Thursday, April 14, 2011

शुभकामना

शुभकामना नव युगलाई
शुभकामना नव युगका पाखुराहरुलाई
शुभकामना सम्पुर्ण नेपालीहरुलाई
नव वर्ष २०६८को शुभकामना मेरा ब्लगमा पाल्नुहुने पाहुना पाठकहरुलाई
हजुर आदरणिय पाठक मित्रहरु घुम्दै फिर्दै रुम्जाटार भने झै फेरी पनि हाम्रो सामु एउटा सुखद दिन आएको छ । हुनत सबै दिन उस्तै नै हुन् र हामीले सबैलाई सुखद बनाउनु पर्छ तै पनि परापुर्वकाल देखि यो दिनलाई वर्षको नयाँ दिन भनेर शुभकामना आदान प्रदान गरिने दिन हुनाले म पनि यहाहरु सामु आफ्नै धरातल, आफ्नै मातृभुमि प्यारो देश नेपाल, अझ भनौ जन्मस्थान गृह जील्लाबाट नया वर्षको नया प्रहरमा हृदय देखि नै शुभकामना ब्यक्त गर्दछु ।
समय चक्रको परिधिमा समाहित हुदै जीवनका अनेकौ मोडहरु सँग अनवरत यात्रा गरि रहने हामी यात्रीहरुको जिवनयात्रा सधै एकैनास नहुने रहेछ । यहि यात्रालाई अँगालेर जीन्दगीको सार खोजी रहने यात्री म विगत ३, ४ महिना देखि ठप्प रहेको मेरो ब्लगलाई पुनः ब्युताउन आइपुगेकी छु । भनिन्छ जिन्दगीको उकाली लाग्ने बेला कहिले काही मानिसलाई थकाइ लाग्छ चौतारीमा बसेर सुमधुर गीत सुन्न मन लाग्छ अनि सँगितको मधुर धुनमा गुन गुनाउदै आफ्ना थकान मेटाउन मन लाग्छ साथै आँखा चिम्लिएर सपनाको सँसारमा डुवुल्की मार्दै पिडाका धारहरु पार गर्न महासागरको एक किनारमा छछल्किएका छाल सँगै मझेरी खेल्न मन पर्छ । यस्तै यस्तै परिवेश र परिस्थितीमा म पनि केहि महिना मनको थकान मेटाउन चौतारीमा सुसेलि खेल्दै बसेकी थिए । चौतारीको शितलता सँगै समाज र समयलाई बुझ्ने जमर्को गर्दै थिए । तर वास्तविकतालाई सामना गर्न नसकेर भाग्न खोज्नु जीन्दगीको सार खोज्नु होइन रहेछ । जीन्दगी यो पनि होइन रहेछ कि आफ्नो कर्तव्य र लक्ष्यलाई विर्सेर चौतारीमै बसेर दिउसै सपना देख्नु अनि कर्तव्यबाट पलाएन हुनु (कर्ण शाक्य, सोच) । जीन्दगी अगाडी बढ्ने क्रममा हरेक बाधा ब्यवधान आई पर्छ त्यसलाई समाधानको बाटो खोजेर अगाडी बढ्नु नै जिन्दगीमा मिठो रँग भर्नु रहेछ । त्यसैले त भन्दा रहेछन् क्रियाशिल मानिसको जिन्दगी निर्मल आकाश जस्तै हुन्छ जहा झट्ट हेर्दा केही देखिन्न तर अदृश्य वायुमण्डलमा हजारौ लिप्त वस्तुहरु छन् जुन हामी निश्चित समयमा मात्र देख्न सक्छौ ।
समय आफ्नै गतिमा सेकेण्ड सेकेण्ड गर्दै सुलुलु चिप्लदो छ । विहान हुन्छ दिउसो साँझ गर्दै रात छिप्पिदै गए पछि पुन नयाँ दिन सुरु हुन्छ यसै गरी वसन्त गृष्म वर्षा सरद उछिन्दै वर्षले फेरी पनि पुनः नयाँ नाम पाउछ । विरुवाले नया पालुवा पाउछ । वर्षले नया दिन पाउछ । हिजो झै लाग्छ साथीहरु माझ २०६७ को नया वर्षमा शुभकामना आदान प्रदान गरेको तर पृथ्वीले आफ्नो कक्षमा बसेर पुरै अक्ष पार गरि सकेछ । ३६५ दिनको लामो यात्रा सकि फेरी सुरुको १ बाट गन्ति गर्ने दिन आएछ । वसन्तका पालुवाहरु मौलाउन थाल्दा, बोट विरुवामा नव वर्षको स्वगतको लागी मुस्कुराइ रहेको फुलहरुले यो वातावरण त्यसै त्यसै रमणिय तथा उल्लासमय त बन्छ नै यहि मौकामा हामीले पनि नया जोस जाँगर र उत्साहलाई नया नया सृजनात्मक काममा लागाउनु पर्छ । नया वर्षले ल्याएको यो घडी यो पलसँगै एउटा नया सोच राखौ र यहि सोचलाई साकार पार्ने दृढ सँकल्प गरौ । तपाई हामीमा भएको सोच सफल पार्न हामी सबैको शुभकामना एक आपसमा निहित हुनेछ ।
पुनः सबै नव युगका पाखुराहरुलाई शुभकामना ।

1 comment:

वेदनाथ पुलामी said...

नव वर्ष २०६८ को उपलक्ष्यमा मनु जी यहाँको सु-स्वास्थ्य,दिर्घायु, शान्ति, समृद्री र विकास तथा प्रगतिको कामना गर्दछु !
अनि यस पटक त निकै समयको अन्तराल पछी मात्र ब्लगमा उदाउनु भयो नि !