Tuesday, June 23, 2009

...............................


...............................केहि दिन देखि वाक्य रहित र निशव्द छु । मेरा वाक्यहरुको मोल निकै महंगो हुदै गइरहेको महशुस पनि हुन्छ तर शान्त दिमागले सोचि हेरे महंगो हैन रहेछ । मेरा दिमाग पनि खालि खालि भै रहेको छ । खालि नै दिमागले पनि भनि रहेको छ कि तँ धेरै नबोल । बोल्ने को जमाना गयो । केही गरेर देखाउनेको जमाना गयो । अब चुपचाप देखे पनि केहि नदेखे जस्तो गर, बुझे पनि नबुझे जस्तो गर, जाने पनि केही नजाने जस्तो गर र सुने पनि नसुने जस्तो गर । केहि जाने जस्तो गरेमा कुनै अपराध बिना मृत्यु निश्चित छ । त्यो पनि कुनै पापी र क्रुर मानिसको हातबाट ।
हिजो बिना कारण ख्यातीले मृत्युको ख्याती कमाउनु परेको छ । आखिर ख्यातीको गल्ति के थियो उहि सुन्दरता मिलनसार र जेहेन्दार नै होइन? त्यो भन्दा अगाडी उमाले ख्याती कमाइन उनको पनि गल्ति केही बुझेको जानेको कुरालाई जनता सामु राख्नु नै होइन र ? प्रजातन्त्र र गणतन्त्रले दिएको वाक स्वतन्त्रताको सदुपयोग गर्दा नै कैयौले अकाल मृत्यु वरण गर्नु पर्ने कस्तो जमाना होला यो ?

कुनै समयमा विश्वमा शान्तिको देश भनेर कहलीने देश भित्र दण्दहिनताले प्रशय पाउदा कैयौ ख्याति, उमा, बिबेक, रामहरि, बिहारी आदि आदीले अकाल मृत्यु बरण गर्नु परेको छ । सरकार मौन गम खाएर बसेको छ । हामी जनता दिनानु दिन आतंकित र त्रशित बनेर बस्नु परेको छ । पारिवारीक किचलो आपसी मनमुटाव र झै झगडालाई पैसामा परिणत गरेर विभत्स हत्या गरिन्छ । धम्कि र घुर्क्याइले हामी दिनानु दिन शसंकित हुदा कति कुराहरु आफै भित्र लुकाएर राख्नु पर्ने अवस्था छ । अव यसो गर्दा हामि मध्य को दोषी ? सरकार वाल्ल परेर बसेको छ। आफ्नो ठाउबाट गरेका छौ भन्लान सरकारवालाहरु खै त व्यवहारमा देखिएको? यस्ता अमानवीय विभत्स र क्रुर कार्यमा संलग्नहरुलाई दण्ड दिने व्यवस्था कहिले हुन्छ यो देशमा? के सरकारको केहि पनि कर्तव्य छैन? यसको लागि सरकारले एउटा कडा कानुन बनाउन किन सक्दैनन् ? के एक निर्दोष जनताको अकाल मृत्युको कारण खोजी सजाय दिनु सरकारको दायित्व होइन र ? यस्ता आपराधिक गतिबिधीमा संलग्नलाई राजनीतिक आश्रय किन दिन्छन हाम्रा देशका राजनेताहरुले ? सरकार मौन बसि दिए पछि प्रशासनिक फाँटका मानिसले के गर्न सक्छन ?

के निर्दोष मानिसको ज्यान ट्यापे र माफियाहरुको हातबाट सधै समाप्त पारी खुलम खुला सडकमा साँढे गोरु झै डुक्राएर हिड्न दिनु के यहि हो नेपालको लागि नागरिक सर्वोच्चता ?
के हो यो मानव अधिकार? नेपालको लागि कानुनी कारवाही के हो ?आज अपहरण, भोलि फिरौति रकम, पर्सी छेद बिछेद पारीएका मासुका टुक्रा, अर्को दिन समाचार, त्यसको भोलि पल्ट दोषीमाथि कारवाहीको माग सहित धर्ना र जुलुस, केही दिनमा अपराधी पक्राउ, त्यसको केही दिनमा तिनै निर्दोषका परिवारबाट लिएको फिरौती रकमको सदुपयोग अनि सामान्य तारिखमा अपराधी जेलबाट मुक्त के यहि हो मानव अधिकार ?
यस्तै हो भने हिजो पक्राउ परेका विरेन जस्ता नरसंहारकारि एक दिन पैसाको बलले चाडै हाम्रै अगाडि हात हल्लाउदै हिड्ने छन् के पाउछ ख्यातीका परिवारले? के यसो भएमा ख्यातीको रोइ रहेको आत्माले शान्ति पाउलान त? अव कुरा रह्यो अपराधीलाई के गर्ने? मानव अधिकार हनन को मुद्दा लाउने की त्यस्तालाइ सोझै फासी दिने ? बिना कारण अर्काको सन्तती हत्या गर्ने लाई सिधै फाँसी दिन किन मिल्दैन? हामी जस्ता गणतान्त्रिक भनिएका देशका जनताले यसो भन्न त नहुने हो तर के मानव अधिकार हनन हुन्छ भन्दैमा कैयौ निर्दोषको ज्यान दिनानु दिन गुमाउदै बस्नु उचित होला? मानव अधिकारको नाममा उर्लेको कार्यले सान्त्वना बाहेक उसको परिवारलाई के जिउदो जाग्दो ख्याती फर्काई दिन सक्छ? यो देशमा दोषी उपर अपराधको सजाय फाँसी नतोके सम्म फेरी अन्य लाखौ ख्यातीलाई गुमाउदै बस्नु पर्ने छ ।
ति ख्याती मध्येका निशाना हामी भित्र कै एक हुन सक्ने छ ।
अन्तमा निर्दोष र बालाबोध ख्यातीको चिरआत्माको शान्तिको कामना ।।।

Wednesday, June 17, 2009

नेपालको वर्तमान अवस्था

भन्नै पर्दा म जस्ता सर्वसाधारणले बुझ्ने र चिन्ने विश्वको सर्वोच्च शिखर सगरमाथाको देश भएर पनि विश्वसामु आफ्‍नो सान उच्च बनाउन नसकेको, शान्तिको अग्रदुत भगवान गौतम बुद्धको जन्मभुमि भएर पनि शान्ति र सद्‍भाव हुर्कन नसकेको, प्राकृतिक रुपमा विश्वको धनि देशहरु मध्येको भएर पनि दुनियाको दरीद्र राष्ट्रमा सुचिकृत हुन पुगेको, दुनियामा बहादुर गोर्खालीको पहिचान बनाएर पनि आफ्‍नै मातृभुमिको सिमाना दिन दहाडै मिचीदा लाचार र मुकदर्शक भएर बसिरहनु परेको, संसारमा जहासुकै पुगेर पनि इमान्दार जातिको रुपमा पहिचान बनाउन सक्ने नेपाली जातिको स्वदेश स्वंयमा भने धुत्र्यार्इ छली, चेलिवेटि बेचविखान गर्ने देखि स्वदेशी काठपात तस्कर गर्ने एउटा विचित्रको देश हो नेपाल ।
किन यस्तो हुन गयो त नेपालको स्थिति ? यो स्वाभिमानी नेपालीहरुको निम्ति ज्यादै महत्वपुर्ण र गम्भिर सवाल हो । यस सवाललाइ सहि तरिकाले विश्लेषण गरिनु, उचित उत्तर पहिचान गरिनु र निकासको बाटो खोज्नु नितान्त जरुरी छ । मर्निङ्ग सोज द डे भनिए जस्तै अर्थात जस्को वर्तमान राम्रो छ उसैको भविश्य पनि राम्रो हुनेछ भन्ने भनाइ सँग नेपालको वर्तमान स्थितिलाइ दाजेर हेर्दा साथै यहांका राजनैतिक पार्टी वा तिनका नेताहरुको हर्कत हेर्दा अनि बहुसंख्यक मानिसहरुको प्रबृत्ति हेर्दा त्यो छाट अझै निक्कै पर देखिन्छ ।
यसो भनिरहदां म निरासावादि ठहरीन सक्छु तर त्यो अवश्य पनि होइन । यो त नेपालको वर्तमानलाइ म जस्तै सामान्य मानिसले बुझ्ने र हेर्ने दृष्टिकोण मात्र राखिएको हो । जहा सम्म लाग्छ कुनै पनि राष्ट्र, एउटा राष्ट्रको रुपमा स्थापित हुन त्यस देशको निश्चित सिमाना सहितको भुगोलको अपरिहार्यतालाइ स्विकार गर्दछ । त्यसरी नै कुनै पनि राष्ट्र एउटा गतिशिल, सभ्य र समुन्नत हुनको लागि त्यो देशको भुगोल र प्राकृतिक उपस्थिति वाहेक त्यस भित्र बसोवास गर्ने मानिसहरु र उनीहरुको आवश्यक्तालाइ बुझ्न सकिएन भने त्यो राष्ट्र अराजक तथा कुशासनले ग्रष्त हुन जान्छ । नेपालीमा एउटा उखान छ हामी हतारमा बिवाह गर्छौ र फुर्सदमा पछुताउछौं । इतिहास देखि वर्तमान सम्म नेपालका राजा महाराजा देखि क्रान्तिकारी नेता सम्मले कुनैपनि दुरगामि महत्वको विषय/कार्यमा विना योजना, विना प्रयाप्त छलफल र विना गृहकार्य तुरुन्त कामको घोषणा र थालनि गर्ने र केहि समय पछि त्यसलाइ सुधार/परिवर्तन गर्ने, विगार्ने, भत्काउने कार्य संस्कारकै रुपमा विकसित गराएका छन । यो कार्य दुरदृष्टिको अभाव वा अयोग्यताको कारणले पनि हुने गरेको छ । जस्तो पछिल्लो पटक माओवादीका नेताहरुले कहा के बोले । पछि आएर सच्चाउदै हिड्‍ने तथा आफ्नो गल्ति सुधार्नु साटो आफै अरुलाइ विरोध गर्ने, आफै अरुलाइ दोष लगाउदै हिड्‍न थालेको छ । के यो आफैले थुकेको थुक चाटे सरह होइन र ? क्रान्तिकारी भनाउदा सार्वभौम संस्थाका नेतृत्वदायी समुहको यस्तो हविगत छ भने झन अरु क्षेत्रमा के अवस्था होला ? हुन त माओवादी मात्र नभै अन्य राजनैतिक दलका नेताको पनि चाला उही नै छ । यस्ता केटाकेटि खेल जस्तो कामले जनतामा अविश्वास श्रृजना हुन पुगेको छ र यो निरन्तर भइ रहे निराशा र निराशाको परिणाम त झन ठुलो दुर्घटना ।
अर्कोतिर नेपाल जस्तो गरीव मुलुकमा गठित धेरैवटा पार्टीहरु पार्टीसंचालनको विबिध पक्षमा आर्थिक समस्याहरु ब्यहोरी राखेका (झेल्नु परेको) हुन्छन । त्यसबखत विभिन्न व्यापारि वा तस्करहरु संगको बाध्यतापुर्ण सम्बन्धले सो पार्टि सरकारमा पुगेको बखत तस्करहरुले अबैध कार्यको संरक्षणको अबसर प्राप्त गर्दछन । त्यसले राजनितिलाइ कालाबजारि, घुषखोरी, तस्करी लगाएतका कार्यहरुको पर्‍र्यायको रुपमा वदनाम गर्न मात्र होर्इन जनतामा राजनैतिक नेतृत्वप्रति बितृष्णा/घृणाभाव जागृत भइ पलाएनवादिताको बिकास हुन थाल्छ । आफ्‍नो पक्षको सरकार आएको वखत भरपुर उपयोगको निति लिइ कर्मचारीतन्त्र नै राजतिनिकरणको भुमरिमा अनायासै पुर्‍याउछ । एकपटक निजामति कार्मचारी राजनितिकारणको सिकार भइ सरकारमा निजमति कार्मचारीहरुले राजनिति गर्न थाले पछि जाने हुन्छ देश पतनको बाटो गयो भनेर । नेपालको अहिलेको बिडम्बनायुत्त अवश्थाको धेरै मध्य एक प्रमुख कारण यहि नै हो ।
देशमा गणतन्त्र आए पछिको यो एक वर्षमा त झन चोरी सीकारी तथा ठगीको विगविगी बढेको छ । अस्ती भर्खर मात्रको घटना हो । ललितपुर नीवासी एक नेवार जातीको घरमा भाडामा बस्ने बस्ने एक परिवारले २ वर्ष सम्म घरभाडा नतिरि घरै मेरै हो भनि जिद्दी गरे पछि न्यायको ढोका ढकढकाउन सर्वोच्च अदालत सम्म पुग्नु पर्यो । सर्वोच्चमा पुगेर फैसला घरवालाको तफ भए तापनि माओवादी निकटका वाइ सी एल भनाउदाहरुले वकिल,समाज र घरवालाहरुलार्इ ज्यान मार्ने धम्कि दिइ रहेको कारण कैयौ महिना सम्म वकिल लगाएत घरवाला लुकेर हिड्‍ने अवस्था आयो । त्यस बेला न त प्रहरीले नै सहयोग गर्न सके न त अन्य कसैले बल्ल तल्ल आफ्नो आफन्तको सहयोगका कारण माथिल्लै तहमा कुरा पुराए पछि मात्र उत्तब्यक्तिलाइ घरबाट निकाला गरियो । आफ्नै घरमा आफ्नो स्थान सुरक्षित पार्न त यस्तो महायज्ञ गर्नु पर्छ भने अन्यत्रको त कुरै नगरौ ।
जहा सम्म भन्सार ठगीको कुरा छ, सर्वसाधारण जनताले थोरै झोलामा पोका पारेर ल्याइएका समानको पनि भन्सार कर तिर्नु बाध्य बनाइन्छ भने नेता तथा सरकारमा रहेका मानिसको आफन्तहरुको छ भने ट्रकका ट्रक समानको पनि केही तिर्नु पर्दैन । यसरी हेर्दा नेपालमा बनेका नियम तथा कानुनहरु हामी सर्वसाधारणलाइ मात्र हो जस्तो छ । जो पार्टी तथा सरकारका माथिल्ला तहमा पुगेका राजनेता तथा नेत्रीका लागि साथै उनीहरुका भाइ भतिजा साखा सन्तानका लागि होइन । किन भने भन्सार छलिएर आयातित सामान होस वा भंसार छलेर निर्यात गरेका सामानमा सरकारमा रहेका मानिसहरुको निकै ठुलो हात रहेको देखिन्छ । भनेको सुनिन्छ, नेपालका विभिन्न नाका तथा भन्सारबाट मल, ग्यास लगाएत विभिन्न प्रकारका सामानहरु ट्रकका ट्रक विना भन्सार तिरी भित्रि रहेकाछन्‍, भने ट्रकका ट्रक काठहरु निर्यात भै रहेका छन्‍ । कार्वाहिको लागि भन्सारमा पुराइएको सामान पनि माथिल्लो ओहदामा रहेका नेता तथा मन्त्रिहरु द्वारा भन्सारका कर्मचारि तथा उक्तक्षेत्रका सुरक्षा पति कहा धम्कि पूर्ण फोन आए पछि विना कार्वाहि छोडिन्छन्‍ । यसरी संविधान निर्माण कर्ताहरु काठ तस्कर तथा विभिन्न सरसमान विना कर भित्राउन तिरै लागि रहने हो भने कस्तो होला हाम्रो नया नेपाल ?
जब भन्सार छलिको काम सुरु हुन्छ त्यहि बाट घुसखोरीहरुको पनि जन्म हुन जान्छ साथै यहि कारणबाट असन्तुष्ठि र सामाजिक अपराध पनि । आफ्नो पेशा प्रतिको बफादारीता निभाए तापनि जस नपाइने हुनाले कर्मचारीहरु नचाहदा नचाहदै पनि सामाजिक अपराध तिर धकेलिन थाल्छन । कर्तव्य पालनाको क्रममा केही भन्सार छलि आयात तथा निर्यात गरेको पाइएमा कार्वाही गर्न तिर लागेमा मन्त्रि तथा सांसदको धम्किपूर्ण फोन आउन थाल्छन । आफुले गलत काम न नगरी धम्की सहनु पर्दाको पिडा त छदैछ फेरी सरुवा या त ज्यानै मार्ने धम्कि पनि आउन सक्छ किन भने नेपालमा मानिस मार्नु एउटा सडकको भुस्याहा कुकुर मार्नु सरह भएको छ । नेपालमा अहिले नत शान्ति छ न त सुरक्षा नै ? केही नभए पछि आफनो ज्यानको सुरक्षा गर्नका लागि नै भए पनि अपराधी गिरोहका नाइकेहरु संग मिल्नु पर्ने बाध्यता नै हुन सक्छ । तर जे सुकै भए पनि नेपाल जस्तो संयुक्त परिवारको पृष्ठमुमी भएको देशमा ती पहिले शासन गरेका र नयां आउने शासकहरु विचमा पुस्तौनि वा सगोत्रिय नाता सम्बन्ध कायम रहने हुदां सामाजिक दवावकै कारण पुरानो ब्यवस्थाका अपराधिहरुलाइ कार्वाहि गर्न नसक्नु तथा दण्डहिनताले प्रश्चय पाएको छ । राज्यको उच्च तहमा नै दण्डहिनता प्रस्ट देखिएपछि तलसम्म कानुनलाइ अटेर एवं अपमान गर्ने कार्यको बिजारोपण भइ राज्य अराजकताको बाटो तफ धकेलिएको प्रष्ट छ ।
राज्यको महत्वपुर्ण अवयवहरु र व्यवस्थापनमा परिवर्तन आएता पनि संस्कार, चिन्तन र दर्शनमा परिवर्तन नआएको कारण जनतामा पुरानै रक्सि नयां शिशि भन्ने गहिरो छाप परेको छ । गणतण्त्र नै आए पनि सरकार नै फेरीए पनि सरकारमा पुगेका नेताहरुको का गर्ने सैली अझै फेरीएको छैन । यी पुरानो संस्कार र चिन्तनको गन्धका उदाहरणहरु हजारौको संख्यामा देखिसकेका छन। खुला सिमाना भारतिय अतिवादिहरुको समर्थन तथा घुसपैठ र बेरोजगारीको समस्या लगाएतका विभिन्न गंजागोल अहिले नै शान्त होला जस्तो छैन । पार्टीहरुको हालको हर्कत वर्गत हेर्दा अब पनि घुसखोरी अपराधिहरुलाइ कार्वाहि गर्ने छाट देखिदैन । त्यसको मतलब राजद्रोहि शक्तिहरु र हिजोका सामान्ति शक्तिहरु फेरीपनि फुक्का रहने र नेपालको अशिक्षित समुदाय अनि निरास समुहहरुलाइ परिचालन गरि देशमा एक किसिमको आतंक वा राष्टि्रय अस्थिरता फैलाइरहन सक्ने सम्भावनालाइ अहिले कम्तिमा नकार्न सकिदैन । मुल्य बृद्धि र देशमा बढ्‍दै गएको बेरोजगारिको कारण उत्पन्न हुने सबैखाले बिकृतिहरुलार्इ परिचालन गरि आफनो पक्षमा प्रपोगाण्डाको लागि होस वा र्‍युमरको लागि निश्चित रुपमा कुनै पनि अपि्रय घटनाको संभावना रहिरहन्छ ।
ब्यक्ति ब्यक्ति मिलेर परिवार बन्छ, अनि परिवार परिवार मिलेर गाउ समाज बन्छ अनि त्यो गाउ/समाजहरु मिलेर बल्ल राष्ट्र बन्ने हो । अब राष्ट्र बन्न लाइ समाज बन्नु पर्‍यो र समाज बन्नलाइ परिवार बन्नु पर्छ । अर्थात ब्यक्ति ब्यक्तिमा परिवर्तन आएन भने सिं¨गो राष्ट्र बन्नलाइ ब्यक्तिको स्वभाव, चिन्तन, वानि व्यहोरा अनि क्षमतामा बृद्धि र बिकास हुनु पर्दछ । त्यसनिम्ति देशवासिले सुझबुझका साथ बृहत रुपमा राष्ट्रलार्इ समाहित गर्न सक्ने पार्टी वा नेतृत्व छनौट गर्नुपर्ने र समानुपातिक प्रतिनिधित्वको समावेसि वा समुहिक अवधारण विकास गराउन जरुरी छ । तर त्यहि ब्यक्ति विचमै बैमनस्यता तथा गरिव निमुखा जनतालाइ चर्को भन्सार असुल्ने, सामान्य जनताले चेलिबेटि बेचविखन गरेको भेटेमा कार्वाही गर्ने तथा सरकार संचालनमा रहेको ब्यक्ति निकटका मानिसहरुले जत्रो सुकै अपराध गरे पनि दण्ड नहुने हो भने यो देशले कहिले पनि कोल्टो फेर्न सकिदैन । त्यसैले अहिले गठित नया सरकारले यो दण्डहिनताको अन्त्य गरिनु पर्छ र म जस्ता सर्वसाधारणले पनि चैन र आरामको जीवन ब्यतित गर्न पाउनु पर्छ । देशले राजनैतिक निकास मात्र खोजी रहने, ६, ६ महिनामा पालो फेरी फेरी सरकार मात्र फेरी रहने र अहिले त झन ‍तिन महिना मात्रै समय तोकिएको छ क्यारे अब जता गयो फोरम उतै पुग्ने कोरम पनि फुटेर टुक्रा टुक्रा भै एक अर्का संग नमिलेर अरुको खुट्टा तान्ने प्रयत्न मात्र गरि रहने हो भने म जस्तै करोडौ नेपालीको भविष्य अन्धकार छ । त्यसैले शान्ति सुरक्षा र अमन चैनको स्थीति सृजना गराउनु सरकारको अहिलेको तात्कालिन कर्तव्य हो । शान्ति सुरक्षा नै अहिलेको आवश्यकता पनि हो त्यसैले बन्द, हडताल र दोषारोपनको राजनीति बन्द गरिनु पर्छ । आपराधिक घटनामा संलग्न दोषीहरुलाइ नेता तथा मन्त्रि नै भए पनि कार्वाही गरिनु पर्छ । अब नया ढंगले सहमति खोजिनु पर्छ नत्र पुरानै सैलीका ब्यवहार भइरह्यो भने फेरि पनि विकासले छलाङ मार्ने सम्भावना कमै रहन्छ ।

Monday, June 8, 2009

लाल सलाम

पृष्ठभुमीमा एक पुरुष आवाजले विभिन्न बिषयवस्तुको बारेमा ब्याख्या तथा बिश्लेषण गरि रहेको हुन्छ र सान्दर्भिक स्थानहरु पनि पर्दामा देखिइदै आउछन् । एउटा बिहान गाउका ठकुरी चिरीच्याट्ट परि कहि जान निस्कन्दै छ । त्यहि समयमा एक जना दलित टुप्लुक्क आगँनमा आइ पुग्छ । जदौ हजुर के भनेका हुन्छन मुख भरीको गाली र डुमरे का संज्ञाले सम्मानित हुनु पर्छ ति निर्दोष र निरिह मानिस । बिना गल्ति गाली खाइ पिडा बोध गरि पछाडी के फर्केका हुन्छन ति दलित ठकुरीनी आमै पानी लिएर आउदै गरेको बेला अनायासै छोइदिन पुग्छ फेरी गालीका साथै बिहान बिहानै चिसो पानी टाउकै बाट खनिन पुग्छ । एउटा पुरानो गाउको माटोले लिपिएको भित्रको भर्याङ समेत बाहिरैबाट देखिएको सिकुवा भएको घर जहा एक जड्याहा बस्ने गर्दछ जसले जहिलै पनि श्रीमतिलाई मादक पदार्थको मात लागे पछि कुट्ने गर्दछ । घरमा एक दाना अन्न नभए पनि गाउमा रक्सी खाएर आउदा खानेकुरा पकाइनस भन्दै चादे लगाउछ र एक दुइ शव्द फर्काउदा घरबाटै निकालिन पुग्छन । पिडा खप्न नसकी छटपटिएका श्रीमति समाज भेला गराउन पुग्छन । तर पुरुष बादी चिन्तनले ग्रस्त नेपाली समाजमा एक निरीह महिलालाइ कस्ले दिने साथ यस्ता श्रीमानको मान मर्यादा गर्न नजान्ने महिलालाई गाउमा राखेमा गाउ भरिका सबै महिला उस्तै हुन्छन भनि डाडै कटाइन्छ ।

बिहानी लगभग नौ बजे तिरको घाममा केही भद्र पुरुषहरु लर्को लागेर कमरेड लालबिरको घर हुदै माओवादीको केन्द्रिय समितीको पुर्ण बैठक भए तिर लागी रहेका हुन्छन ।लामो छलफल र बहस पछि एउटा ठोस निर्णय आउछ जनयुद्दको सुरुवात। रातारात भित्ताहरु रंगाउने तथा पोस्टरहरु टास्ने साथै मसाल जुलुस निकाल्ने कार्यको सुरुवात हुन्छ । केहि संका लागेका ब्यक्तिहरुलाइ रातारात घरमै गएर चुट्ने पिट्ने तथा बिभिन्न किसिमका सजाय दिएर छाडि दिन्छन भने जाड रक्सी सेवन गर्नेलाइ कान समातेर उठबस गर्न लगाउने आदी काम गर्न थाल्छन । कृषी बिकास बैंक कब्जामा लिइ त्यहाका रिणीहरुको धितो राखीएको काजगहरु च्यात्ने र जलाउने कार्यका साथै लाल पुर्जा फिर्ता पनि गरिदिन्छन । बाटोका बृद्द बृद्दालाइ भारी बोक्न सहयोग देखी गाउ गाउमा पुगेर घास दाउरा जस्ता काममा सहयोग गर्ने र विश्वासीलो पात्र बन्न माओवादी जनयोद्दाहरु तल्लीन देखिन्छन । यसै बेला जंगलको बिचबिचमा अत्यन्तै बिकट ठाउहरुमा सैन्य तालिम पनि गर्नै गराउने र दुष्मनहरुको अखडामा गएर हमला गर्ने ग‌र्न थाल्दछन ।
मध्यरातको समय पारि बिभिन्न प्रहरी विटहरु जलाउनुका साथै भवनहरु ध्वंस गर्ने कार्य पनि सुरु हुन्छ ।
उनीहरुले यस्ता बिध्वंसका काम मात्र नभै सडक खन्ने कार्य पनि सुरु हुन्छ । यस्तैमा दोहोरो ठुलो भिडन्त सडक खन्ने ठाउमा हुन्छ र त्यहा कैयौ गाउले निर्दोष पनि पिल्सन्छन त कति महिला बलत्कृत हुन्छन भने कति माओवादी कार्यकर्ताको आखा पनि निकालिन्छन । यहिबाट सुरु हुन्छ सहि रुपमा दुष्मनी र बैमनष्यता । गाउगाउका निर्दोष मानिस माथी सैन्य कमाण्डरहरुको हमला र ज्यादतिका कारण संम्पूर्ण गाउबासीमा आतंक फैलन्छ । यस पछि चर्कन्छ देशब्यापि रुपमा युद्द । चलचित्रको अन्त १९ दिने दोश्रो महान जनआन्दोलन पश्चात गणतन्त्र घोषणा संगै भएको छ ।

समग्रमा ठिकै ठिकै बिषयबस्तु समेटेको चलचित्र हो लाल सलाम । नेपालका केही सुन्दर ठाउहरुलाइ देखाइएको छ यो एउटा राम्रो पक्ष हो । संकटकालमा नेपाली सेना तथा प्रहरी जवानबाट भएका ज्यादती लाई केही नजिकबाट देखाइएको छ । एउटा दृष्य जसमा एउटी महिलाको बलत्कार पछि आखा निकालिएको छ त्यो भने पक्कै दर्दनाक र हृदय बिदारक नै छ तर नया पात्रहरु भएको कारण सबै सबै कलाकारको अभिनय अत्यन्तै कमजोर, बनावटी र अत्यन्तै अश्वभाविक छन। सैन्य कमाण्डर भएर भाषण गर्दै हिड्ने पनि तिनै र कुनै साँस्कृतिक कार्यक्रममा नाच्ने कलाकार पनि तिनै हुदा अलि असोभनिय दृष्यहरु पनि रहेका छन ।

शीवजी लामीछानेको निर्देशनमा बनेको लालसलाममा इश्वरचन्द्र ज्ञवाली गणेश भण्डारी र शीवजी लामीछानेको पटकथा तथा छ भने तारा थापाको सम्पादन रहेको छ साथै भीम रानाको छायाङकन । खासमा लाल सलाम देशकाल र परिस्थितिलाइ समेटेर बनाउन खोजिएको चलचित्र हो । माओवादी पार्टी कसरी जन्म हुन पुग्यो । माओवादीहरु जनयुद्दमा कसरी होमिन पुगे भुमिगत हुदा उनीहरुले के के समस्या झेल्न परेको थियो भन्ने बिषयको सेरोफेरोमा रहेको छ लालसलाम। तर सबै र सधै झै यस चलचित्रले पनि आफुले त कुनै गल्ति नै गरिन्न । जस्तो भए पनि आफ्नै कुरा मात्र सहि र आफुले गरेको मात्र ठिक भन्ने मेरो गोरुको बार्है टक्का भन्ने उखानलाई भने चरितार्थ गरेकै छ । माओवादी ज्यादतिको बारेमा अनभिज्ञ रहेका नेपालीहरु नेपालमा बिरलै भेटिएला जवकी लाल सलामले त्यो पक्षलाई पटक्कै छोएको छैन ।
नयाँ विषयवस्तुलाई छोएर नयाँधारमा बनाइएको भनिए पनि यो चलचित्र ठिकै मात्र छ । यो भन्दा अगाडि नै द सारी सोल्जर हेरी सकेकोले होला त्यसमा जतिको मार्मीकता लालसलाममा पाइन्न । हामी पिडीतहरुलाई थाहा छ कि कति सरकारबाट दमन भयौ र कति माओवादीबाट । आखिर दोहोरो मारमा पिल्सने जनता त हामी नै थियौ नी त्यसैले यदि चलचित्रले देखाउने नै हो भने दुवै पक्षको खुलेर आलोचना तथा आत्मालोचना गर्न सकेको भए चलचित्र निकै स्तरीय हुने थियो । सेना पक्षको ज्यादतीलाई जति राम्ररी देखाएको छ त्यती माओवादी पक्षको ज्यादतिलाई देखाइएको छैन ।
यहा माओवादी पार्टीमा लाग्न तथा भुमिगत हुनलाई घरका बुवा आमाले नै आशिर्वाद दिइ फुलमाला लगाएर पठाएका थुप्रै दृष्यहरु छन तर मलाइ जहा सम्म लाग्छ कुनै पनि आमा बुवाले जानी जानी र देखि देखि आफ्ना सन्ततीलाई त्यती सजिलै बिदाइ गर्दैनन् । लालसलाम पश्चिमी नेपालको सेरोफेरोमा रहेर बनाएको हो भने ठिकै छ होला । थाहा छैन सायद पश्चिमी नेपालका मानिसहरुले त्यसै गरि पठाएका थिएकी लडाइको मैदानमा युद्द लड्नलाई‌‌‌‌ । म यस बिषयमा अनभिज्ञ छु तर मेरो पुर्वको सन्दर्भमा भने यो सतप्रतिशत झुठो छ ।

ललाइफकाइ जालझेल र जबर्जस्ती मा धेरै गाउले माओवादी भएका थिए । कति घरबार पढाइ छाडेर लापत्ता भएका अहिले सम्म घर आएका छैनन । यस मध्य मेरै घरकी एउटी बहिनी अहिले सम्म अधकल्चो पढाइमा रुमल्लीएर रहनु परेको छ । र मेरै कुरा गर्नु पर्दा म पनि कैयौ पटक भागेर सहरमा लुक्नु परेको तितो यथार्थ म सँग ताजै छ । हुन सक्छ त्यो मेरो कमजोरी होलाकी उनीहरु जस्तो महान युद्दमा बन्दुक बोक्न म जान सकिन । देश र जनताका लागि केही गर्न सकिन । त्यस बेला मलाइ ज्यान मार्ने धम्की दिने साथै मेरो परिवारका सदस्यहरुलाइ मानसीक तनाव दिने आदि कार्य कति भयो कति । दिनै पिच्छे दश पन्ध्र जनालाइ खाना खुवाउनु र महिनै पिच्छे चन्दा दिनु त मेरो परिवारको नित्यकर्म भएको थियो । यहि पिडा सहन नसकी आफ्नो प्राण भन्दा प्यारो मातृभुमिलाइ चटक्क छाडेर नया परिवेश नया माहोलमा रम्न अहिले सम्म बाध्य छन मेरा परिवार । यस्ता हजारौ लाखौ उदाहरणहरु जिवितै छन त्यस्ता पक्षलाइ भने केलाउन सकेको छैन लाल सलामले। भन्नै पर्दा हेर्नै पर्ने चलचित्र भने पक्कै पनि होइन लालसलाम ।