Wednesday, November 19, 2008

नेपाली शिक्षा निती र केहि तिता वास्तविकता

होस्टेल बसाइ सकिएको त निकै दिन भै सकेको रहेछ आज अचानक एक जना दिदीले झ्याउ शब्द निकाल्नु भयो र होस्टेलका ति दिनहरुको ताजा स्मरण हुन पुगे लौजा मलाइ पनि यहि बिषयमा केहि गन्थन मन्थन ब्लगमा ठेलि दिन मन लाग्यो।
शनिबार थियो क्यारे बिहानको लगभग आठ बज्न लागेको थियो ।सानी ओच्छ्‍यान भरी किताब फिजाएर बसी रहेकी थिइन्। उसको परिक्षा नजिकिइ रहेको थियो। सृजना ढोकाबाट साम्साम सुम्सुम छाम्दै भित्र छिरीन् कस्तो झ्याउ लाग्दो दिन, ओइ यहाँ को छ? किन दिदि सानीले जवाफ दिइन, ए मलाइ एकछिन तिम्रो किताब देउ न तिमी नपढेको बेला पढ्‍नु पर्‍यो कोर्सको किताब हेर्दा हेर्दा कस्तो झ्याउ लाग्यो । सानी र सृजना दुवै जना विद्यालय निरिक्षकको तयारी गर्दै थिए । परिक्षा नजिकिएकोले दुबैलाइ एउटै बुक पढ्‍नु थियो । सृजना आफै देख्न नसक्ने र पढ्‍न नसक्ने, हुनाले पुस्तक किनेकी थिइनन् तर सानीको पुस्तक नै मागेर अरुलाइ पढ्‍न लगाइ सुन्थिन। सानीको आफ्नो कलेजको पनि परिक्षा नजिकिएकोले गर्दा खाली समयमा सृजनालाइ किताब दिइ सहयोग गर्थिन।
ए केटी हो, खाना पकाइ सक्यौ की हल्ला मात्र गर्दैछौ? बीना पनि छिरिन् सानीको कोठामा । छैन । अरु उत्तर दिइ बस्ने फुर्सद सानीमा थिएन । अनि के के पुस्तक समाइ बसेकी नी सृजनाले चाही? बीनाले सृजना तिर प्रश्न तेर्साइन । ए यो ‌‌ वि.नि.को हउ छोटो उत्तर दिइन सृजनाले । उफ् खोइ सक्नु चै छैन के को बि.नि.को परिक्षा दिनु पर्‍यो नि तिमीलाइ? बीनाले अलि खसालेर बोलिन् हुन त उनको स्वभाबै त्यस्तै हो र पनि सृजनालाइ चित्त बुझेनछ क्यारे प्रश्नको हत्तपत्त उत्तर फर्काइ हालिन् तिमी नदिने मान्छेलाइ के को खस्‍खसनी ? सकुँ या नसकुँ यो मेरो बस्‍को कुरो हो नी । सृजना यो पटक रिसैले कड्‍किइन । होइन तिमी दशठाउ छाम्दै हिड्‍नु पर्छ त्यस्तो मान्छे कति दौडनु पर्छ वि.नि.मा अनि त्यो सक्दै नसक्ने काममा किन भनेको पो त सृजना रिसाएको भान पाएर थमथमाउनलाइ आतुर थिइन् बीना, म त एसो २,४ हजारको सजिलो काम पाएमा जान्थे पो । जागिरमा आफु एक्लो ज्यान त पालिइ हालिन्थ्यो नी , तर के गर्नु आफ्नो त कर्मै हारेको जहाँ गए नी दया गर्ने को छ र यहाँ ? एसो चिनेको कोही छ भने भनी देउ है नानी हो साह्रै भो एम. ए पढेर नी के गर्नु? जागीर नै पाउन गाह्रो म त वाक्क भै सके जीन्दगी देखि । केहि गर्ने जोश जागर पनि मरी सके ।
ति तिनै जनाको चालामाला मात्र हेरेर अवाक थिए म कुनामा । बीनाको यो वाक्यशंले सृजनालाइ फेरी पोलेछ क्यारे ह्या...........तिमी पनि जाबो २, ४ हजारले के नै आउछ र यो समयमा ? हेर नमरी बाचे एक न एक दिन आउला नी त हाम्रो नी पालो । अब त झन नया समाबेशी सरकार बन्दैछ । यस पालिको सभासदमा हाम्रा नी मान्छे जालान, संविधानमा हाम्रो हक अधिकारका बारेमा नी केही उल्लेख गर्लान्। किन तिमी यसरी हतास भएकी? म संसार नदेख्ने मान्छेमा त केही गर्ने आट छ, तिमीले त देख्या छौ नी बीना सम्पुर्ण कुरा । गर्न नसक्नु अलग कुरा होला तर यसरी तिमी हतास भएको देखेर चाहि झ्याउ लाग्यो मलाइ । कथाका दुबै पात्र शारिरीक रुपले अशक्त छन् जस मध्य एक आँखा देख्न सक्दिनन् भने एक स्पष्ट बाेल्न र साह् चिज निल्न सक्दिनन् तर दुबै जना त्रि बि बि मा सिङ्गल मात्र नभै डबल डिग्री गर्दैछन् । सृजना आँखा नदेख्ने नै भए पनि साहसिली छिन् केहि गरौ भन्ने भावना उनमा जिवित छ उनैको यो झ्याउ भन्ने शब्द भने थेगो नै छ ।
कुनामा बसि रहेको म नबोलु भनेको पनि सृजनाको साहस देखेर केहि बोलु बोलु लागेको थियो, उनको उत्साहमा खै किन हो केही कुरा थपुँ थपुँ लागेको थियो। तर दुबै जनाको गफ सुनेर एक मन भने त्यसै भारी भै रहेको थियो ।
आफ्नै आखाले टुलु टुलु ती २ साथीहरुका अवस्था नीयाल्न बाहेक केही गर्न सक्ने अवस्था छैन । म सँग रहेका यी त २ जना तर यस्ता सयौ अशक्तहरु यसरी नै संर्घष गर्दै गर्दै त्रि बि. बि. परिसरमा हल्ली रहेका छन् । यहा सम्म यतिका मेहनत, संर्घष र कष्ट गरेर आइ पुगेका उनीहरुको उच्च शिक्षाको कुनै कदर छैन । न त उनिहरुलाइ कुनै पकारको स्वरोजगार छ नत उनिहरु अन्य हामी सवलङ्गहरु झै दौड धुप गर्न नै सक्छन् । अझ कुनै ठाउमा जागीर खुल्यो भने उनीहरुले पनि हामी सवलङ्गहरु सगँ बराबरीमा प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता छ । धन्य त्रि बि. बि. एउटा निशुल्क शिक्षा चाहि दिएको छ । तर सयौ सृजनाहरुले गरेका आशा कहिले पूरा होला? नेताहरु आफै कुर्सीका लागी लडि राखेका छन् यो देशमा संविधान कहिले लेखिने होला र ति संविधानमा अपाङ्ग र अशक्षमहरुका लागी अधिकार सुनिश्चित गर्ने होला? बल्ल बल्ल समाबेशी सरकार त बन्यो तर खै त नेपालमा रहेका सयौ सृजना र बीनाहरुको लागी अधिकार?
जस्तो सुकै परिस्थिती आए पनि Always be Positive and Always think Positive रे अब भोलीबादले गाँजेको यो नेपाली समाजमा फेरी पनि सबैकुरा भोली हुने गतिलो आशाका साथ भन्न मन लाग्यो

जय भोली।।

2 comments:

Job in Nepal. said...

अ! ब्लग त राम्रै रहेछ ठीक छ।

Basanta said...

साह्रै मनछुने कुरा गर्नुभयो! त्यस्ता मेहेनती र प्रतिभाशाली मान्छेलाई राज्यले अवसर जुटाईदिए कति राम्रो हुन्थ्यो!