अनुवाद गरेका पुस्तक नपढे पनि सिक्लेसको ठिटोलाइ भने पूर्ण न्यायदिएको छ भन्दा अत्युक्ति नहोला । साथै म जस्ता अज्ञानि अर्धज्ञानी अग्रेजी पुस्तक पढ्न अल्छेहरुलाइ पनि अनुवादकले अति धेरै गुण लगाएका छन् यदि यो पुस्तक नेपालीमा अनुबाद नभएको भए सायदै पढ्थे हुँला यदि पढि नै हाले पनि म जस्ती आलाकाचाले अधकल्चोमात्र बुझ्थे हुँला र यो अधकल्टो ज्ञान भनेको भयानक पनि हुन सक्थ्यो मेरा लागि । हुन त मैले यो पुस्तक पढेर देशकै लागि त केही नगरुला तै पनि आफ्नो व्यक्तिगत जिवनमा केहि थोरै मात्र भए पनि सकारात्मक सोच ल्याउन सकुला यहि नै मेरो लागि ठुलो हुने छ ।

Tuesday, September 20, 2011

लिम्बुवान तिर टहलिदा

बिषय प्रवेश
बिगत एक दशक देखी आफ्नो स्वायत्तराज्यको स्थापना गर्ने तथा लिम्बुवानबासीहरुको धर्म भाषा सँस्कृती तथा समग्र बिकास गर्ने उद्देश्य बोकेर अगाडि बढिरहेको लिम्बुवान आन्दोलन अझै पनि सँक्रमणकालिन अवस्थाबाटै गुज्रिरहेको छ । नेपालको एतिहासिकतालाइ सम्मान गर्दै जातीय जनसँख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको सिद्दान्त स्वीकार गरी जातीय एतिहासिक पृष्ठभुमि भाषिक एवँ क्षेत्रिय आधारमा सँवघिय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाका लागि लडिरहेका छन् लिम्बुवानका आदिबासीहरु बिषेशत लिम्बुवानका लिम्बुहरु ।

कहा हो त लिम्बुवान भुमी ?

सँखुवासभा धनकुटा तेह्रथुम पाँचथर ताप्लेजुङ मोरङ झापा र इलाम गरि जम्मा पुर्वका नौ जिल्लाहरुमा खास गरि लिम्बुजातिहरुको बसोवास बढि पाइने र उल्लेखित क्षेत्रहरुलाइ नेपाल एकिकरण पुर्व पल्लो किरात राज्य वा लिम्बुवान राज्य भनिने भएकाले उक्त गुमेको स्वशासित क्षेत्रलाइ पुन आत्मनिर्णयको अधिकार सहितको लिम्बुवान राज्य सँबिधानमै उल्लेख गरि लेखिनु पर्छ भन्ने लिम्बुवानी लिम्बुहरुको जोड रहेको छ ।

म टहलिन पुगेको धन्कुटा भित्रको लिम्बुवान क्षेत्र

महाभारत:
धनकुटा जिल्लाको ३५ गाबिस मध्यको एक भौगोलिक बिकटताले भरिएको र लिम्बुवान भित्रको एउटा राइजातिको बढि बसोबास भएको क्षेत्रहो महाभारत । सदरमुकाम धनकुटा नगरपालिका नजिकै देखी छोएको यो गाबिस जिल्लाकै सबै भन्दा टाढाको आहाले गाबिससम्म छोएको यस क्षेत्रमा बसोबास गर्ने धेरै जसो आदिवासी जनजातिहरु अशिक्षा र अज्ञानताको शिकार बनेर बस्नु परेको छ । सडक बिधुत तथा खाने पानि जस्ता भौतिक पुर्वाधार बिकासको सेवाबाट प्राय बञ्चित छन् । थुप्रै ग्रामिण सडकहरु बिस्तार भएता पनि हालसम्म महाभारत गाबिस सम्म जोडिने एउटै पनि सडक निर्माण कार्य पुरा हुन नसक्दा यहाको जनताले दिनप्रति दिन शास्ति खेप्नु परेको छ । सडक बिस्तार नभै सकेको कारण त्यहा उत्पादन भएका तरकारी तथा फलफुल पनि कुहिएर जानुका साथै सस्तोमा बिक्रिबितरण गर्नु परेको तितो अनुभव स्थानिय बासिन्दा बाडिरहेका छन् ।


गत आ वमा स‌सदकोष र जनसहभागिताबाट केही उल्लेखनियकाम भएतापनि धेरैबाँकि छ । अशिक्षाका कारण कुनै पनि कार्यक्रममा उपस्थिति जनाउन पनि अौठाछाप गर्ने अधिकाँश जनतालाइृ कुरा बुझाउन गाह्रो त छदैछ बिकासको लागि कहा के आवाज उठाउनु पर्ने भन्ने सम्बन्धमा केही थाहा छैन । अव लिम्बुवान प्राप्तिको लागि लडिरहनेहरुले यस पक्षतिर पनि ध्यान दिने हो कि एक पटक गहिरिएर सोच्ने बेला आएको छ ।



ताँखुवा:
जिल्लाको सदरमुकामबाट करिब ५ घण्टाको पैदलयात्राबाट पुग्न सकिने सुन्दर स्थान हो ताँखुवा । बिषेशत लिम्बु मगर क्षेत्रिब्राम्हणको मिश्रीत बसोबास रहेको यस क्षेत्रमा बिकासको पुर्वाधार मानिने ग्रामिण सडकले बि सँ २०३९ सालबाटै पाइला टेके पनि हाल सम्म एउटा ल्याण्ड रोबर पनि दैनिक चल्न नसक्ने अवस्थामा छ । अरु त अरु ब्यक्तिगत मोटरसाइकल पनि अोहोर दोहोर गर्न नसक्ने बिचरा अवस्थाबाट गुज्रिरहेको छ । बिशेषत सोझो सिधा जनजाती रहेकव यस ठाउमा कुनै पनि कार्यका लागी जनसहभागिता जुटाउनु परे सहभागीहरु महिलाको सँख्या प्राय सुन्य नै छ । उपभोक्ता समुहमा महिलाहरु राखेपनि अरुले जहा हस्ताक्षर गर भने त्यहि दस्तखत गरिदिने तर त्यो कुन प्रयोजनको लागि हो भन्ने कुरा केही थाहा नभइकन दस्तखत गर्ने खालका महिलाहरु मात्र छन् ।
शिक्षाको क्षेत्रबाट धेरै नै पछाडि परेको यस क्षेत्रको महिलाहरुको बिकासको लागी सचेतना कार्यक्रमहरु गर्न गराउन अत्यन्तै जरुरी देखिन्छ । पुरुष वा महिला हतपती कार्यक्रममा उपस्थित नहुने भै हाले पनि मादक पदार्थ सेवन पछि रमझमको अवस्थामा उपस्थित भए पछि आवश्यकिय कुराहरु पनि उठान गर्न नसकेको मेरो आफ्नो मुल्याङ्कन हो ।

बाख्रेखोला:
सदरमुकाम धनकुटा बजारको नजिकै रहेको बाख्रेखोला वरिपरिका जनता आफ्नै आँगनबाट गाडी अोहोर दोहोर गरि रहदा पनि भनेको समयमा सेवा सुबिधा लिनबाट बञ्चित छन् । बिषेशत आठपहरिया राइहरुको बढि बसोबास रहेको यस गाउमा बिकासको पुर्वाधार मानिने ग्रामिण सडकले भर्खरमात्र प्रबेश गरेको छ । नगरपालिका भित्रकै क्षेत्र भएता पनि उनिहरुको जिवस्तर तथा शैक्षिक क्षेत्रमा धेरै नै पछाडि परेका छन् ।

कुनै पनि कार्यका लागि जनसहभागिता कुरा उठाउनु परेमा कोही बोल्न नसक्नेहरुमात्र छन् । शिक्षा स्वास्थ खानेपानी तथा सडक हरेक क्षेत्रबाट धेरै पछाडि परेको यस क्षेत्रको बिकासको लागि नगरपालिकाले खास केही पहल गरेको पाइन्दैन । वडा नँ ३ कै माथिल्लो भेगमा क्षेत्रिब्रम्हण बस्ति बढि रहेको र नगरमा बनेका योजनाहरु सबै माथिल्लो भेगमै तान्ने र तलका बिचरा सोझा जनजाति हेरेको हेर्यै अबस्थामा छन् । समान हक र अधिकारको लागी लड्नै परे पनि कसरी र कहा लड्नु पर्ने भन्ने कुरा थाहा नभएका यस क्षेत्रका जनताको जिवनस्तर उकास्न केही गर्नै पर्ने तथा सोच्नै पर्ने अवस्था स्पष्ट छ ।

पेलेकपाङ:
पुर्वाञ्चलको सुन्दर नगरी धनकुटा जिल्लाको सदरमुकाम धनकुटा बजारको धनकुटा नगरपालिका अन्तर्गत ९ वटा वडाहरु मध्यको वडा न नौ मा पर्दछ । बिशेषत आठपहरिया जातिको एकलौटी बसाइ रहेको यस क्षेत्र सदरमुकामबाट करिब एक घण्टाको पैदल दुरिमा रहेको छ । बिकासको पुर्बाधार मानिने ग्रामिण सडकले भर्खरमात्र पाइला टेकेको यस गाउ बत्तिमुनिको अध्यारो जस्तै बनेर बसेको छ । कुनै पनिकाम परेर सुबिधा लिन परेमा दस्तुर नगरवासीहरु सँगै बरावर भएता पनि उनिहरुको जिवनस्तर तथा शैक्षिक स्थिति हेर्ने हो भने बिचरा नै छ ।
कुनै पनि कार्यक्रममा जनसहभागिता जुटाउनु परे महिला सहभागिता सुन्य प्राय रहने यस क्षेत्रलाइ हेर्दा कतै कर्णालीकै कुनै भाग होइन भन्ने भान हुन्छ । शिक्षा स्वास्थ खानेपानि तथा सडक हरेक क्षेत्रबाट बञ्चित यो क्षेत्रको लागि धेरै काम गर्न बाकि देखिन्छ ।

बुढिमोरङ:


तुलनात्मक अन्य क्षेत्र भन्दा धेरै अगाडी शिक्षा स्वास्थ तथा बिकासको हिसावले रहेको गाबिस बुढिमोरङमा लिम्बु राइ तामाङ तथा मगरहरुको मिश्रित बस्ति रहेको पाइन्छ । बिकासको पुर्वाधार सडक बिस्तारले भर्खर बाबे सार्दै गरेको यस क्षेत्रमा दैनिक बस सञ्चालन हुन सकेको छैन । अर्थको र शिक्षाको हिसाबले केही अगाडि नै रहेको यस क्षेत्रमा पर्यटनको बिकासलाइ अघि बढाउन सके अझै धेरै लाभ लिन सकिने देखिन्छ ।