Thursday, October 29, 2015

महिला शसक्तिकरणका पाटोहरु :


 हिजोआज गाउघर सहर बजार जतासुकै र जो सुकै ब्यक्तिको मुखबाट सबै भन्दा धेरै सुनिन पाइने शब्दहरु हुन्, आदीबासी जनजाती, महिला, सचेतना, शसक्तिकरण, सघिंयता, स्वयत्तता, समानता, पहिचान आदी आदी । यी बिषयहरुमा बहस चलेको पनि बर्षाै भई सकेको छ यद्यपी केही थोरै परिवर्तन बाहेक समस्या जस्ताको तस्तै छ । हुनत हाम्रो जस्तो बिबिधताले भरिएको देशमा यस्ता समस्याहरुको समाधानको लागि कोहि कसैएक्लैले प्रयास गरेर मात्र संभव छैन र हुन्न । यसैले यि बिबिधता भित्र छिरेर कहा, कसरी के ले गर्दा मगर महिला पछाडी पारिएको छ भन्ने पाटाहरुलाई उजागर गर्ने चेष्टा यस लेखले गर्दछ । लेखले अन्य पक्षलाई थोरै छोए पनि मगर महिलाका बिबिध अवस्था, ब्यबहारिक पक्ष र अबको बाटो वा दिशा निर्देशका लागि मार्ग प्रसस्त गर्ने कोशिस पनि लेखले गर्नेछ ।
बिबिधता केमा छ?


महिला, पुरुष, आदीबासी÷जनजाति, आदीवासी÷जनजाति महिला, तथा मगर महिला सबै एकै होइनन्, छैनन्, र हुन सक्दैनन्,। बाहिरी देशका मानिहरुको लागि नेपाली भन्ने बित्तिकै एउटै लाग्न सक्छ । नेपालीशब्द भित्र पनि बिभिन्न जात÷जातिहरु छन्भन्ने हामीले भुल्नु हुन्न । तिनै जात÷जाति भित्रका गैर जनजातिहरुले भन्लान् आदीवासी जनजातिहरुको रुपरंगलाई हेर्दा सबै उस्तै देखिन्छन्, प्राय सबै जनजातिहरु पछाडी पारिएका÷परेका छन्। उनीहरु सबै एउटै हुन्तर त्यसो होइन। जनजाति भित्र पनि बिबिधता छ । जनजाति भित्रकै अन्य जाति वा गैर जनजातिले फेरी भन्लान्मगर भन्ने बित्तिकै सबै एकै हुन्। तर त्यसो पनि होइन । मगर भित्र पनि बिबिधता छ,। बिबिधता भाषामा, संस्कृतिमा, संस्कारमा, लवजमा, र व्यवहारमा छ । तर यद्यपी बिबिधता छ भन्दैमा एकता छैन भन्ने चाहि पक्कै पनि होइन । मगरहरुमा एकता पनि छ बुझाइमा, ब्यवहारमा र सम्पुर्ण कुरामा । यहि बुझाई, यहि जातिगत लवज, भाषा शैलिनै, सास्कृतिक तथा सामाजिक व्यवहार नै उनिहरुको पहिचान बनेको छ । फरक छ त अन्य जात जातिका महिलाहरु र मगर महिलाहरुको आर्थिक, सामाजिक र ब्यवहारिक अवस्थामा । मगर महिलाहरुको सामाजिक स्थिति केलाउनलाई शैक्षिक, राजनैतिक, तथा सामाजिक क्षेत्रको उपस्थितिलाई हेर्दैमा पनि पुग्छ। लाखौको संख्यामा रहेका मगर महिलाहरु औला मै गन्न सकिने व्यक्तिमात्र  हालसम्म राज्यका माथिल्ला ओहदामा पुग्न सफल छन् । अधिकांश मगर महिलाको अवस्था र स्थिति मध्ययम स्तरको छ । र धेरै जसो मगर महिलाहरुको सामाजिक स्थिति अझै पनि नाजुक छ । यि मगर महिलाहरुको नाजुक अवस्था बारे उल्लेख गर्दै बिभिन्न ब्यक्ति, संस्था तथा पत्रपत्रिकाहरुले लेख लेख्न थालेको पनि करिब दशक हुन लागि सकेको छ । यद्यपी आज पनि यहि शब्दहरु दोहोराउदै लेखहरु लेख्न बाध्य छ । केहि सिमित मगर महिलाहरु सामाजिक क्षेत्रमा अगाढी बढे तापनि कतिपय मगर दिदीबहिनीहरुको अवस्था दयनिय छ । यि अवस्थालाई केलाउनलाई धेरै टाढा जानु पर्दैन । गाउघर तिरका कार्यक्रमहरुमा हेर्ने हो भने मगर महिला दिदि बहिनीहरु अझै कति पछाडी छन्भन्ने कुरा प्रष्ट देखिन्छन्। संसारका महिलाहरु चन्द्रमामा पुगि सक्दा पनि मगर महिला दिदीबहिनीहरु राम्रो संग आफनो परिचय दिन अझै हिचकिचाउछन्। केहि दिन अधिका केहि घटनाहरु सम्झन्छु । म बाग्लुङ्ग बजारको एक बिद्यालयको एउटा सामान्य छलफल कार्यक्रममा सहभागि भएकि थिए, जहा केहि मगर महिला दिदी÷बहिनीहरु पनि बिद्यार्थीको अबिभाबकका रुपमा उपस्थित हुनु हुन्थ्यो । तर उहाहरुले आफनो परिचय दिदा बर्किले मुख छोपेर लजाई लजाई बोल्नु भएको कारण २÷३ पटकमा पनि मैले राम्रो संग उहाको नाम सुन्न सकिन । यसै गरि म्याग्दीको बरजांको एक महिला समुहको तालिम कार्यक्रममा सहभागी हुने मौका पाँए, जहा २० जना जतिको सहभागितामा करिब १३ जना जति मगर महिला दिदिबहिनीहरु हुनुहुन्थ्यो । कार्यक्रममा परिचयको पालो आयो अन्य जातजातिका दिदी बहिनीहरुले सटासट आफनो नाम ठेगाना, महिला समुह, आवद्द सहकारी संस्था र पदहरु भन्नु भयो । तर ति मध्येका एक जना पनि मगर दिदि बहिनीले राम्रो संग आफनो नाम भन्नु भएन । आफनो नाम र थर भनि सके पछि रातो रातो गाला पार्दै ४ हात लामो खित्का छोडेर हासे पछि बाँकि ठेगाना, महिला समुह, र आबद्द सहकारी संस्थाको नाम त कता बिलिन भयो भयो कसैले पत्तो पाएनन्। साथीहरुले मलाई पुलुक्क हेरे । अत्यन्त खल्लो लाग्यो । म अवाक भएँ । मलाई लाग्यो यो उहाँहरुको दोष होइन यद्यपी हाम्रो समाज र संस्कारले कैयौ बर्ष देखि बिजारोपन गरेको बिभेद, अशिक्षा र अज्ञानताको फल हो । जो अझै सम्म हामीले गाउ ठाँउमा देख्न पाइरहेका छौ । बिगतका केहि अन्य ठाउका अन्य जात जातिका महिला दिदि बहिनीहरु संगको भेटघाटलाई पनि केलाएर हेरें प्राय अन्य जात जातिका दिदी बहिनीहरु मगर दिदिहरु भन्दा केहि फरक पाँए । उनिहरुको कुनै पनि नयाँ बिषय बस्तु प्रतिको चासो, नयाँ ब्यक्ति संगको छलफलको क्रममा देखिएका सक्रिय सहभागितामा केहि फरक पाँए । 

अब के गर्न सकिन्छ?
नेपालका सबै मगर महिला दिदि बहिनीलाई नभए पनि हरेक जिल्लाका कुना काप्चामा रहनु भएका लाखौ अशिक्षित मगर महिलाहरुलाई अझै पनि चेतना बिस्तारमा जोड दिन आवश्यक छ । उनिहरुको शैक्षिक स्तर उकास्नलाई केहि बिशेष खाले कार्यक्रम तयार पार्न अत्यन्त आवश्यक छ । बिबिध सिपमुलक सिकाइका तालिमहरु, आयआर्जनका बिशेष ज्ञानहरु प्रदान गर्न अत्यन्त आवश्यक छ । असम्भब केहि छैन तर एकता र एकबद्दताले महत्वपुर्ण भुमिका आवश्यक छ । साथै मगर महिला आफैमा पनि परिबर्तित सोच, सिप सिक्न चाहने भित्रि चाहना आउन पनि अत्यन्तै आवश्यक छ । चेतना बिस्तारको लागि मगर युवायुवतीहरुले पनि सम्बन्धित क्षेत्रमा आफना आमा बुवा दाजु भाइ दिदी बहिनीहरु संघ बिशेष छलफलहरु चलाउन सकिन्छ । आफुले बाहिरी जिल्लाहरु भ्रमण अवलोकन गर्दा देखेका भोगेका अनुभवलाई पनि कुराकानी मार्फत गाउघर सम्म पुयाउन सकिन्छ । स्थानीय आमा समुह तथा सहकारीमा आबद्द मगर महिलाहरुले संगठित भए पछि आफुमा आएको परिवर्तन अन्यलाई पनि सेयर गर्ने र एकबद्दहूनमा उत्साहित तगा प्रोत्साहित बनाउन सकिन्छ । एकबद्दता भए पछि महिलाहरुले आफनो तह र तप्कामा भएका संघ संस्थालाई सहयोगी हातहरु बढाउन पहल गर्न सकिन्छ । एकोहोरो माग मात्र राखेमा अस्विकार हुने हुनाले अरुको समस्यालाई पनि साथ दिने, सुख, दुःखमा चासो राख्ने सहभागी हुने गर्न सकिन्छ । नेपाली उखान बाह्र वर्ष कुकुरको पुछर ढुंग्रोमा राखे पनि जस्ताको तस्तै भनेझै बिगत एक दशक देखि सकारात्मक बिभेद, समाबेशिकरण, शसक्तिकरण भन्ने नाराहरु जता ततै घन्कि रहदा पनि मगर महिलाहरुमा खासै परिवर्तन नआउनु दुःखदायी कुरा हो। कम्तिमा विस्तारै केहि परिवर्तन गराउनको लागि पनि हामीमा बोल्नु जरुरी छ । बोलेर मात्र भएन भने गरेर देखाउन पनि सकिन्छ, अग्रेजीमा भनाइ
नै छ एक्सन स्पीक्स लाउडर देन थाउजनस्अफ वर्ड धन भएका मनकारी मानिसहरु समाजमा प्रसस्तै छन् तर उनीहरुलाई सहि तरीकाले परिचालन गर्न नसकेकाले पनि समाज बिकासमा अवरोध पुगेको छ । मनकारी धनि ब्यक्तिको धनलाई सहि ठाउमा परिचालन गर्न पनि बुद्दि र बिबेकले महत्वपुर्ण भुमिका खेलेको हुन्छ । गत हप्ता म्याग्दीकैसिंगा गाबिसका सहकारीमा आबद्द अन्य जात÷जातिका दिदीहरु संग भेटने मौका मिल्यो । उहाँहरुको एकता, समुहले गरेका बिबिध सामाजिक कार्य सुन्दा ज्यादै खुसि लाग्यो । त्यो भेटमा भएका कुराकानीले मलाई धेरै नै प्रभाबित बनायो । उहाँहरु संगठित भएको १० वर्षमै महिला सहकारीको आफनै भवन निर्माण गरि राम्रो संग सहकारी चलाउन सुरु गर्नु भएको रहेछ । सहकारीको भवन अगाडीको जग्गालाई बारबेरा सहित चौतारो पनि बनाइएको रहेछ, । त्यस चौघेरा र चौतारोबनाउनको लागि तिनै गाउका एक जना मनकारी ब्यक्तिले सहयोग गरेका रहेछन्। उनले आफना पितृका नाममा बाटोमा कतै फलैचा बनाउने योजना बनाएको थाहा पाए पछि महिला सहकारीका अध्यक्ष दिदीले आफनो भवन अगाडी बनाएमा उहाको चाहाना पनि पुरा हुने, लाखौ महिला बस्ने पबित्र स्थल पनि निर्माण हुने र भवनलाई बार पनि हुने कुरा सम्झाई बुझाई त्यो कार्य सम्पन्न भएको रहेछ । यसै भवनको पछाडी पट्टि राम्रो दुई कोठे चर्पी पनि छ त्यो पनि कोहि बिदेशमा बस्ने मनकारी ब्यक्तिको थोरै आर्थीक सहयोगले सुरुवात गरे पछि अन्य रकम गाबिसबाट माग गरि चर्पि बनाउने कार्य सम्पन्न गरिएको रहेछ । 
महिलाको नाममा सरकारले छुटाइएको रकम अन्यत्र खर्च गरिन लागेको थाहा पाए पश्चात गाबिसमा गई महिलाहरुको लागि स्वास्थ शिबिरमा उक्त रकम खर्च गराईएको रहेछ । जिल्ला स्वास्थ कार्यालय संग मिलेर महिलाहरुको पाठेघर खस्ने तथा अन्य महिला सम्बन्धि रोगहरु निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरि २१ जना महिलाको निशुल्क शल्यक्रिया गराइएको रहेछ । समुहमा रहेका प्राय महिलाहरु निरक्षर भएकाले केही गर्न नसकिएको र भाबि पिढिलाई आफुहरु जस्तो निरक्षर नहुन भन्ने उद्देश्यले सुचना तथा सञ्चार मन्त्रालयमा पत्राचार गरेको भरमा महिला तथा त्यस क्षेत्रका बिकासका लागि ५ वटा पूर्ण सेट कम्प्युटर, प्रिन्टर, फोटोकपि मेशिन उपलब्ध गराइएको रहेछ । उहाहरु गर्बका साथ सुनाउनु हुन्छ काम गर्ने चाहाना राख्नेहरुलाई सहयोगीहातहरु जुटन खास गाह्रो नहुने रहेछ भन्ने कुरा समाज बाटै सिकेकी छु। जति पनि मगर महिला अगाडी आउन नसक्नुका कारण शिक्षाको कमि नै हो । बरन्जाका मगर महिलाहरु पनि ति महिला दिदीहरु भन्दा फरक होइनन् तर पनि शिक्षा, अनुभब, तथा अन्य बिबिध कारणले उहाहरुको कार्यशैलिमा आकाश जमिन फरक पाउन सकिन्छ । आज बरन्जाका मगर महिलाहरु आफनो नाम पनि भन्न लजाउनु हुन्छ तर त्यहि छिमेकी गाबिसका अन्य जातिका महिला दिदीहरु गर्बका साथ सुनाउनु हुन्छ सुरुवाती दिनहरुमा म आफनो नाम पनि छेउको साथीलाई कोटयाएर भन्देउन भनेर लजाउथेँ, आज जिबिस मै अगाडी गएर मन्तब्य दिन पनि केहि धक लाग्दैन। आज नाम भन्न नसक्ने मगर महिला दिदीहरुले भोलि यसरी नै सफलताका कथा त पक्कै सुनाउनु हुन्छ होला तर अन्य भन्दा फेरी पनि पछाडी नै पर्नेछ । त्यसैले उनिहरुलाई पनि संग संगै हिडाउन हामीले बातावरण तयार गरि दिन नितान्त जरुरी छ ।
अब समय परिबर्तन भइ सकेको छ। पहिला जस्तो पढ्न सुरु गर्ने उमेर भनेको बाल्यकाल मात्र हो भन्ने भनाईलाई लोप्पा खुवाउदै बाग्लुङ्ग जिल्लाकोभिमपोखरा गाबिसका एक बिद्यायलमा आमाहरु पनि मसिना नानीहरु सरह बिद्यालयमा भर्ना भइ अध्ययन गर्न सुरु गरेका छन् । त्यस क्षेत्रका करिब ३७ आमाहरु सुरुमा भर्ना भएता पनि २७ जना जति निरन्तर बिहान १० बजे देखि १ बजे सम्म कक्षामा बसेर अध्ययन गर्छन् । बिद्यालयका शिक्षकका अनुसार गत बर्ष देखि अध्ययन अध्यापन कार्य सुरु भएको उक्त स्कुलमा तिन समुहका आमाहरु अध्ययनरत छन्, कखरा पनि नजानेका समुह, सावा अक्षर चिनेका समुह र केहि  पढ्न तथा लेख्न जान्ने समुह । त्यसैले शिक्षा लिनलाई कहिल्यै पनि ढिला नहुने हुनाले त्यस प्रकारको शिक्षा दिलाउन पढन लेख्न नजान्ने मगर महिलालाई प्रोत्साहन गर्न सकिन्छ । अथवा मगर महिलाहरुको लागि बिशेष शिक्षा आफनै गाउठाउमा सञ्चानल गर्ने प्रयत्न गर्न सकिन्छ । त्यसको लागि एकताबद्ध भएर लाग्नु पर्छ । नेपाली उखानै छ नबोल्नेको चामल पनि बिक्दैन, बोल्नेको पिठो पनि बिक्छ । त्यसैले अव मगर महिलाले बोल्नु पर्छ । बोल्नको लागि सिक्नु पर्छ । सिक्नको लागि पढ्नु पर्छ । नभए पनि अभ्यास गरिनु पर्छ अनि बोल्न सकिन्छ । अनि मात्र आफनो अधिकार बुझन सकिन्छ अनि माग्न सकिन्छ।
अबको बाटो के हुने ?
अबको बाटोमा मगर महिलालाई अगाडी बढाउन ककस्को के के भुमिका रहन सक्छ भन्ने कुरामा पहिला छलफल गर्न आवश्यक छ । आदीवासी जनजातिहरुको सशत्तिकरण र बिकासका लागि बिबिध क्षेत्रमा  सहयोग गर्दै आइरहेको आदिवासी जनजाती राष्टिय उत्थान प्रतिष्ठान, आदिवासी जनजाति महासंघ तथा आदिबासी जनजाति महिला महांसघ जस्ता ठुला भनिने संस्थाहरु संग नेपाल मगर संघ, नेपाल मगर महिला संघ केन्द्रिय कार्य समितिले समन्वय गरि सहयोगको मार्ग प्रसस्त गर्नु आवश्यक छ । साथै विश्वका बिभिन्न देशमा छरिएर रहेका मगर संघ, मगर महिला संघहरु संग पनि नेपाल मगर संघ तथा
नेपाल मगर महिला संघले समन्वय गरेर सहयोग रकम जुटाउन सकिन्छ । साथै ति रकमहरु विभिन्न जिल्लामा रहेका महिला संघ मार्फत गाउका महिलाहरुलाई एैकबद्दता गर्न र उनिहरुको चेतना बिस्तार साथै आय आर्जनको लागि बिबिध कार्यक्रमहरु मार्फत सहयोग गर्न सकिन्छ । 
अमm केन्द्रिय स्तरका महिला दिदीहरुले मगर महिला संघ जिल्ला समितिलाई परिपत्र नै जारि गरेर, जिल्ला तहमा रहेका मगर बिधार्थी संघ जिल्ला कार्य समिति, मगर बिद्यार्थी संघ अञ्चल कार्य समिति, मगर बिद्यार्थी संघ क्याम्पस इकाइ समिति आदीलाई समन्वय गराई मगर महिला तथा बालबालिकाको लागी विशेष कार्यक्रमको लागि पहल गर्न सकिन्छ । केहि महिना अघि नेपाल मगर महिला संघ भकुन्डे इकाई समितिले मगर महिलाहरुको लागि ५ दिने उदघोषण तथा महिला शसक्तिकरण तालिम वालिङ्ग स्याङ्गजामा सम्पन्न भएको समाचारहरु पढन पाइएको थियो । यस प्रकारका बिभिन्न तालिमहरु देशका बिबिध गाउहरुमा लैजान अत्यन्तै जरुरी छ । कम्तिमा हाम्रा गाउ समाजमा मगर महिलाले कुनै अपरिचित ब्यक्तिको अगाडी बोल्न परेमा बर्किले मुख नछोपी वा नलजाइ निर्धक्क बोल्न सकियोस । यसका साथै आफनो सिप बेचेर आफनो दैनिक जिवनलाई अगाडी बढाइएका कम्तिमा १० जना मगर महिलाका सफताका कथा राष्टिय स्तरको समाचर पत्रमा छापिए पनि त्यसले समाजमा धेरै रामा्र सकारात्कम परिवतर्न ल्याउन सकिन्छ । यसैले मगर महिलाहरुको शिप बिकाश तथा क्षमता अभिबृद्दि गर्नमा केन्द्रिय स्तरका महिला दिदीहरुको महत्वपुर्ण भुमिका रहन्छ । असम्भव र गाह्रो भन्ने शब्दहरुलाई हटाइ इच्छा शक्तिको बिजारोपन गराउनमा मगर युवा युवतीहरुले पनि महत्वपुर्ण भुमिका निभाउन सकिन्छ । यसरी एकले थुकी सुकि सयले थुकि नदि भन्ने उखानलाई चरितार्थ गर्न मगर महिला एकताबद्द हुन अत्यन्त जरुरी छ । जसले गर्दा महिला उत्थान त हुदै हुन्छ  यसले समाज तथा समुदाय उत्थानमा पनि महत्वपुर्ण इटा थपिन सक्छ । मलाइ जहा सम्म लाग्छ हाम्रा  मगर दाजुभाई तथा दिदि बहिनीहरु संसारका जुन सुकै कुना कुनामा छरिएर रहेता पनि मगर समुदाय बिकासमा संगसंगै हुनुहुन्छ । मगर कासको कार्यक्रमहरुलाई सहयोग गर्न संसारभरकै मगरहरु धेरै आतुर हुनुहुन्छ भन्नेमा म धेरै ढुक्क छु किनकी हामी मगरहरु दानी र ज्ञानीमा धेरै नाम दहरिएका जाती हौ ।जति पनि मगर दाजुभाई दिदी बहिनीले बाहिरी संसारमा आफुले सिकेका ज्ञानहरु नेपालकै मगर गाउहरुमा पनि देख्नको लागी उहाहरुको साथ सधै तत्पर छ । साथै समुदाय त्थानमा उहाहरु सबैको साथ रहने छ भन्नेमा पनि म बिश्वस्त छु । तर  कोसमन्वयकारी भुमिका निर्वाह गर्नमा नेतृत्व तहका दिदीहरु र आजका युवा पिढीको पनि उत्तिकै तत्परता जरुरी छ । यदी नेतृत्व तहका ब्यक्तिहरुले सहि वातावरण सिर्जना गर्न नसकेमा गाउका मगर आवाजहरु सधै आवाज बिहिन भएर लडिरहने छ । केन्द्रिय तहका एकध महिलाहरुले संघियता, स्वायत्तता र समानताको लडाईमा बर्षाै आन्दोलन गरि रहे पनि जगेडा सहयोगको लागि आफनो समाज समुदायको मानिस तयार छैनन भने यि माथिका सम्पूर्ण आन्दोलनले दनक खाई रहने छ । यसैले आदरणिय नेतृत्व पंत्तिका मगर महानुभावहरु आफुमात्र बोलेर हैन गाउ गाउका निमुखालाई पनि बोल्न सिकाऔं किन कि बोल्नेको मात्र पिठो पनि बिक्छ नबोल्नेको शब्द नै  बिक्दैन ।
(Note: this article has been already published in Magardeep Magazine) 

1 comment:

Yumesh Pulami said...

विषय वस्तुलाई राम्ररी केलाएर लेख्नु भएको रहेछ जस्तो :बिबिधता केमा छ?अब के गर्न सकिन्छ?अबको बाटो के हुने ? हुन् त मगर जातिमा छोरी मान्छे मात्र होइनन छोरा मान्छे पनि कतिपय ठाउँमा धकाउने, कुनै पनि कामका लागी अघि नसर्ने आदत रहेको पाइन्छ !यो सब अवसर र सकारात्मक शिक्षाको कमी नै मान्नु पर्छ ! अनि यो पढे पछी हामी केहि थाहा नभए नि थापा र केहि नगरे नि मगर लेख्ने जाति परिए'छ कि क्या हो भन्ने लागिरा'छ !