Wednesday, March 11, 2009

होली पर्व एक संस्कृति र यस सँग बढ्‍दै गरेको विकृती तथा बिसंगती




हिन्दु धर्म ग्रन्थ अनुसार राक्षसी होलिका भष्म भएर सत्यको जित भएको सम्झनामा मनाइदै आएको पर्व फागुपूर्णीमा(होली) को आज भोली रुप फेरीदै गएको छ । नेपाली समाजमा आधुनिकताको नाममा विभिन्न नेपाली चाड पर्व सँगै विकृति र बिसंगतिको चुनौती पनि मौलाउदै गएको छ । नेपालका सहरी क्षेत्र विशेष गरि काठमाण्डौं त्यस्तो थलो हो जहा होलीको असली अर्थलाइ सामाजिक विसंगति तफ धकेली रहेको छ । देशको राजधानी काठमाण्डौं, होली आउनु एक हप्ता पन्ध्र्र दिन अगाडी देखि नै सडक यात्रु महिलाहरुले फोहर पानीका लोला झेल्नु पर्छ । सम्पूर्ण क्षेत्रमा पितृसत्तात्मक विभेदको झल्का होलीमा सम्म देख्न सकिन्छ । देशभर फागुपूर्णीमाको एक दिन मात्र होली मनाइन्छ भने काठमाण्डौंमा होलीको एक हप्ता अगाडी देखि पुरुष युवाहरुलाइ मात्र होली लाग्ने गर्दछ, त्यो पनि महिलाहरुलाइ फोहोर पानीको लोला हान्ने । सभ्य सहरको नामले कहलिएको काठमाण्डौंको गल्ली र सडक त भए भए अझ त्यस भित्रको शैक्षिक क्षेत्र (विद्यालय,क्याम्पस तथा विश्वविद्यालय) मा पनि असभ्य ब्यक्तीका हातबाट फोहर पानीले भरिएका बेलुन तथा प्लास्टिक्सका झोलाको मार सहनु पर्छ महिलाहरुले ।
सम्पुर्ण नेपालीहरु बिच सद्‍भाव, खुसियाली र मानवीय प्रेम बाड्‍न विभिन्न प्रकारका रंग र अबिरको प्रयोग गर्दै मनाइने परम्परागत पर्व फागुपूर्णीमा आज तिनै समाजका आधा हिस्सा ओगटेर रहेका महिलाहरुको लागि अभिषाप बन्न पुगेको छ । होली आउनु एक महिना अघि देखि प्राय: प्रत्येक दिन गल्ली, चौक तथा खुल्ला सडक जहाँ पनि लोलाको निसानामा महिलाहरु नै परिन्छन्‍ । त्यसबाट उत्पन्न मानसिक तनाव र शारिरीक पीडाको सामना गर्नु कुनै एक व्यक्ति विशेषको नभै घरबाट बाहिर निस्कने कामकाजी, विद्यार्थी लगाएतका सम्पूर्ण नेपाली महिलाको बाध्यता हो । हुनत प्रत्येक वर्ष होली पर्व हर्सोल्लासका साथ मनाइएका समाचार र फोटो प्रत्येक नेपाली टेलीभिजन तथा रेडियोले प्रसारण गर्छन भने प्रत्येक दैनिकी र साप्ताहिक समाचार पत्रहरुले पनि महत्वका साथ छाप्ने गर्दछन्‍ । साथै होली अगावै सडक बटुवा तथा अपरिचित जो सुकैलार्इ पनि लोला हानि रहेको दृष्यहरु देखाइन्छन्‍, साथीभार्इ तथा छरछिमेकमा त्यसको चर्चा निकै चल्ने पनि गर्दछ तर यो एक परम्परागत रुपले मान्दै आएको संस्कृतिको रुप दिनानु दिन विकृति तिर वढि रहदा कसैको पनि त्यता तिर ध्यान गएको पाइन्दैन । पत्रपत्रिका तथा साथीभार्इ बिच चर्चा जति चले तापनि सकारात्मक परिवर्तन भने खासै पाइन्दैन ।
गत वर्षको एक प्रसंग: होली आउनु ३, ४दिन बाँकी थियो । हाम्रो स्नातकोत्तर दोश्रो वर्षको अन्तिम परिक्षा चलि रहेको थियो । परिक्षा केन्द्र सरस्वति क्याम्पस भएको हुनाले म लगाएत ५, ६जना केटीसाथीहरु र २, ३जना केटा साथीहरु अमृत साइन्स(अस्कल) क्याम्पसको बाटो हिड्‍दै जादै थियौ । अस्कलको अगाडी पुग्दा बाटोमा ओहोर दोहोर गर्ने पैदल यात्री महिला (युवती)हरु डराइ डराइ दौडिरहेका थिए । पुल वारीपारी र माथी सवै तिर फिल्म सुटिङमा झै रमिता हेर्नेको घुइचो थियो । जव हामी त्यहा पुग्यौ कानमा आवाज ठोक्कियो "ओइ छिटो गर अर्का हुल केटिहरु टन्न आउदैछन् यसो आवाजलाइ के नियालेको थिए फोहर पानीका लोलाहरु हामी केटीहरुमा बारुदका गोली झै विपरित दिशाका युवाहरुबाट वर्षा हुन थाल्यो, सँगैका केटासाथीहरु हेर्‍या हेर्‍यै भए । एकछिन प्रतिकार गर्न खोज्यौ तर समय अभावका कारण आफै ति गन्धे पानीले लिथ्रुक्क भिजेको लुगा लिइ बाटो लाग्नुको विकल्प केही थिएन किनकी ती समाजका युवाका नाममा कंलकीत ब्वासाहरु सँग तर्क गरेर समय वर्वाद गर्नु भनेको गधालाइ कथा सुनाउनु सरह थियो । पछि हेरेको ति तलमाथि वर पर जति पनि ब्वाँसाहरु थिए तिनीहरु सबैको हात भरि भरि उनीहरुको विचार जतिकै घिनलाग्दो फोहोर पानीको लोलाहरु रहेछन्। सहरका अधिकांश शैक्षिक संस्था होलीको बेला बन्द हुन्छन तर त्यस्ता बन्दले उद्दण्ड स्वभावका नेपाली मुर्ख युवाहरुलाइ खासै केही असर पर्दैन ।
यस वर्ष पनि आज भन्दा ३, ४ दिन अगाडी नै म विहान दश बजे तिर आफ्नो काममा हतार हतार निस्कदै थिँए । होलीको बारेमा मनमा कुनै संका सम्म थिएन । एउटा प्राथमिक स्कूलको वरिपरि साना साना भार्इहरु खेली रहेका थिए, एक्कासी पिछाडी ढाँडमा ढ्‍याम्म गह्रौ चिजले लाग्यो । एकछिन अररीए पानीले सबै जीउ भिजेर पानी चुहिन थाल्यो यताउती हेरे कस्ले हो कस्ले ठम्याउनै गाह्रो भयो । आफुलाइ समयमा काममा पुग्नु पर्ने एक बाध्यता पनि साथमा छदै थियो । समय अभावका कारण पनि र ती अवोध वालकका अन्धानुकरणलाइ केही गर्न सकिएन । त्यसै दिन बेलुकी विहानको लोलाको पीरले झन साँझमा साथी र म फकर्दै थियौं । बागमति पुलको आडमा केही युवाहरु उभिएर गफ रहेका थिए । हामी आफ्नै सुरमा हिडि रहेथ्यौ जव हामी उनीहरु क्रस गरेर ३० मिटर जति पर पुगेका थियौं पिछाडी ढाडमा ढ्‍याम्म आवाज सहित ठ्‍वास्स गन्हाउने चिसो पानीको लोला बज्रियो । कसले हो भन्ने ठम्याउनै सकिएन प्रतिकार गर्न खोज्यौं तर ति समाजका कलंकित भुस्याहाहरु त झन गलललल हास्न थाले । सडक वरिपरि हिडि रहेकाहरु पनि एक आपसमा संवाद गर्न थाले "होली लागेछ है, अव दुइ चार दिन हिड्‍नै गाह्रो हुने भो ।" मैले सुने अनुसार महिलाहरुको पहिरणमा जिस्कार्इ भर पर्छ रे तर त्यसो नभै कुबूद्धि भएका समाजका भुस्याहा युवाहरुलार्इ महिला अझ अलि कलिलो उमेरका केटि मात्र भए पुग्ने रहेछ । हुनत सचेत र वुद्धि विवेक भएका युवाहरुले त त्यसो गर्दै गर्दैनन नी ।
हाम्रो समाजमा पुराना संस्कार संस्कृतिलाइ निरन्तरता दिने नाममा नेपाली ठिटाहरुले परिमार्जित र परिवर्तित बनाउदै लगेको छ जुन कुनै पनि कोणबाट सहि होइन । यस्ता युवाहरुले ल्याएको विकृतिको सिको गर्न खप्पिस छन साना बालबालिका पनि, यसमा ती बालबालीकाको केही दोष छैन, वालबालिकालार्इ सम्झाउनुको सट्टा झन उत्साहित बनाएर ठुलाहरुले नै यस्तो बिकृतिलार्इ वढावा दिइ रहेका पाइन्छन्‍ । यी विसंगति र विकृतिलाइ झाँगिन जान अन्जानमा महिलाहरु नै पनि मदत गरिरहेका छन्‍ । सडकमा आफुलाइ लोला लाग्दा रिसाउदै कराउने महिला दिदी बहिनी पनि घरमा छोराछोरीको चाहाना अनुरुप होलीमा मनोरञ्जनका समान जुटाइ दिन्छन जुन सहि होइन । त्यो होली खेल्नका लागि आवश्यक सामग्री जुटाइ दिनुको साटो राम्रो सँग सम्झाइ होलीको बारेमा बुझाएर होलीको एक दिन आफै पनि बच्चाहरु सँग रंगहरुको खेलमा सरिक भइ दिए के विग्रन्छ होला र? चिन्तन गर्न जरुरी छ ।
होली पर्व आफैमा नराम्रो होइन तर समाजमा रहेका पशुबूद्धि भएका युवाहरुले पर्वका नाममा दुरुपयोग गरि रहेका छन्। आफु आफु सद्‍भाव कायम गर्ने उद्देश्यले होलीकै दिन रंग र अविरको होली खेले त भै हाल्ने हो । तर अझै पनि चित्त नवुझेको पक्ष, यो समाजले किन संस्कृतिका नाममा पनि निर्दोष महिलालाइ नै प्रयोग गर्छन्? होलीको दिन साथी सँग मिलेर खेलेको बाहेक प्राय जसो पुरुषहरुको शरिरमा लोला त के होलीको रंग पनि पर्दैन । भने किन यी फोहर पानीका लोलाहरु महिला माथि मात्र खनिन्छन? होलीमा मात्र नभै समाजका हरेक क्षेत्रमा महिलाहरु अपमानित हुनु पर्छ । के नेपाली समाजका महिलाहरु जिस्काइनकै लागि बनेको हो त? गम्भिर भएर सोच्नै पर्ने हुन्छ ।
महिलाहरुले यस्तो समस्या कहिले सम्म भोगी रहने? यस्तो बिकृति रोक्न समाजका सचेत पुरुषले सोच्ने की नसोच्ने ? के एउटी महिला समाजको मानविय प्राणी होइन र? यो समाजले किन हरेक तह र तप्कामा महिलालार्इ नै आतंकित बनाइ रहेको हुन्छ ? किन नेपाली महिलाहरुले आफ्नै समाजका पुरुषहरुबाट स्वतन्त्रता र सुरक्षाको महसुस गर्न पाउदैनन? यी निर्दोष महिलाहरु आफ्नै समाज र आफ्नै दाजुभाइ सँग कति दिन सम्म त्रसित रहनु पर्ने? कतिन्जेल सम्म लोलाको निसाना बनेर हिडिरहनु पर्ने? उनीहरुले जति सजिलै जिस्काउछन उतीकै सजिलै हरेक जिस्काइको शारिरीक तथा भौतीक दण्ड दिन पाउने की नपाउने? यसरी लोलाहान्ने र लोला हान्न हौसला दिने जो कोहिलाइ हामीले फर्केर गइ गालामा चड्‍कन लाउन पाउने की नपाउने? जवाफको खाचो छ ।
यसबारे सम्पूर्ण समाजका सचेत बुद्धिजिवीहरुले गहिरिएर सोच्नै पर्छ । यस्तो विकृति र विसंगतिको संस्कारमा समाज रुपान्तरण जरुरी छ । हरेक समस्याको रोकथामको खोजी हुनु हो भने समाधान असम्भव केही छैन तर पनि यस्ता विकृति र विसंगति प्रति नेपाली समाज किन जहिले मौन रहन्छ ? यहा बुझाइको आवश्यकता छ ।
शुभ होली ।।।

Saturday, February 21, 2009

मगर भाषा र साहित्यको विकास संक्षिप्त जानकारी

जाति, धर्म र भाषाको विविधता रहेको हाम्रो देश नेपालमा बहुलता भित्र पनि एकता खोज्ने बेला आएको छ । वि.सं २०५८को जनगणनाले पहिचान गरेका करिब १०० भन्दा बढि जात जातिको बसोबास नेपालमा पाइन्छ । यिनै सयौं जात जाति भित्रको एउटा जाति हो मगर । आफ्नै विशिष्ट भाषा र सँस्कृतिका धनि मगरहरु नेपालको कुल जनसंख्याको ७ प्रतिशत भन्दा पनि बढि छन्‍ । उनीहरुका आफ्नै भेषभुषा तथा मातृभाषा अहिले सम्म अस्तित्वमा रहेको पाइन्छ । वि.सं २०५८को जनगणना लाइ हेर्ने हो भने नेपालमा मगरभाषा बोल्ने मगरहरु प्रतिशत पाइन्छन तर त्यसमा पनि शहरबासी मगरहरु भन्दा ग्रमीण भेगमा बसोवास गर्दैआएका मगरहरुले बढि मातृभाषा बोल्ने गर्दछन । मगरहरु अहिलेको यो सिंगो नेपाल निर्माण हुनु अघि मगरातभूमीमा आफ्नो सार्वभौम सत्ता सम्पन्न भएर आफ्नै तरिकाले राज्य गरेर रहेका थिए । तर समयक्रम सँगै बढेको स्वार्थ र लोभको कारण सोझो मगरहरुको सोझोपनको फाइदा उठाउदै अन्य जातिहरुले सत्ता कब्जा गर्न पुगेको कुरा अझैपनि विभिन्न पुस्तकहरुमा पढ्‍न पाउछौ ।

Tuesday, February 3, 2009

चेसुङ


"एउटा परिवार जो संग अलिकति पूर्ख्यौली सम्पती छ त्यही सम्पतीको तुजुक आफ्नो परम्परागत सामाजिक साँस्कृतीक कूरीतिलाई प्रसय दिदै आफ्नो क्षमता भन्दा माथी रहेर अहंपना प्रदर्शन गर्दा आफु र आफ्ना एक पुस्ते परिवारको बिस्थापन हुन्छ।"
समग्रमा यिनै कथा वस्तुलाई उनेर बनेको नेपाली चलचित्र हो चेसुङ अथवा कोशेली । यसमा कोशेलीको नाम उल्लेख गरेता पनि बिशेष गरी यो कीपट सँग सम्बन्धित चलचित्र हो । चलचित्रको नाम पुरै पृष्ठभूमी सँग नमिलेता पनि लिम्बु महिला दिदी बहिनीहरुको लगानीबाट बनेको कारण कोशेलीको रुपमा आएको चेसुङ नाम राखिएको निर्देशकको भनाई रहेता पनि नाम अलि नमिलेको आफै स्वीकार्छन् ।
पूर्वको एउटा लिम्वु परिवारको पृष्ठभूमी र लिम्वुवानको किपटलाई नजिकैबाट उधिन्नुका साथै किपट छाडेर जानुमा बाध्य बनाइएको मुख्य चिज कोशेलीको कारण हो भन्ने कुरा देखाउन खोजीएको छ यो चेसुङले ।चलचित्रमा २ जना सुब्बाहरु मध्ये ठूलो सुब्बाको भन्दा बढी धाक धक्कु देखाउन खोज्दा सानो सुब्बाको परिवार विस्थापित हुनुको कारण उ भित्रको अहंता र कोशेली प्रभावीत छ ।सानो सुब्बाले आफ्नो किपटमा जसले बढि कोसेली ल्याउछ उसलाई रैती बनाउने प्रथाको बिकाश गरी तिनै रैतिहरुले पछि उठिवास लगाएको दृष्य प्रमुख छ।
चलचित्रमा लिम्वु जातिको सामाजिक तथा साँस्कृतिक पक्ष जन्म, मृत्यु, बिवाह र उनिहरुको मौलिक रीतिरिवाजको प्रस्तुती निकै सवल छ । यस चलचित्रमा नया नै भए पनि कलाकारहरुले सशक्त्त अभिनय गरेको पाइन्छ । एउटा जाति बिशेषको चलचित्र नै भएता पनि समय परिवेशलाई ध्यानमा राखी सम्पूर्ण नेपालीले बुझ्ने गरी नेपाली भाषामै तयार पारिएको छ ।
देशबिदेशमा निकै चर्चामा रहेको लगानीको हिसाबले पनि निकै खर्चिलो चलचित्र क्याराभान साथै नुमाफुङको तुलनामा अलि कम नै भए पनि आफ्नो लगानीको हिसाबले भने निकै सशक्त छ । आर्थीक लगानीको हीसाबले थोरै भएता पनि नेपाली मूलधारको चलचित्र भन्दा बाहिर रहेर बनाइएको यस चलचित्रमा द्वन्द हासो रोदन देखी सबैकुरा राम्रो सँग समेटीएको छ । लाखौं लगानी गरेर बिना बिषय बस्तुको चलचित्र निर्माण गरी रहेका निर्माता निर्देशकको लागी थोरै लगानी र सामान्य प्रबिधि सहितको क्यामेराले पनि राम्रो चलचित्र उत्पादन गर्न सकिन्छ भन्ने गतिलो उदाहरण यसले दिएको छ ।
यस चलचित्रले जो सुकै मानीसले पनि घाँटी हेरी हाड निल्नु पर्छ भन्ने एउटा सन्देश बोकेको छ भने मानीस आफुमा रहेको अहं भावनाले कसरी पतन तर्फ धकेलिन्छ भन्ने यसको अर्को महत्वप‍ूर्ण सन्देश रहेको छ ।

Friday, January 23, 2009

नमोबुद्ध का केहि झझल्काहरु

अङ्रेजि महिनाको नया बर्ष सुरु भएको केहि दिन मात्रै भएको के थिओ कोहि पिकनिक कोहि कता जान लाग्छन। हामि पनि कहि जाने सोचिरहेका थिऔ त्येहि मौका एउटा प्रस्ताब आयो हाइकिङ् जाने। लौजा काम् पनि नभाको बेला लग्येउ एउटा नया गन्तब्य तिर। त्यसै बेलाको फोतो र नमोबुद्धको सम्झना स्वरुप राखि दिए फोटोहरु

















































Tuesday, January 13, 2009

नयाँ नेपालको नयाँ नियती




दैनिक १६ घण्टा बिधुत कटौती विश्वका कति वटा राष्ट्रमा हुने गर्छ होला? मलाई कहिले काहि घोत्लिन मन लाग्छ । हुनत बिधुत नै नपुगेको ठाउमा के को लोडसेडिङ? भन्नु होला तर मैले विधुत नपुगेको ठाउको त कुरै गरेकी छैन। त्यो दुर्दशाको कुरा कुनै दिन गरुँला। मात्र अहिलेको कुरा विधुत पुगेको ठाउको गर्न लागेकी हुँ । हुनत फेरी नेपाल मै पनि कति पय गाउमा विधुतै पुगेको र लोडसेडिङ पनि नहुने ठाउहरु पनि नपाइएका हैनन् । छन् त्यस्ता नमुना गाउ पनि जसले आफ्नै सानो सानो गाउ मिलेर विधुत उत्पादन गरेका छन् त्यहाँ त लोडसेडिङको समस्या सहन गर्नु परेको छैन। जस्तै उदाहरणको लागी ताप्लेजुङ संखुवासभा आदी
अब लम्बा चौडा कुरा के गरि रहनु है? हाम्रो देश जलश्रोतको धनि देश, जहा दैनिक १६ घण्टा सम्म लोडसेडिङ हुन थालेको छ हिजोबाट । दिनानु दिन बिधुत कटौतीको समय बढाएर त्यति पुर्याएको हो। ब्यबस्थापन पक्ष फितलो भएको कारण देशले यतिका समस्या भोग्नु परेको हो । हामीलाई कुनै पनि तवरले त्यस्ता ठाउमा सेवा गर्न मौका मिल्नु हो भने १ महिना मै यो समस्याको समाधान गरि दिन्छौं। भन्नेहरु पनि नभएका हैनन् तर कुरो गर्यो कुरैको दुख भने झै छ। भन्नको लागी त हाम्रा प्रधानमन्त्रिज्युले पनि पद ग्रहण गर्न अघि भन्नु भा थियो नी, हाम्रो पार्टीले सत्ता सन्चालन गर्न पायो भने देशमा चमत्कार गर्ने छौं, नेपाल चाडै नै स्वीजरल्याण्ड जस्तै बनाउने छौं, ह्याँ गर्ने छौं, त्ह्या गर्ने छौं तर खोई त जुन जोगी नै आए पनि कानै चिरेको भने झै सत्ता पनि पाउनु भो राष्ट्रपति नभए के भो र? प्रधानमन्त्रि जस्तो गरिमामय पदमा नियुक्त हुनु भो तर पनि समस्या जस्ताको तस्तै लास्टमा त्यै भने झै ।खै त चमत्कार? के जनताका छोरा छोरी अन्धकारमा बस्नु, दिनानु दिन महंगी र अभावमा रुमलिनु, के यहि हो चमत्कार? देश र जनताले केही शान्तिको आभास् पाउलान्, सुरक्षाको चाजो पाजो मिलाउलान्, नया संबिधान बनाउलान, राज्यको पुनर्संरचना गर्लान, की भनेर पो प्रधान मन्त्रि बनाएका थिए त यस्तै हो भने पहिलाको सरकार र अहिलेको सरकारमा के फरक पर्यो र? अर्काको आङमा जुम्रा देख्ने आफ्नो आङमा भने भैसी नै हिडेको पनि थाहा नपाउने?
जनताका छोरा छोरीको परीक्षा नजिकी रहेको छ उनिहरु के गरी पढी रहेका छन् भन्ने कस्लाई के मतलव? आखिरी हिटर बालुन वा गिजर चलाउन कसको सरोकारको विषय भो र ? मन्त्रि तथा प्रधानमन्त्रि क्वार्टरमा त झलली चौबिसै घण्टा बत्ती बलेकै हुन्छन क्यारे ।
खैर हुनत हामी जनता पनि भेडै छौं सडकका किनारमा १६०० वाटको बत्ति दिनरात बलेनी ठिकै छ। २४ घण्टामा ६ घण्टा मात्र बत्ति आए पनि ठिकै छ। सम्पुर्ण विधार्थीको परिक्षा नजिकी रहेको छ दिनानुदिन बत्ति कति खेर जान्छ र कति खेर आउछ भन्नेमा बालबच्चामा मानसिक यातना नै भएको छ । मट्टितेलमा पढ्न बस्यो मट्टितेलको गन्धले टाउको दुख्ने एउटा पिर त स्वासप्रस्वासमा कालो धुवा संगै लिने हुदा स्वास्थ उस्तै खराव हुने। यता मैन बत्तिमा पढ्ने हो भने बत्तिको मैन जताततै खस्ने समस्याले पिरोल्ने अब नपढौं भने भोली क्लासमा के भन्ने अब त बत्ति थिएन पढ्न पाइन भन्न पनि अप्ठेरो। त्यसैले अहिलेका बिधार्थीहरु जतिखेर बत्ति गयो उतिखेर सुत्ने र रातिको १२ बजे नै किन नहोस बत्ति आए पछि उठेर पढ्ने गर्न बाध्य छन्। हामी ठुला भनाउदाको पनि उहि हालत छ । हामी २१सौं शताब्दीका युवा यसो केहि गरौं भने आई टि को जमाना रे computer र Internet बिना केही काम नहुने अब के गर्ने? आफु त अलि अल्छि मान्छे है बेलुकी सुत्दा पनि बत्ति हुदैन बिहान उठ्दा पनि बत्ति हुदैन। दिउसो कति खेर एक छिन आउछ म कहा पुगेकी हुन्छु? घर आइ पुग्दा अघि नै गै सकेको हुन्छ । साच्चै मैले त घरमा बत्तिको मुहार नदेखेको पनि झन्नै एक महिना नै भएछ ।लौ यो महिना त बत्ति त्यति धेरै बालेको छैन बिल त थोरै आउला भनेको त आम्मै नी के को कम? झन पो पहिला भन्दा धेरै । कुरो के भएछ? भनेको त बत्ति भाको बेला एकै चोटि computer, Iron, heater, Mobile भए जति सबै एकै चोटि चार्जमा राख्ने अनि यत्रो आउछ थोरै ?
के गर्नु? जनतामा अझै पनि आन्दोलनको धङधङि झरी सकेको छैन केहि परेमा आन्दोलन गर्ने त्यो पनि कस्तो, कि त गाडीको सिसा फुटाउने, की त सडकमा टाएर बाल्ने नत्र सडक अबरुद्द गरि सर्वसाधारणलाइ नै दुख दिने? हैन आन्दोलन नै गर्ने भए पनि देश सुल्झाउने खालको आन्दोलन गर्नु नि? हामीलाई कुनै पनि तवरले त्यस्ता ठाउमा सेवा गर्न मौका मिल्नु हो भने १ महिना मै यो समस्याको समाधान गरि दिन्छौं भन्ने युवा नेता तथा बिज्ञहरु पनि मौन भएर किन बस्छन? त्यस्ता के के उपाया छन् बिधुत कटौती हटाउने सबै सिकाइ दिए त भै हाल्ने हो नी त्यस्ता खालका आन्दोलन किन नगरेका होलान्? हरे नेपालमा कहिले आउला शान्तिको दिन?यो नयाँ नेपालको नयाँ नियति कहिले सम्म भोग्नु पर्ने हो थाहा छैन लौ है साथी हो बाचौं यहि अन्धकारमय नेपालमा॥ जय लोढसेडिङ ।।।

Thursday, January 8, 2009

चौतारीको नयाँ पुस्तक श्रृंखला




पुस्तक : राज्य पुनर्संरचना
लेखक: कृष्ण खनाल, झलक सुबेदी र मुक्त सिंह तामाङ्ग
प्रकाशक : मार्टिन चौतारी
पृष्ठ संख्या: १५८
मूल्य रु.: १५०

नेपाली इतिहासमै पहिलो पटक परम्परागत रुपमा राजसंस्थाको बंसाणुगत राज्य परिचालन गर्ने परिपाटी समाप्त भै जनताका छोरा राष्ट्रपति भएको छ । विगत एक दशक भन्दा बढिको माओवादी शसस्त्र संघर्ष र वि.सं. २०६२/६३ सालको जनआन्दोलन नै यस आमुल परिवर्तनको मुख्य कारक तत्वहरु हुन्। यस बेला समाजमा चलिरहेका विद्यमान परम्परा देखि राज्यका सम्पूर्ण रचनाहरु पुनसर्रचना गर्नु पर्ने अवस्था आएको छ । राज्य पुनर्संरचनाका विभिन्न प्रयासहरु भै रहेको अवस्थामा कृष्ण खनाल, झलक सुबेदी र मुक्त सिंह तामाङ्गको राज्य पुनर्संरचना नामक पुस्तकले राज्यको बिद्यमान राजनीतिक, संस्कृतिक र आर्थिक दृष्टिकोणलाइ समेटेको छ । मार्टिन चौतारी द्वारा प्रकाशित उक्त पुस्तकमा बिगत केही समय यता नेपालमा गणतान्त्रिक राज्य ब्यबस्था, संघियता, समुदायको साँस्कृतिक अस्तित्व सहितको राजनीतिक अधिकार आदी विविध विषयमा राज्य अल्झिरहेको अवस्थालाइ छर्लग्याएको छ । राज्यको पुनर्संरचनाको मुल एजेण्डा सँग जोडीएका शासन प्रणाली, आर्थिक पुर्वाधार र स्रोत साधनको बाँडफाँड तथा जातिय, लैङ्गिक, भाषिक र धार्मिक अधिकार लगायतका सवालहरुलार्इ नया सविंधानले सम्बोधन गर्दै गरेको भएता पनि सम्पूर्ण पक्षमा मेसो समातिसकेको अबस्था छैन । यी सम्पूर्ण अल्झाइलाइ एउटा गतिलो खाका दिने जमर्को यस पुस्तकले गरेको छ । करिब १५८ पृष्ठको पुस्तकमा जम्मा ३ वटा लेखहरु समाबेश छन्।

पहिलो लेखमा कृष्ण खनालले राजनीतिक पुनर्संरचना सम्बन्धी अन्तर्निहित सवालहरुलार्इ केलाएका छन्‍ । उनको लेख मूलत: यी निम्न सवालहरुमा केन्द्रित छन्:
राज्यको अवधारणामा बदलिदो विश्व दृष्टिकोण र मान्यता
नेपाली समाजको संरचना र राज्यको स्वरुप
राज्य पुनर्संरचना सन्दर्भमा आदिवासी /जनजाति, मधेशी, दलित,महिलालगायत विभिन्न समुदायहरुको आकांक्षा र मागको समीक्षा
यी विषयमा प्रमुख राजनीतिक दलहरुको दृष्टिकोण
राज्य पुनर्संरचनाका प्रमुख मुद्दाहरुको विश्लेषण
राज्य पुनर्संरचना : संभावना र चुनौती (पृ‌.६)

लेखकले करिब ६० पृष्ठको आफ्नो लेखमा संघियताको औचित्य, आवश्यकता तथा संघ निर्माणका आधारहरु प्रस्तुत गरेका छन । शताब्दीयौंदेखि एउटै राज्यमा बसोबास गर्दै आएका आदिवासी र रैथाने विविध जातीय, भाषिक एवं साँस्कृतिक समुदायको उचित ब्यवस्थापन गर्नु पर्ने चुनौतीहरुलाइ पनि औल्याएका छन्। खनालले नेपालमा संघिय प्रदेश निर्माणको प्रारम्भिक आधारहरु:
साझा नागरिकता
जातीय, भाषिक एवं साँस्कृतिक बसोवासको सघनता,
भू क्षेत्रको निरन्तरता र सुगमता
प्राकृतिक श्रोत साधन र आर्थिक सम्भाव्यता
पारस्परिक अन्तर निर्भरता
राजनीतिक एवं प्रशासनिक सम्भाव्यता लाइ अघि सारेका छन्।

सुरुवातमा नेपालको संघिय राजनीतिक एवं प्रशासकीय संरचनाको स्वरुप केन्द्र, प्रदेश स्थानीय रहने, यी तीनै तहको कार्यक्षेत्र र अधिकारको सूची संविधानमा नै तय गरिनु पर्ने,राष्ट्रध्यक्षीय वा प्रधानमन्त्रिय शासन पद्दति तथा एक सदनीय अथवा दुइ सदनीय संसदिय प्रणालीबारे एउटा सर्व सम्मत निष्कर्षमा पुग्न सकिने सम्भावना सहितको आफ्नो विचारलाइ लेखमा औल्याएका छन्। यतिमात्र नभै राज्य संघिय संरचनामा प्रबेश पछि क्षेत्रीय नेतृत्वले केन्दि्रय नेतृत्व संरचनामा प्रत्यक्ष प्रभाव पार्ने, नागरिको अन्तप्रादेशिक गतिशीलता प्रभावित हुने देखि लिएर विभिन्न सम्भाव्य १० बुँदे परिणतिहरुलाइ समेत लेखमा समेटेका छन् । राजनीतिशास्त्रका प्राध्यापक तथा राजनीति प्रति चासो राख्ने हुनाले लेखकले आफ्ना अनुभवहरु पनि यसमा समेट्‍न भ्याएका छन्। उनको यो लेख गहन अध्ययन पश्चात लेखिएको हो भन्ने कुरा लेखका अन्तमा रहेको सन्दर्भ सामग्रीले प्रष्ट पार्दछ । प्राज्ञिक तहको यस लेखले विद्यमान राजनीतिक अन्योलतालाइ सहि दिसा दिन पक्कै पनि केही सहयोग गर्नेछ ।

पुस्तकको दोश्रो लेख अर्थशास्त्री झलक सुबेदीको छ । अर्थशास्त्री नै भए पनि राजनीतिक विश्लेषण उहाको रुचिको क्षेत्र भित्र पर्दछ भन्ने कुरा उहाको विभिन्न प्रकाशित पुस्तक तथा पत्र पत्रिकामा प्रकाशीत लेखहरुले पुष्टि गर्दछ । करिब २२ पृष्ठको अर्थिक विषयमाथि केन्द्रित यस लेखमा अबको नेपालको आर्थिक प्रणाली कस्तो हुने भन्ने सम्वन्धमा संविधानसभामा व्यक्त हुन सक्ने विचारधारात्मक संघर्षका धारहरु पनि प्रस्तुत गरेका छन्। ती धारहरु निम्न रहेका छन:
आमूल परिवर्तनवादी /समाजवादी
सुधारवादी / मध्यम वामपन्थी
नवउदारवादी / परम्परावादी
पहिचानवादी
यी माथीका सम्पूर्ण धारहरु विभिन्न राजनीतिक दलहरुका निर्वाचन घोषणा पत्रको आधारमा तयार पारेका छन्‍ । लेखकले परम्परागत वा यथास्थितिवादी शक्तिहरुले समाजमा आफ्नो एकलौटी वैचारिक प्रभुत्व गुमाएको र पुराने उत्पादन पद्दतिको तीब्र विघटन भै रहेको अवस्थामा त्यसलाइ विस्थापित गर्नै नयाँ पद्दतिको विकास नभै सकेको कारण संकट उत्पन्न हुन गएको हो भन्ने तर्कलाइ अघि सारेका छन् ।
यसरी सामान्य जीविकामा संकट उत्पन्न भएर नै जनसाधारणमा पुराना अर्थ सामाजिक मूल्यप्रणाली माथि विरोध र नयाँ प्रणालीको खोजी प्रति आकर्षण बढेको कुरा ब्यक्त गरेको छ । आर्थिक प्रश्नहरु विकास, वृद्दि र समता तीनै विषय सँग अन्तरसम्वन्धित रहेका हुन्छन्। अर्थिक विकास परम्परागत आर्थिक संरचनाबाट परिवर्तन भइ क्षेत्रगत सम्वन्धको विस्तार गर्दै अर्थिक वृद्दि गर्न सकिने र आर्थिक वृद्दि हासिल हुदै जाँदा समाजका विभिन्न हिस्साबीच स्रोत र आम्दानीको वितरण गर्दै समतामूलक समाज निर्माण गर्न सकिने तर्क पनि प्रस्तुत गरेका छन्।
यसबेला नेपालमा आर्थिक क्रान्तिको प्रसंग चलिरहेको छ । आर्थिक क्रान्ति सफल पार्न साथै संरचनागत तथा नीतिगत कारणले सयौं बर्ष पछाडि पारिएको समाजलाइ अरु सरह अगाडी बढ्‍ने अवसर प्रदान गर्नु राज्यको दायित्व रहेको कुरालाइ पनि उठाएका छन्। १२ बर्षे शिक्षा नि:शुल्क गर्दै सबैलाइ समान अवसरको सुनिश्चितता गर्नु पर्ने, मानवीय संसाधनको विकासको लागी अभिन्न अंग मानिने स्वास्थ्य क्षेत्रलाइ सुदृढ गर्न ठूलो रोगको उपचारका लागि सामुदायिक स्वास्थ्य कोष र जीवन बिमा प्रणाली लागु गर्नु पर्ने, खानेपानी, ग्रामीण् विद्युतीकरण, सञ्चार सेवाजस्ता विषयमा अझ विस्तार गरी प्रभावकारी बनाइनु पर्ने लगाएतका १० वटा महत्वपूर्ण जिम्मेवारी राज्यले बहन गर्नु पर्ने कुरा उल्लेख गरेका छन् ।
संघिय प्रान्तहरुको सीमाङकन गर्दा साधन स्रोत तथा आर्थिक पूर्वाधारहरुको न्यायोचित तथा सन्तुलित बाँडफाँड गर्नु महत्वपूर्ण सवाल रहने हुन्छ ।यद्यपी अर्थराजनीति र आर्थिक उन्नतिका सन्दर्भमा भूमि सबैभन्दा महत्वपूर्ण कडि हो र यसको व्यवस्थापन न्यायोचित र अधिकतम उत्पादनमूलक हुनपर्ने जोड उनको लेखमा पाइन्छ । मुलत यसलेखमा परम्पराबादी समाजवादका कमजोरी नदोहोरिने तथा नव उदारवादका ज्यानमारा सिद्दान्तबाट पनि बच्ने लोकतान्त्रिक मूल्यसहितको समाजवादी अर्थ राजनीतिक ढाँचाको पक्षमा जनमत सिर्जना गर्नसक्नु पर्छ भन्ने आग्रह पाइन्छ ।

पुस्तकमा समानता, संघियता र बहुसांस्कृतिक राष्ट्रबाद शमाजशास्त्री मुक्त सिंह तामाङको लेखलाइ अन्तिम तथा तेश्रो लेखको रुपमा समेटेको छ । करिब ५२ पृष्ठको लामो यो लेखलाइ मुख्य बिषय नै भन्दा फरक नपर्ला किन भने यो सबै भन्दा धेरै चर्चामा रहेको विषय हो संघियता र जातिय राज्य । लेखकले यस लेखमा करिब ६ वटा जति सवाल जस्तै
नेपालमा लोकतन्त्रको यात्रा र समानताको सवाल
समानताको लागी संघिय संरचना
संघियताको आधार‌ जातीय भाषिक र क्षेत्रिय समानता तथा पहिचानका जनआकांक्षा
बहुसंस्कृतिवादको अवधारणा
धर्म निरपेक्षताको कार्यान्वयन
राष्ट्रिय एकताको लागी नया राष्ट्रवाद आदि विषयलाई आगामी छलफल र बहसको लागी सहयोग पुग्ने उद्देश्यले राखीएको भनि उल्लेख गरेका छन् । मूलत लेख यीनै बिषयहरुमा केन्द्रित रहेको छ । नयाँ संविधानमा समानताको सिद्दान्तको आधारमा राज्यको समाबेशी संरचना र बहुसंस्कृतिक नीतिप्रति प्रतिबद्दताले नै राष्ट्रिय एकताको नयाँ आधार खोज्न सहयोगी भूमिका खेल्छ भन्ने लेखकको गतिलो तर्क छ । यो एउटा लेख मात्र नभै प्राज्ञिक ब्यक्तित्वको प्राज्ञिक पर्चा नै भन्दा पनि फरक पर्दैन जसलाई बिच बिचमा गरिएको कोड र लेखको अन्तमा दिइएको करिव ५ पाँनाको सन्दर्भ सुचीले प्रष्टाउदछ ।
जल्दो बल्दो बिषय तथा राजनैतीक बिचार बिस्लेषणको मन्थन समेटिएको यस पुस्तक बिभिन्न दृष्टिकोणले निकै गहन र प्रभावकारी छ । यो एउटा राज्यको पुनर्संरचना मात्र नभै राजनीतिशास्त्रका विभिन्न पक्षका आधारभूत कूराहरुलाई यसले समेट्न सफल छ । यद्यपी सुरक्षाको संरचना कस्तो हुने भन्ने सवाल पनि राजनैतिक बहस हो भन्ने चाही थाहा हुदा हुदै पनि छुटाएको जस्तो देखिन्छ ।

Monday, January 5, 2009

बित्यो नयाँ बर्ष पनि

खोइ अब कहाँ बाट सुरु गरु पो भयो हौ मलाइ त ...

फैलियुन जरा सरि चहानाका सिमाहरु
लेखियुन कथा सरि सुखद पलका यादहरु
नछुटोस साथ हाम्रो प्रण गरौ यसैमा रमाउने
दियो गत सालले पनि धेरै कुरा यसपालि नया बाटो समाउने

सबै जना साथीहरुले शुभकामना आ आफ्नै सैलिले दिइ सक्नु भयो, मेरो तर्फ बाट नयाँ बर्षको शुभकामना दिने बेलामा यो मेरो गाउले दाजु श्याम आचार्य को लाइनहरु ज्यादै मन परेकोले तपाइहरु सामु पनि ठेलि दिने बिचार गरे लौ नयाँ बर्ष को सबैलाई फेरि पनि शुभकामना ।

हरेक दिन बिहानी हुन्छ, दिउसो हुन्छ र साँझ पर्छ अनि एउटा सिङ्गो दिन बितेर जान्छ। यसै गरि हरेक दिन, हरेक महिना र बर्ष गर्दै आफ्नो जीवनका एक एक पानाहरु बिस्तारै पल्टदै जान्छन्। सधै झै सन् २००८ पनि बर्ष बित्यो नयाँ बर्ष २००९ को पुनरागमन भयो अझ भनौ न जीवनको एउटा पानो फेरी पल्टियो। यो अङ्ग्रेजी बर्ष कै नयाँ बर्ष भएतापनि अधिकांश नेपाली युवाहरुले पनि यसलाई निकै महत्वका साथ हेरीन्छ। अन्य बिशेष कार्यक्रम नवनाए पनि नयाँ बर्षको शुभकामना आदान प्रदान गरेर यो उत्सव मनाइन्छ, मैले पनि ब्यक्तिगत रुपमा यसरी नै मनाए । कतिपय साथीहरुले नयाँ बर्षको स्वागतको लागी मध्यरातको चिसो हावाको पनि पर्वाह नगरी जाग्राम बस्नु भयो होला,कतिपयले भब्य पार्टी आयोजना गरी मनाउनु भयो होला तर मेरो छुट्टै कहानी बन्यो यो सालको नयाँ बर्ष । यहा कहानी केहि नपाइ रहेको मौका पारी ब्लगमा ठेल्ने मेलोमेसो गरे मैले पनि ।
नयाँ बर्षको साँझ विशेष तयारी त के हुनु है म एक्लो मान्छेको । साथीहरु सँग नयाँ बर्ष मनाउन फिलिम हेर्न जाने योजना बनाउदै थियौ अर्को एउटा दशाहारी साथी पनि आईपुगेछ चौतारीमा (पहिला देखि हेर्ने मन छ भन्दा भन्दा हिजो पल्टमात्र हेरेको रहेछ उसले, मैले हामी सँग जानको लागी प्रस्ताव गरी हाले ­‌­­त्यो बेला त उसले नाई भनेन तर भोली पल्ट हेरी सके पछि मात्र थाहा पाँए दोश्रो हेराइ हो भनेर)। सल्लाह भयो हल जाने कुरा मिल्यो अब टिकट काट्न जान पर्ने भो मैले, घरमा पनि म एक्लै रहेको निउ पारी एक जना दिदीलाई सँगै बस्न आग्रह गरे। साँझ चौतारीबाट हतार हतार फर्क्यौ अनि खाना साना बनायौ,खायौ,नयाँ नेपालको नयाँ नियती चौबिसै घण्टा लोढ सेडीङ अब के गर्ने त थाल्यौ गफ गर्न । बर्षौ दिनको आ-आफ्नो कथा-कहानी, जिवनका घटना दुर्घटना साटासाट गर्दागर्दै रात त सुलुलु चिप्लिएछ गाँठे । ७ बजे टिकट काट्न काउन्टर पुग्नु पर्ने एक झिपिक नगरी ६ बजि सकेछ अब परेन फसाद?
सुतौ भने ६ बजी सक्यो,नसुतौ त निदाएकै छैन। लौजा हाम्रो पालो पनि झन उठेर चिया नास्ता गरी गयौ टिकट काट्न ।समयमै टिकट का‍टे पनि साथीहरु ढिला आई पुगेकाले झण्डै बस्ने सीटै नपाएको तै पनि हेरीयो गजीनी, साथमा अमिर जी को नया शैलीको केश स्टाइल अनि जीऊ भरी कोरीएको नया शैलीको प्रयोग। समग्रमा राम्रै बनेको रहेछ गजीनी । बाटामा अलिअलि खाजा खाए पनि खाना खान अलि समय मिलेन,हलबाट सिधै गयौ चौतारी ।

अफिसमा केही बेर काम गरेको के थिए बिदेशीएका छिमेकी दाइ आउनु भएको रहेछ। फोन आयो भेट्ने भए तुरुन्त धराहरा छेउ आइजा नत्र म भोली घर जादै छु । लौ नत के नै पो बिग्रेला र हउ आज एकै दिनमा फेरी भोली त दाइ पनि जानु हुन्छ भेट्न नी पाउदीन मनमा सोचे र हुइकिए दाइ अनि बैनीहरुलाई भेट्न। नयाँ बर्षको दिनमा बर्षौ पछिको दाई सँगको पुनर्मीलन गजब भयो तर फेरी बेलुकी घर आईपुगे लोडसेडिङको अध्यारो नै । के खोज्छस कानो आँखो भने झै भो नी निन्द्रा लागेको बेला बत्ति पनि नहुनु हतार पतार खाना खाएर सुतेको मान्छे बिहानको साढे ९बजे मात्र आँखा खुल्यो। बित्यास पर्यो कति थियो काम फेरी पनि लाइन छैन। मनमनै सोचे हरे यस्तो मान्छेले के गरी खाला ? जे होस यो बर्षको नयाँ बर्ष अबिस्मरणीय बन्न पुग्यो मेरो लागी। धन्यबाद कैलाश दिदी मेरो नयाँ बर्ष अबिस्मरनीय बनाइ दिनु भाको मा ।