Sunday, December 12, 2010

रहेनन भि सि लक्षिमान गुरुङ पनि

सँसारमा जति नै बहादुर भएर जन्मे पनि जन्मे पछि मर्नु पर्ने प्रकृतिक नियमलाई कसैले पनि उल्लङघन गर्न सकिन्न । यस्तै दोश्रो विश्व युद्दमा बहादुरी देखाई भिक्टोरिया क्रस विजेता लक्षिमान गुरुङ ज्युले पनि मृत्युको अगाडी घुडा टेक्नु परेको छ आज। ९५ बर्षको उमेरमा बेलायती समय अनुसार आज दिउसो करिव १२ बजेर ४० मिनेट जादा (12 December 2010) लण्डन स्थित ह्यामरस्मिथमा रहेको च्यारिङक्रस अस्पतालमा उहाको निधन भएको छ (स्रोत कान्तिपुर दैनिक साथै नविन पोख्रेल कान्तिपुर सँवाद दाता) । भु पु गोरखा सैनिकमा सकृय रहेका ब्यक्तिहरुको बहादुरीलाई कदर गर्दै बेलायति सरकारले बसोबास गर्न पाइने सुविधा उपलब्ध गराए पछि विर लडाकु लक्षिमान गुरुङ सन् २००८ सेप्टेम्वर देखी बेलायत स्थित चिज्विक वार मेमोरियल हाउसमा श्रीमती नाति र नातिनीका साथ बस्दै आएका थिए (स्रोत कान्तिपुर दैनिक) ।

Saturday, December 11, 2010

कविता

भन्थे सधै तिमी नै हौ मेरो आधा जिन्दगी
अनि तिमी नै मेरो बाच्ने आधार पनि
तिमी पाए हुन्थ्यो मेरो जिवन साकार पनि
टाढा छु कोशौ तिमी देखी आज
यो दिल तिम्रै हो मन मात्र हो मेरो
त्यसैले दोहोराउदै छु बिन्ति मेरो
तिमीले नै बुझ्दैनौ मेरो मुटुलाई
यो दिल यो जोवन मेरो तिम्रै लागी हो
विश्वास गर यो खाली सिउदो तिम्रै लागी हो
सम्झना आइ रहन्छ तिमी सँगका ति दिनहरु
अनुत्तरीत छु अझै किन यसरी साथ छोडी गयौ
गरेका बाचा बन्धन एकै चोटी तोडी गयौ
ब्यर्थ छ तिमी बिनाको यो मेरो जिवन
त्यसैले फेरी पनि भन्छु आउन मेरो जीवनमा
विताउने छु यो पल तिम्रै आगमनको पर्खाइमा

Friday, November 26, 2010

ग्लोबल दुनियाले दिएका केही झट्काहरु

ग्लोबल दुनियामा असम्भव पनि सम्भव हुन्छ रे कति पय हामीलाई गाह्रो लाग्ने वस्तुहरु पनि सामान्य ढँगबाट समाधान गर्नमा आजको ग्लोबल दुनियाले धेरै सहयोग गरेको छ । सँसार भरका करोडौ करोडौ मानिसलाई व्यापार ब्यवसाय गर्न होस वा घर परिवार साथीभाइ सँग गफगाफ गर्न या समय वितउन नै । इमेल इन्टरनेट बिना त अब मानिसहरु बाच्नै नसक्ने अवस्था आइ सक्यो अझ भनौ यो पनि मानव जिवनको लागी एक आधारभुत आवश्यकता झै भै रहेको छ । यसरी सोचेर हेर्दा लाग्छ सँसार परिवर्तीत भै रहेको छ हुनु पर्छ यसले ल्याइएका हरेक परिवर्तनले मानव जीवनलाई सधै सहयोग र फाइदा मात्र गर्छ । तर हरेक कुराको फाइदा मात्र त कहा हुन्छ र? फाइदा सँग सँगै कैयौ बेफाइदा पनि लुकेर बसिरहेका हुन्छन। हरेक कुराको दुई वटा पक्षहरु हुन्छन । हेर्दा सानो र सामान्य लाग्ने केही कुराले पनि कतिपय अवस्थामा हाम्रो जीवनलाई गाह्रो बनाइ दिन सक्छ ।

Saturday, November 20, 2010

गुजारिस

निकै दिन भएको थियो कला र मनोरञ्जनको कुरा नगरीएको अनि ब्लगका लागी कैलाश दिदी र बसन्त दाईको भाकामा टासो तथा खुराक पनि नमिली रहेको बेलामा मैले एउटा जुक्ति निकाले । छिमेक मै बसे तापनि साथी सँग भेट नभएको पनि निकै महिना भै सकेको थियो उनले निकै दिन देखि भेट्ने बाहाना खोजि रहेकी थिइन मैले पनि । भेट्ने मेसो बनाउने मेरै काम भयो सोचे साथी सँग भेट्ने तर कहा जाने त लौ जा .... योजना बनाए आफु पनि मनोरञ्जन लिने साथै अन्य साथीहरुलाई पनि बाड्ने त्यसर्थ लाग्यौ हिजो शनिवारको मौका पारी सफारी (यो एउटा यहाको प्राइबेट जस्तै सिनेमा हल)। सस्तो र सरल हल भएकोले सफारी नै हाम्रो रोजाइ भयो गोलमाल ३ हेर्ने उनको चाहाना रहेछ तर मैले पहिले नै हेरी सकेकी हुनाले मैले फेरी रोजे गुजारिस। उनि पनि सहमत भइन। त्यही हिजो हामीले लिएको मनोरञ्जनको थोरै हिस्सा यहाहरु सामु बाड्न चाहेकी छु ।

सम्पुर्ण कुराको सुविधा भोग गरेर पनि धेरै कुराको अभावबाट जिवनका चौधौ बसन्त पार गर्नु चानचुने कुरा होइन। एउटा सकुसल मन तर अशक्त शरिर लिएर वाच्नुको पिडा जसले भोग्छ उसलाई मात्र थाहा हुन्छ यो कुरा जति सुकै पिडामा डुबे पनि पिडित बाहेक अन्यले त्यति महसुस गर्न सक्दैन भन्ने कुरा गुजारिसले देखाउन खोजीएको नया विषय हो ।

गुजारिस, एक अनुरोध (भगवान देखी लोकका सम्पुर्ण मानव प्रति मृत्यु पाउ भनि गरिएको आग्रह / अनुरोध) हो यो। एक ब्यक्ति जो आफ्नो जीवनको हरेक पलहरु एक बन्द कोठा भित्र बसेर बिताउनु पर्दाको पिडाले छटपटिएर अन्य ब्यक्ति सामु मृत्युको भिख मागिरहेका हुन्छन। अझ एउटा अनौठो विषय मानव अधिकार भित्र मानिसले आफुले चाहे अनुसार जिउन र मर्न पाउने अधिकार भित्र उसले आफ्नो मर्न पाउने अधिकारको माग गरेर अदालत सम्म मुद्दा दाएर गराएका हुन्छन तर सर्वोच्च अदालतले मर्न पाउने अधिकार उसमा निहित छैन भनि बादी पक्षको हार बनाइ फैसला सुनाइएको हुन्छ। तर त्यो कार्यमा सघाउने एक अर्को बस्तु हुन्छ माया । जस्ले बढी माया गरेको हुन्छ त्यो ब्यक्तिको पिडाबाट उसलाई छुटकारा दिन जस्तो सुकै कार्य गर्न पनि मायाले सँभव गराउछ । माया/प्रेम, द्वन्द, स्नेह, मित्रता रिस राग , हासो / रमाइलो सबै कुरा समेटिएको चलचित्र बनेको छ भनेर भन्न सकिन्छ । अथवा स्याड लभ स्टोरी नै भए पनि अन्य चलचित्रमा जस्तो धनि केटा वा धनि केटीको बिचको माया प्रेम र परिवारको सदस्यहरुको अस्विकृतिलाई तोडेर भाग्ने खालको कथा यसमा छैन । मौन प्रेम र समर्पण लाई चित्रण गर्न सफल छ गुजारिस ।




एक कुसल जादुगर साथै एक कुसल रेडीयो प्रस्तोता इथम म्यास्करन्साको पुर्व जिवनको पुराना पानाहरुलाई पल्टाइ कथा अगाडी बढाइएको छ गुजारिसमा । उनि पहिला देश भरिकै कुसल जादुगर भएका हुनाले आफ्नो प्रतिद्वन्दि तथा दुश्मनको चाल बाट जादु देखाउने क्रममा नराम्रो गरी दुर्घटनामा पारिएको हुन्छ । त्यस पछि उनले आफ्नै निवासबाट हरेक विहान प्रत्यक्ष टेलिफोनिङ कार्यक्रम चलाइ समस्या दर्शाउने श्रोताहरुलाई सहि समाधानको बाटो देखाइ लाखौ श्रोताको मन जिति रहेका कार्यक्रम सञ्चालक आफै भने प्यारालाइसिसले सताइएर उनहो शरिरको आधा भाग (कम्मर देखि मुनी ) साथै दुवैहात चलाउन नसक्ने हुन्छन। जादु कला प्रस्तुत गर्ने क्रममा भएको दुर्घटनाका कारण उनले आफ्नो आधा शरिर गुमाइएको हुन्छ। उनको लागी एक केएर टेकर नर्स छिन सोफिया (एस्वर्या) उनैको सहारामा बाँकी जिवन अगाडी बढाइ रहेको हुन्छ । उनि पनि एक विवाहित महिला भए पनि १२ बर्ष देखि लगातार सेवा गरि रहदा मनमा एक खालको नजानिदो माया झाँगेको हुन्छ इथम प्रति । मुखले माया प्रस्तुत नगरेता पनि उनको ब्यवहारबाट थाहा पाउन सकिन्छ यो कुरा। उनको मनमा अपाङ‍्ग एक असक्त इथमको लागी पलाएका मायाको टुसाकै कारण आफ्ना पति सँग छोडपत्रको लागी अपिल गरि सकेकी हुन्छिन ।




हिन्दी चलचित्रहरुमा एक विशेष प्रकारको रोगलाइ बिशेष जोड दिएर कथालाइ प्रस्तुत गर्ने लहर चलेको छ जस्तै पा मा प्रोजेरिया अर्थात कलिलै उमेरमा बृद्द झै देखिने र मृत्यु हुने , गजिनीमा एन्टेरोग्रा एम्नेसिया अर्थात सर्ट टर्म मेमोरी लस्ट, माइ नेम इज खानमा एस्पेरगेर सेन्ड्रोम साथै ब्लाक तथा तारे जमिनपरमा पनि एक अनौठो खालको रोगलाई मात्र केन्द्र बिन्दु बनाइएको पाइन्छ यसै गरी गुजारिसमा पनि मुख्य पात्र इथम (हृतिक) लाई प्यारालाइसिस भएको देखाइएको छ । प्यारालाइसिसको पिडाले केही गर्न नसके पछि बाच्ने मन पटक्कै नहुने र मर्न लाइ अपिल गरिने यसलाई चलचित्रमा इथनेसिया (euthanasia) भनिएको छ।

अर्को रमाइलो पक्ष के भने बैगुनीलाई गुणले मार्नु पर्छ भन्ने सन्देश पनि यसमा झल्किन्छ । चलचित्रमा एक अर्को ब्यक्ति छन जो इथमको जादुको फ्यान हुन्छन । उनि इथमलाई भेट्न आएका हुन्छन तर इथम भेट्नु अगाबै सोफियाबाट गुज्रेर अगाडि बढ्नु पर्ने हुन्छ तर त्यति सहज हुदैन वातावरण किन भने इथमले मर्नको लागी इजाजत माग्ने कुरा पत्र पत्रिकामा छापिइ सकेको हु्न्छ उक्त कुरा सोफियाले पनि त्यही बेला सुनेकी हुन्छिन। तर पनि जवर्जस्ति घरमा छिरेर लुकेरै भए पनि उसले इथमलाई भेट्छन । उसलाई देख्ने बित्तिकै चिन्न सफल हुन्छन र कोठाबाट निकाल्नै लाग्दा उसले आफू सात बर्षको हुदा लिएको अटो ग्राफको सहायताले इथमको मन पगाल्न सफल हुन्छ । उसले अरु भन्दा पनि कला साधना सिक्ने जोस देखाएका हुनाले दुश्मनकै छोरो हो भन्ने थाहा हुदा हुदै पनि चेला बनाउन तयार हुन्छन र आफ्नै घरमा आश्रय दिइ आफ्नो जादुका सम्पुर्ण कला सिकाउछन् । अन्त्यमा उनले इथमबाट सम्पुर्ण जादुकला सिकिसके पछि भन्न लागेका हुन्छन तर सबैकुरा इथम आफैले भनि दिए पछि उ आफै छक्क परेर हेर्छन । इथमको यो सम्पुर्ण ब्यवहार देखि आफ्नो गल्तिको महशुस उनकै मिल्ने साथीलाई पनि हुन जान्छ र आत्मग्लानिले पोले पछि पश्चातापको आगोमा पस्दै भए पनि उही इथमको विहानी रेडियो कार्यक्रममा फोन गरी माफि माग्छन । दर्शकहरु यतिन्जेल सम्म इथमको दुर्घटनाबारे बेखवर नै हुन्छन। करिव करिव चलचित्रको तिन चौथाइ भाग सकिदा बल्ल इथमको एक्सिडेन्टको पर्दा खुल्छ नत्र किन र कसरी दुर्घटना भो कसरी उनलाइ प्यारालाइसिस भयो भन्ने नै थाहा हुदैन ।

स्पानिस फिल्म मार एदेन्त्रो (द सि इन्साड) को हु बहु कपि गरिएको भनेता पनि हिन्दी चलचित्रहरुमा राम्रो प्रगतिको नमुना देख्न पाइन्छ यहा। अग्रेजी चलचित्रकै कपि गरेर भए पनि नेपाली चलचित्रको तुलनामा हिन्दी चलचित्रले निकै नै प्रगति गरेको छ । अन्य चलचित्रको नक्कल गरेरै भएपनि राम्रो काम गर्न सक्नु पर्छ, यो कुरा गुजारिसले पुस्ट्याइएको छ भन्न सकिन्छ । उत्कृष्ट कला सँवाद, विश्व सुन्दरी तथा चर्चित अभिनेत्रि एस्वर्या राय तथा चर्चित अभिनेता हृतिक रोशनको शसक्त अभिनय ले जो सुकैलाई पनि तीन घन्टा बिताउन गाह्रो पर्दैन । उनको पहिल्यै देखीको नाँचको प्रसँसा त छदैछ एक अशक्त ब्यक्तिको रुपमा गरिएको अभिनय साच्चै दमदार छ । अभिनेत्री एस्वर्याको पनि कुनै कुरामा कमि छैन ।

कथा सान्दर्भिक छोटो छोटो गितहरुले पनि अझ सुन्दर वनाइएको छ। गोवाको सुन्दर तथा मनमोहक दृस्यहरुलाई कैद गरेर पर्दामा उतार्न तथा घर भित्रको सजावट देखि घर वरिपरिको वातावरणमा पनि निकै ध्यान दिइएको छ यसर्थ निर्देशकिय पक्ष पनि निकै शसक्त छ भन्न सकिन्छ । आजभोलीका नया चलचित्रहरुमा अस्लिल दृश्यहरु छ्यापछ्याप्ती राख्दा मात्र चलचित्र हिट हुन्छ भन्ने खालको मनोभावनालाई लपेट्दै सामान्य पहिरण तथा दृश्यहरु राखेर पनि राम्रो चलचित्र बनाउन सकिन्छ भन्ने सन्देश यसले दिन सक्छ ।


हरेक फिल्महरु कुनै न कुनै आरोपबाट मुक्त भने छैनन यसमा पनि केही कमजोरीहरु छन जस्तै इथमलाई कति गर्दा पनि चुरोटको अम्मली बाट छुटकारा गराउन नसके पछि साथै इथमलाई खुसी राख्नको लागी केयर टेकर सोफिया (एस्वेर्या) ले चुरोटको धुवा बुङबुङति उडाइएको दृश्य पहिले देखीनै बिवादमा परेको सुनिन्छ। खास गरि अहिलेको युवाहरुमा आफ्ना मन पर्ने हिरो हिरोइनको सिको गरेर चुरोट खाने बानि गर्ला भन्नु अलि हास उठ्दो नै लाग्छ मलाइ भने । एस्वर्याले खादा चाही नराम्रो सन्देश जाने तर हृतिकले पनि त खाई नै रहेका छन् उनका पनि त थुप्रै फ्यानहरु होलान उनले खादा चाही केही असर नगर्ला भनेर हामीले कसरी ठोकुवा गर्ने?


जे होस ! इथमलाई ज जस्ले ज्यादै धेरै माया गरेका हुन्छन उनिहरु सबै विस्तारै इथमको पक्षमा आउछन । तर इथमको मर्ने कुरालाई सहमत जनाएकै राति इथमकी आमाको पक्षघातका कारण मृत्यु हुन्छ । १२ वर्ष सम्म गुमनाम रहेकी भुतपुर्व प्रेमीकाले पनि उनको बचन तोडेर फोनमा कुरा गर्छिन साथै सहमति हुन्छिन। अन्तमा विवाहित सोफियाको छोडपत्र हुन्छ । इथमलाई मर्नको लागी अदालतले नदिएको इजाजत उनिले दिएर सहयोग गर्ने कुरा इथमलाई सुनाए पछि इथमलाई सोफियाले कति धेरै माया गर्दो रहेछ भन्ने कुरा थाहा पाउछ । जिवनको अन्तिम घडिमा आएर उनलाई बिवाहको प्रस्ताव गर्छन विवाह गर्छन र सोफियालाई श्रीमतिको दर्जामा राखेर अन्तिम जन्मदिनको पार्टी मनाउछन जहा उनको साथीहरु डक्टर तथा सुसारे सबै जनालाई धन्यवाद दिन पनि भ्याउछन । यसरी एउटा दुखान्तमा कथाको अन्त्य हुन्छ । कथाबस्तु तथा त्यहा राखिएका दृष्यहरुले गर्दा मन लोभिन्छ । समग्रमा अति नै उत्कृष्ठ नभए पनि राम्रो बनेको छ ।

तर ......जति सुकै राम्रो भएता पनि अर्काको भाषामा बनेको, अर्काको देशको ख्यातिलाई हामिले सलाम गरिरहनु पर्दा मनमा एउटा नमिठो दुखाइ बस्दो रहेछ। एउटा आफ्नै खालको मनमा खड्को बसि रहेको हुन्छ कि यस्तै स्तरिय चलचित्र नेपाली रङ्गमञ्चमा कहिले बन्ने होला ? बनि सके पनि हामि जस्ता देश वाहिर रहेका नेपालिहरुले रिलिज भएको हप्ता दिन तथा दुइहप्ता भित्र नै कहिले हेर्न पाइएला ? सायद बन्न पनि थालि सके होलान तर अन्तर्रराष्ट्रिय तहमा जस्तै सजिलै कुनै पनि इन्टरनेटको साइडमा भेट्न नपाइने हुनाले चलचित्र बनेको एक बर्ष सम्म कुरी रहनुको पिडा आफ्नै ठाउमा छदै छ । त्यसैले नेपाली सिनेजगतले पनि चाडै नै केही फरक र राम्रो चलचित्र बनाउन सकुन । हामीले पनि विश्व शामु हाम्रो पनि यो स्तरको चलचित्र थोरै लगानीमा बनाउन सकेका छौ भनेर भन्न पाउँ। वस् इतनिसि गुजारिस है मेरी उर्फ हिन्दी मै बोलिएछ मेरो सानो बिन्ति यति नै हो ।
जदौ ।

Friday, October 29, 2010

पराइ भुमीमा रहेर मनाइएको आफ्नो सुनसान चाडवाड

नेपालीहरु कला र सँस्कृतीका धनि छन उनिहरु जहा जान्छन आफ्नो सँस्कृती सँस्कार सँग सँगै वोकेर लगेका हुन्छन। विश्वमा प्राय नेपालीहरु पुगेका ठाउमा आफ्नो सँस्कृती तथा नेपाली समाजमा सिकेका सँस्कारहरु आफ्नै तरीकाले मनाउछन होला भन्ने मैले सोचेकी छु । होलान कति पय नेपालीहरुले सबै चाडवाडलाई उत्तिकै महत्वका साथ मान्दैनन जति महत्वका साथ उनीहरुका आफ्नो पारिवारीक पृष्ठभुमी बाट सिकेर आएका हुन्छन । मैले यहा भन्न लागेको कुरा के भने कतिपय नेपालीहरु विदेश छिरे पछि उहि वातावरणलाई अँगाल्ने र उनैको सिको गर्ने अनि आफ्नो मौलिक चाडवाडलाई विर्सने गर्छन । तर पनि प्राय हिन्दु समाजमा जन्मेर उहि सँस्कार र सँस्कृतिलाई पछ्याउदै आएका करिव आधा भन्दा बढी परदेशमै रहेका नेपालीहरुले दशै र तिहारलाई निकै महत्वका साथ हेरिन्छ ।
विगतका करिव पच्चिस तिसौ वसन्त पार गर्दा सम्म दशै तथा तिहारको रमझममा आफ्नै करेसा वारीमा वसेर मनाइ रहेकोले खासै त्यस्तो अनौठो लागेन । दशै तथा तिहारको त्यो उल्लासमय वातावरणलाई आफैले चुम्नु पाउदाको त्यो क्षण मानसपटलको एक कुनामा स्थगित गरेर यो पटक सार्है खल्लो दशै सकियो । फेसबुकका भित्ताहरुमा साथी भाइले दशैको शुभकामना छ्यास्छ्यास्ती आदान प्रदान गर्न थाले पछि मात्र ए दशै पो लागेछ जस्तो भयो । त्यस पश्चात जि डब्लु एस युके द्वारा दशै तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेका रहेछन जव त्यहा केही नेपालीहरुको जमघट र उनीहरुको मुख वाट दशैको शुभकामनाका ओइरोहरु ओकलिए पछि मात्र दशै लागेको भान भयो । कुन दिन घटस्थापना कुन दिन नवरात्री पनि थाहा नहुने यो भदौमा आँखा फुटेको गोरु जहिले हरियो देख्छ भने झै सधै एकैनासे वातावरणले कुन दिन कुन वार पनि थाहा नहुने म जस्ता अल्छे लस्याङ्ग्रेहरुलाई भने यस्तो भेटघाट कार्यक्रमले केही चाडवाडको झझल्को दिलायो। वल्ल याद आयो वितेका सालमा सवै परिवार सँगै बसेर मनाइएको दशै । अझ त्यो दशै तथा तिहारको शुभकामना साँझमा प्रस्तुत नेपाली नृत्यहरुले हाम्रो साथीहरुको याद पनि दिलायो ।

यहा विना प्रसँग नै भए पनि दशै तथा तिहारको शुभकामना आदान प्रदानको दिन खिचिएको तस्विरहरु यहाहरु सँग पनि बाड्ने जमर्को गरेकी छु । यो जि डब्ल्यु एस को समुह लगाएत हामी परदेशीएका नेपालीहरुको तर्फबाट दशै तथा तिहारको शुभकामना हो भनि सम्झि दिनु होला ।











यो चाडवाड भन्ने कुरा पनि मानिसको चहलपहल आफु वरीपरीको वातावरणमा छाउन थाले पछि मात्र अल्लि हो कि जस्तो हुदो रहेछ । अव फेरी तिहार लाग्नै लागी सकेछ घरमा पनि खासै तिहारको रन्को नभएकोले खै के खै के भै रहेको छ । अस्तिको दिन सम्म खासै केही वास्ता थिएन हिजो मात्र साउथहल पुगे भारतियहरुको भिडभाडमा दिपावलीको चहल पहल देखेर मात्र अहो साच्चै तिहार नजिकिएछ भन्ने भान भो । एउटा मनले घरको याद दिलायो । घरको वरिपरि ढकमक्क फुलेका ति सयपत्री र मखमली फुलले घरको वातावरण नै अर्कै भएको होला । वारी भरी सुन्तला र जुनारको बोटमा फल लागेर लटरम्म भएका होलान् । विगतका दशै तिहारमा काठमाण्डौबाट घर पुग्दा आमा वा ले आफूलाई भनेर राखी दिएको एउटा सिङ्गै बोट सुन्तला पनि यो पटक त अस्ती नै बेची सक्नु भयो होला । अव केही दिनमा आमाले ति फुलहरु टिपेर गासी घरको झ्याल तथा ढोकामा सजाउनु हुनेछ सधैका वर्षमा मैले त्यो दृष्यहरु आफ्नै आखाले देख्न पाएकी थिए यो साल त त्यो पनि देख्न पाउदिन । हरेक साल दशै तथा तिहारमा मेरी आमा हामी छोरा छोरीको आगमनलाई स्वागत गर्न आतुर भएर रहनु हुन्थ्यो त्यो पनि यो आउने तिहारमा सुनसान हुने भएको छ । हामी छ जना छोरा छोरी मध्यमा सवै भेला नभए पनि करिव ४ जना त भेला हुन्थ्यौ नै यो दशै र तिहार त सुनसान नै रहने भयो । जे होस बाबा र आमाको जीवनमा यही वर्ष सुनसाने चाडवाड आएको छ ।
चाडवाड साथी भाइको कुराले अझ मन तुल्वुलाइ रहेको छ। सधैको झै दाइ भाइको पुजा साथै दे्उसी भैलोको रमझम त्यो साँझहरु । साथीहरु सँग हुलाकटोलको त्यो हाउजी खेल्न गएका कुराहरु अझै पनि मानस्पटलमा ताजै भएर उभीएको छ । हुनत एक तरिकाले मेरो लागी यो तिहार सधैको भन्दा फरक त छ नै अझ अर्को कुरा एक दशक देखी भाई टिका लगाउन नपाए रहेको दाइ सँग तिहार मनाउने तयारीमा जुटेकी छु तर पनि पराइ भुमीमा खै कता के नमिल्ने के नमिल्ने ? यदि यो तिहारमा दाई र म सवै परिवार सँग हाम्रो नेपालको घरमा हुन पाएको भए......मनको तृष्णा न हो कहिले पनि सन्तुष्टि त हुदैन तर पनि यो भै दिए त्यो भै दिए भन्ने चाहाना हुदो रहेछ ।

जे होस हाम्रो समाजले सिकाएका सँस्कृती सँस्कार आफ्नो आफ्नो तरिकाले आफुले सक्ने किसीमले मनाउनै पर्छ । जो जो परिवार सँग हासी खुसिले यो चाडवाड मनाइ रहनु भएको छ उहाहरुलाइ पनि शुभकामना जो जो म जस्तै विरानो भुमीमा मै जस्तो कुन दिन कुन पुजा कुन दिन के हो भएर पनि चाडवाड मनाइ रहनु भएको छ उहाहरुलाई पनि शुभकामना ।

Thursday, October 14, 2010

मानस पटलमा उब्जिएका अनुभुतिका सृजनाहरु

मनका स्पन्दनहरु छाल बनि छछल्कि दिदा
भौतिक बादी मनहरु त्यसै त्यसै भौतारिदो रहेछ
अशख्य अनुतरित प्रश्नको बोझले पिरोलि दिदा
तन त्यसै त्यसै अशान्तिका पहाड उक्लिदो रहेछ

माया नामको जालले अनायासै पासो हालेर अल्झाई दिदा
आधी बेहरीको तुफान खै कताबाट आफै मडारिदो रहेछ
आन्तरिक द्वन्दको आसिम आकृति ज्वारभाटा बनि निस्कि दिदा
आस्था विश्वास र भरोसा माथीको समिश्रण कता कता बदलिदो रहेछ

जैविक गतिविधी भित्रका चिन्तन र मननले मन पिरोलि दिदा
समाजका दर्शन र आदर्श जस्ता मृगतृष्णाहरु भ्रममा बद्लिदो रहेछ
अन्तरमनका अशिमित चाहानाहरुको पुन्तुरोहरु अनायासै खोलिदा
विवेक शुन्य मनहरुले अहँकार मच्चाउदै अनुभुतिका रँगहरु टुक्राउदो रहेछ

बिवेक शुन्य मनहरु माझ अहँकारको हुडाँर डकार गर्दै गर्दा
जिवनका आवर्तन र परावर्तनको सँयुक्त रुप प्रतिविम्वित हुदो रहेछ
हजार स्मृतिहरु मानसपटलमा युद्द मैदान बनाई गस्ति गर्न थालि दिदा
सपना बनि हठाथ जिन्दगीले आफैलाई ब्यँग्य हान्दो रहेछ ।

Friday, October 8, 2010

ठमेलको झझल्को दिलाउने क्यामडेन टाउन


पर्यटकीय तथा व्यापारीक दृष्टिकोणले एक प्रशिद्दि कमाएको ठाउ हो काठमाण्डौको ठमेल, बिदेशी पर्यटक(कुइरे)हरुको लागी बिशेष टार्गेट गरीएको ठाउ भएकोले यहा पाइने समानहरु निकै महँगा हुन्छन् यस्तै ठाउ लण्डनमा पनि रहेको छ । लण्डनमा रहने प्राय मानिसहरुको लागी यो नाम (क्याम्डेन टाउन) नौलो होइन । अझ गोथिक लभर साथै पश्चिमा शैली (पँक स्टाइल) मन पराउनेहरुको लागी अत्यन्तै उपयुक्त ठाउ मानिदो रहेछ। सस्तो सस्तो हेर्दा राम्रै जस्तो देखिने समानहरु भएकोले होला वजार निकै भिडभाड नै हुदो रहेछ । यहा थोरै समय भित्र नै सादा टि सर्टहरुमा आफुलाइ मन परेको कुराहरु प्रिन्ट गर्न पनि पाइने रहेछ ।



मसिनो गल्ली भिडभाड चिरेर हेर्दा दुरुस्तै ठमेल जस्तो लाग्ने यस ठाउको अर्को पनि विशेषता रहेको छ धेरै नेपालीहरुको पसल पाइनु । गल्ली गल्लिमा बुट्टेदार तन्नाहरु टागेको देख्दा तथा कपडाहरु बाटो भरी झुण्डाइएको देख्दा लाग्छ म ठमेलकै कुनै गल्लीमा डुली रहेछु । यहा मसिनो गल्ली भित्र सानो सानो कोठामा कपडा पसल देखी हरेक प्रकारको पसलहरु छन । अधिकाँश नेपालीहरुको पसल रहेकाले नेपाली ग्राहकहरु पनि निकै नै आउदो रहेछ । वसन्तपुरको नाइट मार्केट झै लाग्ने मसिनो टहरा भित्र कैयौ नेपाली दाजुभाइ तथा दिदीबहिनीले पनि बिभिन्न प्रकारका पसल खोलेका रहेछन । आफु पनि नेपाली भएको नाताले सरसमान किन्न आउने ग्राहकहरुलाइ पनि ठमेलकै जस्तो व्यवहार गरिदो रहेछ ।



लण्डन आइकन सरसमान किनमेल गर्ने बेलामा मोल तोल (बार्गेनीङ) नगरेको हुनाले यहा पुग्दा एकछिन त अनौठो नै लाग्यो । यहा हरेक समानको भाउ ब्यक्तिअनुसार फरक पर्ने रहेछ । जस्तै हामी नेपाली भएकोले हाम्रो लागी छुट्टै भाउ र बिदेशीहरुको लागी छुट्टै भाउ हुने रहेछ । हामी नेपाली भएकोले नेपालीहरुको पसलमा केही सरसमान किन्ने हो भने तपाइ नेपाली हुनुहुदो रहेछ तपाइहरुको लागी भने यति तर अरुको लागी त यतिमा आउदैन भनिदो रहेछ । सायद नेपाली नै भएकोले हो वा साच्चै सामान पनि सस्तै पाइने हो मलाइ अन्य ठाउको भन्दा यहाको मुल्य भने निकै सस्तो लाग्यो । खानेकुराहरु देखि जुता चपल वा लत्ता कपडा सबै यहा अन्य मलमा भन्दा निकै सस्तो रहेको छ । हुन त अन्य मलमा मलको भाडा नै महँगो तिर्न पर्ने हुनाले हो वा अन्य कारण पनि छन त्यो त थाहा भएन तर अचाकल्लि महँगोले पागल हुन लागेको वेलामा यहा पुग्दा भने शान्तीको स्वास फेरे मैले पनि एक छिन।



अझ यहा पुग्दा रमाइलो लागेको अर्को कुरा त प्राय यहाका नेपाली पसलेहरु स्टुडेन्ट भिजा (बिधार्थी प्रवेशाज्ञा) लिएर आएकाहरु मानिसहरु रहेछन । उनिहरुले गरेको प्रगती देखेर निकै खुसी लाग्यो किन भने कति पय नेपाली विधार्थीहरु आएको एक वर्ष भै सक्दा पनि अझै सम्म काम नपाएर भौतारीएर हिडिरहेको बेला उनिहरुले त आफुले व्यापार गरेरै उनीहरुका साथीभाइ तथा आफन्तहरुलाई पनि रोजगारको अवसर दिन सफल छन । व्यापार ब्यवासाय राम्रै चल्दो रहेछ एक जना पसले दाईले भन्दै थिए "अरुको खटाइमा घण्टा हिसावले पैसा कमाएर त खै कसरी वाच्नु यो ठाउमा" भनाइको आसयबाट हामी के सजिलै बुझ्न सक्छौ भने उनीहरुको व्यापार नाफामा नै चल्दो रहेछ । घुमघामको क्रममा विधार्थी भिजामा तथा डिपेन्डेन्ट भिजामा वेलायत छिरेका केही मानिसहरु सँग पनि भेट भएको थियो । यहि सिलसिलामा उनिहरुसँग केही रमाइलो कुराकानी भयो आफ्नो देशको भनि सके पछि आफ्नै प्रकारको आत्मियता जहा पनि हुन्छ नै । भर्खर वेलायत छिरेका केही डिपेन्डेन्टहरु पनि भेट भएको थियो । प्रसँग वस कुराकानी निस्क्यो र मैले भनि हाले तपाइहरु त निकै भाग्यमानी हुनुहुदो रहेछ आउने हप्ता मै काम पाइ हाल्नु भएछ हास्दै जवाफ दिए पसले मेरो गाउले दाई हुन नी त । अर्काले पनि त्यसै भन्दै थिए पसले दाइ मेरो साथीको दाई हुन नि त । यसो कुरोको चुरो बुझ्दा केही आपत्तीमा परेका आफन्तहरुलाई पनि सहयोग गरेर मानविय धर्म नै गरेका रहेछन यि पसलवाला दाइहरुले त।




हुन त पहिला देखी नै सुन्दै आएको कुरो हो कि नेपालबाट वेलायत छिरेका ब्यक्तीहरुले यदि सकिन्छ भने घर किन्नु भन्दा ब्यापार ब्यावसाय गर्नु उचित हुन्छ । यसो बुझ्दा वास्तविक कुरो रहेछ यो । यो ठाउमा घर किन्नु तथा गाडी चढ्न महँगा महँगा मोवाइल तथा ल्यापटप किन्नु कुनै ठुलो कुरो होइन । अलि अलि पैसा जम्मा गर्न सक्नु र सानो जागीर हुनु हो भने यहा घर सजिलै किन्न सकिन्छ किन भने मोर्गेजमा घरहरु टन्नै पाइन्छन । साथै गाडिको लाइसेन्स निकाल्नु सक्यो भने दुइ सय पाउण्ड देखि माथी पुराना काम चलाउन मिल्ने गाडिहरु प्रसस्तै किन्न पाइन्छन । अथवा नया नै लिने हो भने पनि इन्सटलमेन्टमा थरिथरिका गाडीहरु प्रसस्तै पाइन्छन । मोवाइल तथा ल्यापटपको त झन कुरै छाडौ । महिनागत रुपमा १० पाउण्ड देखी माथी (मोवाइल सेट तथा सुविधा हेरी हेरी)थरि थरिका मोवाइल छानेर लिन पाइन्छन । जे सुकै होस सानो तिनो व्यवसाय गरे पनि अरुको भुमीमा पनि आफनै शैलीले बाच्नु अत्यन्तै राम्रो हो ।



अन्य दिन पनि निकै चहल पहल हुने यो ठाउमा विशेषत शनिवार र आइतवार अत्ती नै भिड हुने गर्दछ । मैले केही आफुलाई राम्रो लाग्ने ठाउको तस्विर लिएकी छु आउनुहोस तपाइहरु पनि एक नजर लगाउनुहोस ।














क्याम्डेन टाउनका नेपालीहरुका पसलहरु