Tuesday, June 10, 2008

सुन्दर प्रकृतिको छटा उत्तरपानी

उत्तरपानीस्थित प्राविधिक शिक्षालय ।

उत्तरपानीको मुख्य बजार (हिजलेबजारबाट छिन्ताङतर्फ जाँने बाटो)

धनकुटा एउटा प्राकतिक सुन्दरताले धनी ठाँउ हो भन्दा खासै फरक नपर्ला, जिल्ला भित्र रहेका भेडेटार, हिले, कुवापानी, पाख्रीवास नाम नसुन्ने ब्यक्तिहरु कमै पान्छन्। तसर्थ अझ यसलाई केलाएर हेर्दा अन्य ठाँउहरु पनि हामी पर्यटकीय क्षेत्रको रुपमा पाउन सक्छौ। यसै जिल्ला भित्र पर्दछ सुन्दर ठाउँ उत्तरपानी जुन जिल्लाको चुङवाङ गा.वि.स. अन्तगर्त पर्दछ। तर यो सतही रुपमा लाम्चो आकारले बगेर रहेको वस्तीको कारण भौगोलीक विभाजन गर्ने क्रममा आधा पाटो बेलहारा गा.वि.स. र आधा पाटो चुङवाङले समेटेको छ। उत्तरपानी सदर मुकामबाट १८ कि.मी. गाडीको यात्रा तय तरे पछि पुग्न सकिन्छ। यहाँबाट उत्तर तिर मकालु हिमाल र दक्षिणतिर धनकुटा बजारको मनमोहक दृष्यलाई नियाल्न सकिन्छ। यो एउटा पहाडी क्षेत्रको रमणीय स्थल भएको हुनाले यहाँ पुगेका जो कोही व्यक्ति पनि एक छिन आफ्नो पीरव्यथा भुलेर त्यहाँ रहेको प्रकृतिको सुन्दरतासँगै हराउन पुग्छन्। लाग्छ त्यहाँ पुग्दा जो कोहीलाई कि ति लम्पसार परेर रहेका माछापोखरी, वरीपरी डाडाँमा लहरै उभिएका सल्लाका बोटहरु अनि छेउमा अनि छेउमा रहेको दुर्गा मन्दिरले आगन्तुकहरुलाई स्वागत गरिरहेको भान हुन्छ। अझ प्राविधिक शिक्षालय परिसरमा रहेको हेलिप्याडमा पुगेर सबै ठाउँ नियाल्न पाउँदा त स्वर्गको टुक्रा नै खसेको रहेछ भन्ने अनुभूति हुन्छ। त्यहाँ वरिपरि रहेका चियाको बुट्टा लहरै सजिएर रहेका ति सल्लाका रुखहरुले जो कोहिलाई सँगै बसेर फोटो खिचौं है भनि रहेको भान हुन्छ।

पर्यटकिय दृष्टिले पूर्वाञ्चलकै एउटा रमणीय ठाँउ उत्तरपानी पिकनिक स्पोर्टको रुपमा वर्षौदेखि विकसित हुदै आएको छ। धनकुटा जिल्लाको सदरमुकाम धनकुटा बजारबाट १३ कि.मि.को सडक यात्रा पछि हिले बजार, हिले बजारबाट फेरि ५ कि.मि. पश्चिमतिर सडक यात्राको तय पश्चात सजिलै पुग्न सकिन्छ। विशेष गरी वर्षायाममा बाटोको कठिनाईले हिलेबाट सवारी साधन नपाइने हुनाले २०-२५ मि.को पैदल यात्रापछि पनि त्यस ठाँउमा पुग्न सकिन्छ। ति १८ कि.मि. को बिचबिचमा पाइने चियाको बगान, डाँडाकाँडाले पनि उत्तिकै मन आकर्षित पारेको हुन्छ। अझ ति चिया बगानमा लहरै बसेर चियाका कलिलो मूना टिप्दै गरेको दृष्यहरुले नव आगन्तुक पाहुनाहरुको मन सजिलै जित्न सकिन्छ।

यसलाई पर्यटकीय क्षेत्र मात्र नभै अन्य क्षेत्रले पनि महत्वपूर्ण स्थलको रुपमा लिन सकिन्छ। पहाडी क्षेत्रको सानो गाँउ नै भएतापनि यहाँ यातायात, सञ्चार, शिक्षा क्षेत्रले सुविधा युक्त नै छ। यहाँ बोर्डिङ्ग, अपाङ्ग स्कूल, टेक्निकल स्कूल, प्राविधिक शिक्षालय पनि रहेको छ। जहाँ जे.टि.ए. र जे.टि. दुईवटा कोर्षको पढाई हुन्छ। यी विषय पढ्‍नका लागि नेपाल गणराज्यभरिका विद्यार्थीहरु एक ठाउँमा जम्मा भएको पाइन्छ। यस मध्ये शिक्षालयमा २ वटा विषय कृषि र पशुसम्बन्धि अध्ययन अध्यापन गरिन्छ। यहा दशकक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई दुई वर्षे कोर्ष र एस.एल.सी उत्तीर्ण गरिसकेकाहरुका लागि एक वर्ष छुट्टाछुट्टै कोर्षहरु छन्। यहाँ अध्ययन गर्न आउने विद्यार्थीको सहुलियतको लागि छात्रावासको पनि छुट्टाछुट्टै व्यवस्था छ। छात्रवास अगाडी ४ वटा ठूला ठूला पोखरीहरु छन् जहाँ विभिन्न जातका माछाहरु पालिएका छन्। ति पोखरीलाई अझ सुन्दर बनाउन वरिपरि विभिन्न जातको गुलाफका फूल रोपेर सिंगारिएका छन् पोखरीको विचबाट छात्रावास तथा कर्मचारी आवास आवत जावत गर्ने बाटो बनाईएको छ। मानिसको आवतजावतमा माछाहरु एक आपसमा साउती गरिरहेका झै दृष्यहरु देख्न सकिन्छ। कृषि र पशु दुवै क्षेत्रको अध्ययन अनुसन्धान उत्तरपानीमा हुने हुनाले वारिपारिका गाउँका किसानहरु निकै आभान्वित भएका छन्। गाइवस्तुलाई कुनै प्रकारको रोगलागेमा वा अन्य कृषिसम्बन्धि नयाँ जानकारी चाहिएमा उनीहरुलाई नयाँ नयाँ खेती गर्ने प्रविधि वा नयाँ विउ विजनको जानकारी लिन धेरै सजिलो परेको छ।

पर्यटकीय हिसाबले पनि यो उत्तिकै महत्वपूर्ण छ। यहाँबाट दक्षिणतिर झरेको अरुण नदिको दृष्य र पूर्व दक्षिण हुदै सप्तकोशीसम्म मिसिन पुगेको तमोर नदीको नागबेली दृष्यहरु उत्तिकै मनमोहक छ। मकालु हिमालको न्यानो काख साथै पश्चिमी क्षितिजमा देखिने ट्‍याम्के डाँडो, अझ हिउँद महिनातिर डाँडै ढाक्ने हिउको सेताम्मे दृष्य, भोजपुरको ति भिरालो पाखामा अवस्थित घोरेटार बजार र नजिकै रहेको थामडाँडा तथा त्रिसुले डाँडा, पाख्रीवासको रङ्गिचङ्गि भित्ताभरि टाँसिएको घरहरु अलि तल देखिने ति मुगाफाँटलाई पनि सजिलै अवलोकन गर्न सकिन्छ। यहिबाट पूर्वतिर देखिने कुवापानीको चियाबगान, तल देखिने नागबेली सडक र लहरै रहेको धनकुटा बजार पनि उत्तिकै मनमोहक छन्। छिमेकी गाउँहरु खोकु, छिन्ताङ्गका खाद्यान्नका ढुवानी गरी रहेका भरियाहरुको ताँती, मौसम अनुसारको फलफुल बेच्न बाह्रैमास त्यही उत्तरपानी भएर जाने गर्दछन्। यहाँ मौसम अनुसारको फलफुलको स्वाद न्यूनतम मूल्यमै लिन सकिन्छ जस्तै आँप, केरा, लिच्चि तथा नेपालमै विख्यात खोकुको सुन्तला यही बाटो भएर बेचबिखनको लागी हिले तथा अन्य बजार लाने हुदा यहाँ पनि सुफत मुल्यमा किन्न पाइन्छ। यहिबाटो भएर धनकुटाकै चर्चित मन्दिर छिन्ताङ्ग देवीथानसम्म पुग्न सकिन्छ। यहाँ विशेषगरी तामाङ्गहरुको बस्तिको बाहुल्यता पाइन्छ। तर मिश्रित बसोबास भएका कारण राई, लिम्बू, मगर, नेवार, ब्राम्हण, क्षेत्री तथा अन्य दलितहरुको पनि बसोवास पाइन्छ। विकासको हिसाबले सुस्त रुपमा अघि बढिरहेको यो स्थान अहिले देशको विषम परिस्थितिका कारण बसाई सर्ने क्रमले दिनानुदिन शहरीकरणतर्फ उन्मुख भइरहेको छ तर यसलाई संरक्षण र सम्बर्द्धन गर्नका निमित्त शहरीकरणले मात्र पुग्दैन। यस क्षेत्रलाई पर्यटकीय क्षेत्रमा विकास गर्ने हो भने सडक कालोपत्रे गर्नु, दैनिक दिवा तथा रात्री (काठमाडौं सम्म) थप बस सेवा सञ्चालन गर्नु तथा त्यहाँ रहेका केही होटल तथा लजको संख्या बढाउनु नितान्त आवश्यक देखिन्छ। जसले गर्दा हामी चुङ्गवाङ्गबासीमात्र नभै सम्पूर्ण नव आगन्तुक पाहुना तथा त्यस क्षेत्र भएर टाढाटाढासम्म जाने यात्रीहरुलाई समेत लाभान्वित गर्ने गर्छ।

4 comments:

Basanta Gautam said...

Thank you for the information. I knew a lot about Dhankuta from your post.

Administrator,Dummali said...

अत्ति उत्कृष्ट लेख अहिले सम्म धनकुटा डट कमले पनि एस्तो लेख उजागर गरेको थिएन, हृदय देखि नै धन्यवाद,
अनि धनकुटाको चिन्ताङ ले २०३६ साल कार्तिक माहिना लाई बिर्सेको छैन । वि.सं.२०३६ सालको छिन्ताङ हत्याकाण्ड ले छिन्ताङबासीहरु अभिभावक विहीन बनाएको थियो ।

manu said...

tdthank you for comment both of you, hajur pakkai pani 2036sal ma lageko chot ajhai jati bhayeko chaina yo chintang matrako ghatana nabhai sampurna dhankuta basi ko lagi dukhad chhen baneko thio so dhankuteli sabai nai avivabak bihin huna pareko thio.
thankyou for visiting onceagain

sangamkirati said...

मनु जि साह्रै राम्रो लेख्हरु राख्नु भएको रहेछ । अनि धनकुटाको ईतिहास हरुलाइ धनकुटाबासिले मात्र होइन छिमेकी जिल्ला बासिले ले पनि भुल्देइना होला,
हुनता अनुमती बिना नाइ तपाईंको ब्लग हेरेको थिए, भुल भ्ए सारी है
म सँगम किरती भोजपुर,