Friday, October 29, 2010

पराइ भुमीमा रहेर मनाइएको आफ्नो सुनसान चाडवाड

नेपालीहरु कला र सँस्कृतीका धनि छन उनिहरु जहा जान्छन आफ्नो सँस्कृती सँस्कार सँग सँगै वोकेर लगेका हुन्छन। विश्वमा प्राय नेपालीहरु पुगेका ठाउमा आफ्नो सँस्कृती तथा नेपाली समाजमा सिकेका सँस्कारहरु आफ्नै तरीकाले मनाउछन होला भन्ने मैले सोचेकी छु । होलान कति पय नेपालीहरुले सबै चाडवाडलाई उत्तिकै महत्वका साथ मान्दैनन जति महत्वका साथ उनीहरुका आफ्नो पारिवारीक पृष्ठभुमी बाट सिकेर आएका हुन्छन । मैले यहा भन्न लागेको कुरा के भने कतिपय नेपालीहरु विदेश छिरे पछि उहि वातावरणलाई अँगाल्ने र उनैको सिको गर्ने अनि आफ्नो मौलिक चाडवाडलाई विर्सने गर्छन । तर पनि प्राय हिन्दु समाजमा जन्मेर उहि सँस्कार र सँस्कृतिलाई पछ्याउदै आएका करिव आधा भन्दा बढी परदेशमै रहेका नेपालीहरुले दशै र तिहारलाई निकै महत्वका साथ हेरिन्छ ।
विगतका करिव पच्चिस तिसौ वसन्त पार गर्दा सम्म दशै तथा तिहारको रमझममा आफ्नै करेसा वारीमा वसेर मनाइ रहेकोले खासै त्यस्तो अनौठो लागेन । दशै तथा तिहारको त्यो उल्लासमय वातावरणलाई आफैले चुम्नु पाउदाको त्यो क्षण मानसपटलको एक कुनामा स्थगित गरेर यो पटक सार्है खल्लो दशै सकियो । फेसबुकका भित्ताहरुमा साथी भाइले दशैको शुभकामना छ्यास्छ्यास्ती आदान प्रदान गर्न थाले पछि मात्र ए दशै पो लागेछ जस्तो भयो । त्यस पश्चात जि डब्लु एस युके द्वारा दशै तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेका रहेछन जव त्यहा केही नेपालीहरुको जमघट र उनीहरुको मुख वाट दशैको शुभकामनाका ओइरोहरु ओकलिए पछि मात्र दशै लागेको भान भयो । कुन दिन घटस्थापना कुन दिन नवरात्री पनि थाहा नहुने यो भदौमा आँखा फुटेको गोरु जहिले हरियो देख्छ भने झै सधै एकैनासे वातावरणले कुन दिन कुन वार पनि थाहा नहुने म जस्ता अल्छे लस्याङ्ग्रेहरुलाई भने यस्तो भेटघाट कार्यक्रमले केही चाडवाडको झझल्को दिलायो। वल्ल याद आयो वितेका सालमा सवै परिवार सँगै बसेर मनाइएको दशै । अझ त्यो दशै तथा तिहारको शुभकामना साँझमा प्रस्तुत नेपाली नृत्यहरुले हाम्रो साथीहरुको याद पनि दिलायो ।

यहा विना प्रसँग नै भए पनि दशै तथा तिहारको शुभकामना आदान प्रदानको दिन खिचिएको तस्विरहरु यहाहरु सँग पनि बाड्ने जमर्को गरेकी छु । यो जि डब्ल्यु एस को समुह लगाएत हामी परदेशीएका नेपालीहरुको तर्फबाट दशै तथा तिहारको शुभकामना हो भनि सम्झि दिनु होला ।











यो चाडवाड भन्ने कुरा पनि मानिसको चहलपहल आफु वरीपरीको वातावरणमा छाउन थाले पछि मात्र अल्लि हो कि जस्तो हुदो रहेछ । अव फेरी तिहार लाग्नै लागी सकेछ घरमा पनि खासै तिहारको रन्को नभएकोले खै के खै के भै रहेको छ । अस्तिको दिन सम्म खासै केही वास्ता थिएन हिजो मात्र साउथहल पुगे भारतियहरुको भिडभाडमा दिपावलीको चहल पहल देखेर मात्र अहो साच्चै तिहार नजिकिएछ भन्ने भान भो । एउटा मनले घरको याद दिलायो । घरको वरिपरि ढकमक्क फुलेका ति सयपत्री र मखमली फुलले घरको वातावरण नै अर्कै भएको होला । वारी भरी सुन्तला र जुनारको बोटमा फल लागेर लटरम्म भएका होलान् । विगतका दशै तिहारमा काठमाण्डौबाट घर पुग्दा आमा वा ले आफूलाई भनेर राखी दिएको एउटा सिङ्गै बोट सुन्तला पनि यो पटक त अस्ती नै बेची सक्नु भयो होला । अव केही दिनमा आमाले ति फुलहरु टिपेर गासी घरको झ्याल तथा ढोकामा सजाउनु हुनेछ सधैका वर्षमा मैले त्यो दृष्यहरु आफ्नै आखाले देख्न पाएकी थिए यो साल त त्यो पनि देख्न पाउदिन । हरेक साल दशै तथा तिहारमा मेरी आमा हामी छोरा छोरीको आगमनलाई स्वागत गर्न आतुर भएर रहनु हुन्थ्यो त्यो पनि यो आउने तिहारमा सुनसान हुने भएको छ । हामी छ जना छोरा छोरी मध्यमा सवै भेला नभए पनि करिव ४ जना त भेला हुन्थ्यौ नै यो दशै र तिहार त सुनसान नै रहने भयो । जे होस बाबा र आमाको जीवनमा यही वर्ष सुनसाने चाडवाड आएको छ ।
चाडवाड साथी भाइको कुराले अझ मन तुल्वुलाइ रहेको छ। सधैको झै दाइ भाइको पुजा साथै दे्उसी भैलोको रमझम त्यो साँझहरु । साथीहरु सँग हुलाकटोलको त्यो हाउजी खेल्न गएका कुराहरु अझै पनि मानस्पटलमा ताजै भएर उभीएको छ । हुनत एक तरिकाले मेरो लागी यो तिहार सधैको भन्दा फरक त छ नै अझ अर्को कुरा एक दशक देखी भाई टिका लगाउन नपाए रहेको दाइ सँग तिहार मनाउने तयारीमा जुटेकी छु तर पनि पराइ भुमीमा खै कता के नमिल्ने के नमिल्ने ? यदि यो तिहारमा दाई र म सवै परिवार सँग हाम्रो नेपालको घरमा हुन पाएको भए......मनको तृष्णा न हो कहिले पनि सन्तुष्टि त हुदैन तर पनि यो भै दिए त्यो भै दिए भन्ने चाहाना हुदो रहेछ ।

जे होस हाम्रो समाजले सिकाएका सँस्कृती सँस्कार आफ्नो आफ्नो तरिकाले आफुले सक्ने किसीमले मनाउनै पर्छ । जो जो परिवार सँग हासी खुसिले यो चाडवाड मनाइ रहनु भएको छ उहाहरुलाइ पनि शुभकामना जो जो म जस्तै विरानो भुमीमा मै जस्तो कुन दिन कुन पुजा कुन दिन के हो भएर पनि चाडवाड मनाइ रहनु भएको छ उहाहरुलाई पनि शुभकामना ।

Thursday, October 14, 2010

मानस पटलमा उब्जिएका अनुभुतिका सृजनाहरु

मनका स्पन्दनहरु छाल बनि छछल्कि दिदा
भौतिक बादी मनहरु त्यसै त्यसै भौतारिदो रहेछ
अशख्य अनुतरित प्रश्नको बोझले पिरोलि दिदा
तन त्यसै त्यसै अशान्तिका पहाड उक्लिदो रहेछ

माया नामको जालले अनायासै पासो हालेर अल्झाई दिदा
आधी बेहरीको तुफान खै कताबाट आफै मडारिदो रहेछ
आन्तरिक द्वन्दको आसिम आकृति ज्वारभाटा बनि निस्कि दिदा
आस्था विश्वास र भरोसा माथीको समिश्रण कता कता बदलिदो रहेछ

जैविक गतिविधी भित्रका चिन्तन र मननले मन पिरोलि दिदा
समाजका दर्शन र आदर्श जस्ता मृगतृष्णाहरु भ्रममा बद्लिदो रहेछ
अन्तरमनका अशिमित चाहानाहरुको पुन्तुरोहरु अनायासै खोलिदा
विवेक शुन्य मनहरुले अहँकार मच्चाउदै अनुभुतिका रँगहरु टुक्राउदो रहेछ

बिवेक शुन्य मनहरु माझ अहँकारको हुडाँर डकार गर्दै गर्दा
जिवनका आवर्तन र परावर्तनको सँयुक्त रुप प्रतिविम्वित हुदो रहेछ
हजार स्मृतिहरु मानसपटलमा युद्द मैदान बनाई गस्ति गर्न थालि दिदा
सपना बनि हठाथ जिन्दगीले आफैलाई ब्यँग्य हान्दो रहेछ ।

Friday, October 8, 2010

ठमेलको झझल्को दिलाउने क्यामडेन टाउन


पर्यटकीय तथा व्यापारीक दृष्टिकोणले एक प्रशिद्दि कमाएको ठाउ हो काठमाण्डौको ठमेल, बिदेशी पर्यटक(कुइरे)हरुको लागी बिशेष टार्गेट गरीएको ठाउ भएकोले यहा पाइने समानहरु निकै महँगा हुन्छन् यस्तै ठाउ लण्डनमा पनि रहेको छ । लण्डनमा रहने प्राय मानिसहरुको लागी यो नाम (क्याम्डेन टाउन) नौलो होइन । अझ गोथिक लभर साथै पश्चिमा शैली (पँक स्टाइल) मन पराउनेहरुको लागी अत्यन्तै उपयुक्त ठाउ मानिदो रहेछ। सस्तो सस्तो हेर्दा राम्रै जस्तो देखिने समानहरु भएकोले होला वजार निकै भिडभाड नै हुदो रहेछ । यहा थोरै समय भित्र नै सादा टि सर्टहरुमा आफुलाइ मन परेको कुराहरु प्रिन्ट गर्न पनि पाइने रहेछ ।



मसिनो गल्ली भिडभाड चिरेर हेर्दा दुरुस्तै ठमेल जस्तो लाग्ने यस ठाउको अर्को पनि विशेषता रहेको छ धेरै नेपालीहरुको पसल पाइनु । गल्ली गल्लिमा बुट्टेदार तन्नाहरु टागेको देख्दा तथा कपडाहरु बाटो भरी झुण्डाइएको देख्दा लाग्छ म ठमेलकै कुनै गल्लीमा डुली रहेछु । यहा मसिनो गल्ली भित्र सानो सानो कोठामा कपडा पसल देखी हरेक प्रकारको पसलहरु छन । अधिकाँश नेपालीहरुको पसल रहेकाले नेपाली ग्राहकहरु पनि निकै नै आउदो रहेछ । वसन्तपुरको नाइट मार्केट झै लाग्ने मसिनो टहरा भित्र कैयौ नेपाली दाजुभाइ तथा दिदीबहिनीले पनि बिभिन्न प्रकारका पसल खोलेका रहेछन । आफु पनि नेपाली भएको नाताले सरसमान किन्न आउने ग्राहकहरुलाइ पनि ठमेलकै जस्तो व्यवहार गरिदो रहेछ ।



लण्डन आइकन सरसमान किनमेल गर्ने बेलामा मोल तोल (बार्गेनीङ) नगरेको हुनाले यहा पुग्दा एकछिन त अनौठो नै लाग्यो । यहा हरेक समानको भाउ ब्यक्तिअनुसार फरक पर्ने रहेछ । जस्तै हामी नेपाली भएकोले हाम्रो लागी छुट्टै भाउ र बिदेशीहरुको लागी छुट्टै भाउ हुने रहेछ । हामी नेपाली भएकोले नेपालीहरुको पसलमा केही सरसमान किन्ने हो भने तपाइ नेपाली हुनुहुदो रहेछ तपाइहरुको लागी भने यति तर अरुको लागी त यतिमा आउदैन भनिदो रहेछ । सायद नेपाली नै भएकोले हो वा साच्चै सामान पनि सस्तै पाइने हो मलाइ अन्य ठाउको भन्दा यहाको मुल्य भने निकै सस्तो लाग्यो । खानेकुराहरु देखि जुता चपल वा लत्ता कपडा सबै यहा अन्य मलमा भन्दा निकै सस्तो रहेको छ । हुन त अन्य मलमा मलको भाडा नै महँगो तिर्न पर्ने हुनाले हो वा अन्य कारण पनि छन त्यो त थाहा भएन तर अचाकल्लि महँगोले पागल हुन लागेको वेलामा यहा पुग्दा भने शान्तीको स्वास फेरे मैले पनि एक छिन।



अझ यहा पुग्दा रमाइलो लागेको अर्को कुरा त प्राय यहाका नेपाली पसलेहरु स्टुडेन्ट भिजा (बिधार्थी प्रवेशाज्ञा) लिएर आएकाहरु मानिसहरु रहेछन । उनिहरुले गरेको प्रगती देखेर निकै खुसी लाग्यो किन भने कति पय नेपाली विधार्थीहरु आएको एक वर्ष भै सक्दा पनि अझै सम्म काम नपाएर भौतारीएर हिडिरहेको बेला उनिहरुले त आफुले व्यापार गरेरै उनीहरुका साथीभाइ तथा आफन्तहरुलाई पनि रोजगारको अवसर दिन सफल छन । व्यापार ब्यवासाय राम्रै चल्दो रहेछ एक जना पसले दाईले भन्दै थिए "अरुको खटाइमा घण्टा हिसावले पैसा कमाएर त खै कसरी वाच्नु यो ठाउमा" भनाइको आसयबाट हामी के सजिलै बुझ्न सक्छौ भने उनीहरुको व्यापार नाफामा नै चल्दो रहेछ । घुमघामको क्रममा विधार्थी भिजामा तथा डिपेन्डेन्ट भिजामा वेलायत छिरेका केही मानिसहरु सँग पनि भेट भएको थियो । यहि सिलसिलामा उनिहरुसँग केही रमाइलो कुराकानी भयो आफ्नो देशको भनि सके पछि आफ्नै प्रकारको आत्मियता जहा पनि हुन्छ नै । भर्खर वेलायत छिरेका केही डिपेन्डेन्टहरु पनि भेट भएको थियो । प्रसँग वस कुराकानी निस्क्यो र मैले भनि हाले तपाइहरु त निकै भाग्यमानी हुनुहुदो रहेछ आउने हप्ता मै काम पाइ हाल्नु भएछ हास्दै जवाफ दिए पसले मेरो गाउले दाई हुन नी त । अर्काले पनि त्यसै भन्दै थिए पसले दाइ मेरो साथीको दाई हुन नि त । यसो कुरोको चुरो बुझ्दा केही आपत्तीमा परेका आफन्तहरुलाई पनि सहयोग गरेर मानविय धर्म नै गरेका रहेछन यि पसलवाला दाइहरुले त।




हुन त पहिला देखी नै सुन्दै आएको कुरो हो कि नेपालबाट वेलायत छिरेका ब्यक्तीहरुले यदि सकिन्छ भने घर किन्नु भन्दा ब्यापार ब्यावसाय गर्नु उचित हुन्छ । यसो बुझ्दा वास्तविक कुरो रहेछ यो । यो ठाउमा घर किन्नु तथा गाडी चढ्न महँगा महँगा मोवाइल तथा ल्यापटप किन्नु कुनै ठुलो कुरो होइन । अलि अलि पैसा जम्मा गर्न सक्नु र सानो जागीर हुनु हो भने यहा घर सजिलै किन्न सकिन्छ किन भने मोर्गेजमा घरहरु टन्नै पाइन्छन । साथै गाडिको लाइसेन्स निकाल्नु सक्यो भने दुइ सय पाउण्ड देखि माथी पुराना काम चलाउन मिल्ने गाडिहरु प्रसस्तै किन्न पाइन्छन । अथवा नया नै लिने हो भने पनि इन्सटलमेन्टमा थरिथरिका गाडीहरु प्रसस्तै पाइन्छन । मोवाइल तथा ल्यापटपको त झन कुरै छाडौ । महिनागत रुपमा १० पाउण्ड देखी माथी (मोवाइल सेट तथा सुविधा हेरी हेरी)थरि थरिका मोवाइल छानेर लिन पाइन्छन । जे सुकै होस सानो तिनो व्यवसाय गरे पनि अरुको भुमीमा पनि आफनै शैलीले बाच्नु अत्यन्तै राम्रो हो ।



अन्य दिन पनि निकै चहल पहल हुने यो ठाउमा विशेषत शनिवार र आइतवार अत्ती नै भिड हुने गर्दछ । मैले केही आफुलाई राम्रो लाग्ने ठाउको तस्विर लिएकी छु आउनुहोस तपाइहरु पनि एक नजर लगाउनुहोस ।














क्याम्डेन टाउनका नेपालीहरुका पसलहरु