Wednesday, September 28, 2011

स्वर्गको अनुभुति दिलाउने त्यो ठाउ मनाङ



जिबनका उकाली ओरालीहरुमा आरोह अवरोह पार गर्दै घुम्ने क्रममा एक स्वर्ग झै लाग्ने ठाउ मनाङमा पुगे जहा नेपाली भएर जन्मि सके पछि हरेक नेपालीले एक पटक पुग्नै पर्छ र प्रकृतिलाइ नियाल्नु पर्छ भन्ने मेरो मान्यता गत असार देखि बनेको छ । मनाङ यात्रा मेरो जिवनको एतिहासीक र साहसिक यात्रा मध्येको एक हो । मेरो ब्यक्तिगत भ्रमण नभै पशुपतिको यात्रा सिद्राको पनि ब्यापार भने झै तरिकाले उक्त स्थान पुगे पनि अब आउने दिनमा फेरी पनि त्यस ठाउमा ब्यक्तिगत भ्रमण बनाएर जाने सोच बढेको छ । हुनत पर्यटकिय क्षेत्र भएर पनि हुन सक्छ अत्यन्तै सहयोगि र मिलनसार मिजासका मानिसहरु मनाङमा बस्छन् । बिषेश गरि काठमाण्डौ तथा त्यस्तै सहरी क्षेत्रमा मानवत्वको भावना भुलेर ब्यवहार गर्ने ठाउमा बसि वाक्क भएको भए यो ठाउमा जानु राम्रो हुनेछ । मनाङेहरुको पाहुना प्रतिको सत्कार र आफ्नोपन अरुठाउ मैले पाएको छैन त्यसैले पनि एक पटक त्यो ठाउ जानु पर्छ। अझ प्राकृतिक सुन्दरताको हिसाबले भन्ने हो भने झनै जानु पर्छ ।



कुल क्षेत्रफलको २२४६ वर्ग कि मि ओगटेर गण्डकि अञ्चलमा मनमोहक दृष्यहरु अग्ला भिराला पहाड र उच्च हिमश्रृखलालाइ लिएर रहेको नेपालको दुर्गम जिल्लाहरु मध्यको एक हो मनाङ । बहुमुल्य जडिबुटि बनसम्पदा अपार जलश्रोतको धनि यस जिल्लाका अनेक अनौठो अनौठो बिषेशषताहरु छन् । जम्मा जस्तै १३ गाविसमा ११७ वडाहरु छन् र तर त्यहा एक घर परिवार पनि स्थायी व्राम्हण क्षेत्री पाइन्दैन । मर्स्याङदि दुधखोला नारखोला थोराङखोला सब्जेखोला माडा खोला डोना खोला आदी जस्ता ठुला ठुला खोलाहरु रहे पनि यी कुनै खोलामा पनि एउटै पनि माछा पाइन्न रहेछ । जिल्लाको कुल क्षेत्रफल २१९६२६ हे मा एकै गेडा पनि धान उत्पादन हुदैन । करिव ३ बर्ष अघि त झन कारागार भएको तर कैदि नभएको जिल्ला भनेर पनि चिनिने रहेछ तर नार घटनाले उक्त भनाइ हट्न पुगेछ ।



यहा पुग्नको लागि एक मात्र हवाइमार्ग काठमाण्डौ पोखरा पोखरा मनाङ हुम्दे रहेको छ । तर प्रतिकुल मौसमका कारण वर्षायाममा करिव ३ महिना उक्त मार्ग ठप्प हुने हुनाले त्यहा जानको लागि पैदल यात्रा मात्र बैकल्पिक मार्ग हो । लमजुङको बेशिसहर देखि चाम्चे सम्म गाडिको जोखिम यात्रा पश्चात सुरुहुन्छ गगनचुम्बि भिरहरुको यात्रा। एकान्त गोरेटो बाटो मर्स्याङदिको तिरै तिर करिब ३ दिनको कडा पैदल यात्रा पश्चात मात्र मनाङ बिमानस्थल पुग्न सकिन्छ तर यदि बिमानको यात्रा गर्ने हो भने सदरमुकाम चामे र त्यो वरि परि अझ लम्जुङको सुन्दर पहाडहरुलाइ चुम्नबाट बन्चित हुने छ ।

जति हिडे पनि एक पछि अर्को उस्तै उस्तै पहाड र बिकट बाटो खोलाको भिर भिर जादा आकाश साघुरो र अग्रेजी भी आकारको देख्न सकिन्छ पछाडि फर्केर हेर्दा सानो गल्छेडि भित्र मधुरो गाउ देख्न सकिन्छ । सदरमुकाम चामे देखी करिब ४ घण्टाको उकालो पश्चात ढिकुर पोखरीको प्रस्थानबाट भने आकाश फराकिलो हुदै जान्छ । हिडाइले लथ्रक्क गलेको शरिर पहाडी हुदै हिमाली मनोरम दृष्य साथै चिसो र शान्त हावाले एकखालको उमँग छाइरहन्छ । सुन्दर कलात्मक पहाड तथा हिमदृष्यहरुले शरिरका थकान मेट्दै जादा आनन्दको अनुभुति हुन्छ । जति जति माथी गयो उति उति मनमोहक दृष्यहरुले मन हरेर लैजादा आफ्ना पिर व्यथा भुलेर स्वर्गको अनुभुति दिलाउने त्यो क्षण कसैले पनि कहिले पनि भुल्ने छैनन् ।





आखा अगाडि नाकै ठोकिने हिमाली दृष्यहरुले प्रफुल्लित मन माथिल्लो मनाङमा पाइला टेकेपछि समथर फाटमा पुग्ने बितिकै सँसारकै साना गाइ लुलु पनि देख्न पाइन्छन् भने हिउद तिर चौरी गाइ तथा अन्य जँगलि जनावर पनि देख्न पाइन्छन । मसिना मसिना धुपि सल्लाका रुखहरु चौर भरि फैलिएका छन् । मुनि कलकल मर्स्याङ्दी नदि माथी अजँगको भिर स्वर्गद्वारीको मुनि रहेको त्यो बिशालकाय पत्रे चट्टान देउरालिबाट देखीने ति हिमदृष्य हुम्दे बिमानस्थल माथि पुगे पछिका अनेक आकृतिका माटोका पहाडहरु अँगालै हाल्न मिल्ने गरि देखिने ति अन्नपूर्ण हिमाल, पिसाङ, ङावल, घ्यारु , मनाङ टँकिमनाङ तथा भ्राका जस्ता माथिल्लो मनाङको भिताभरि टासिएका घरहरु वारपार भिताको पर्खाल झै देखिने सुन्दर बस्तिहरु जति बयान गरेर पनि नसकिने यस प्राकृतिक छटामा पाइला टेक्दा लाग्छ साच्चै स्वर्गको एक टुक्रा यस धरतिमा खसेको हो कि? हिमताल तथा सँसारकै उचाइमा रहेको तिलिचो ताललाइ स्पर्ष गर्न पाउनु तथा सँसारकै अग्लोपदयात्रा गरेर मनाङको थोरङ क्रस गरि मुस्ताङको मुक्तिनाथ तथा जोमसोम पुग्नु पाउनु एकबारको जुनीको अहोभाग्य मान्नु पर्दछ । वास्तवमै प्रकृति सँग लुकामारी खेल्ने नै हो र नजिकबाट नियाल्ने नै हो भने मनाङ तथा मुस्ताङको यात्रा गर्नु अत्यन्त आवश्यक छ ।



1 comment:

कैलाश said...

एक्लै जानु भो भनेर मैले भनेको थिए, तर अब संगै भैईयो खुशी लग्यो मनु