Saturday, September 3, 2011

अन्यौलतामा रुमलिएको हाम्रो भविश्य


शिक्षा, स्वास्थ्य, खानेपानी, आदी मानव जीवनको आधारभुत आवश्यकताहरु हुन् भनेर भनिरहनु पर्दैन । तर पनि यिनै भौतिक तथा आधारभुत आवश्यकताको पूर्ती गर्न नसकेर हाम्रो देश हरेक पक्षबाट काकाकुल अवस्थामा पुगेको छ । शिक्षाको लागी गाउ गाउमा शिक्षाको उज्यालो पुराउने भन्ने नियम छन् तर विद्यालय छैनन्, विद्यालय छन्, शिक्षक छैनन्, शिक्षक छन् पाठ्य पुस्तक छैनन्, केन्द्रतहमा यी सवै कुरा छन्, यसबाट उत्पादित दक्ष र योग्य जनशक्ति लार्इ रोजगार छैन, शान्ति सुरक्षाको प्रत्याभुती गर्न पाएको छैन, मानब अधिकार हनन भै रहेका छन् । स्वास्थ्यलार्इ हेरौ, केन्द्रमा योजना बनेका छन्, नीति नियम छन् तर जिल्ला तह सम्म आइपुग्दा अस्पताल छैन, अस्पताल छन् डाक्टर छैनन्, डाक्टर छन्, ‍औषधी उपचार छैन, यी सवै छन् एउटा मुर्दाघर छैन मानव जिवनमा अत्यावश्यक मानीने स्वास्थ्य सँस्थाको यस्तो जर्जर स्थीती छ । पानी कै कुरा गरौ, दक्षिण एसियामै पानीको दोश्रो धनीको रुपमा कहलिएको हाम्रो देश जहा एक घुट्को पानीको थोपा नपाएर सयौ मानिस छटपटिएका छन् । ठुला भनाउदा नेताहरु तिनै पानीको व्यापार गर्छन, राजनीति गर्छन अझ भनौ डलरको खेती गर्छन तर मध्यम तथा निम्न बर्गिय हामी जनताहरु काकाकुलको काकाकुल। हजारौ साना ठुला खोला कुवा धारा पधेरा देखेका छौ , सयैा खोलानाला चिनेका छौ तर विडम्वना तिर्खालागेको बेला एक घुट्को पानी पाउन निकै हम्मे पर्छ । पूर्व मेची देखी महाकाली सम्म केही भाग पानीको हाहाकारबाट मुक्त भएता पनि प्राय जसो ठाउमा मानीसले काकाकुल वन्नै परेको छ ।

जनसँख्या दिन दुगुणा रात चौगुणाको दरले बढी रहेका छन् तर उपभोग्य वस्तुहरु ठ्याक्कै त्यसको विपरीत हुदैछ । पूर्वाधार विकासक्रमको लहर चैत्रमा डडेलो सल्केझै सल्किएता पनि काम तथा नतिजा भने सुन्य देखिन्छ । खानेपानी तथा धारा घरघरमा , विधुत तथा सडक गाउ गाउमा भन्ने नाराका साथ जि.वि.स. गा.वि.सका योजना अगाडी बढेता पनि कार्यान्वयन हुन सकेको छैन। अचम्म त के भने धारा छ पानी छैन, विधुतको पोल छ विधुतीय तरँग अर्थात करेन्ट छैन। सडक गाउ गाउमा पुगेका छन् तर यातायातका साधन सुन्य छ । यो हरेक कुरा छैन छैनको स्थिति सृजना भै रहेतापनि योजनाहरु बन्न भने रोकिएका छैनन् । माथीका केन्द्रिय तहमा रहने ठुला भनाउदा नेताहरु तिनै पानी, सडक, विधुत आदीको योजना बनाउन तारे होटल धाउछन्, करोडौको लगानी गर्दैछौ भनी कागजमा सहि धस्काउछन्, तर हामी निम्न बर्गिय जनताहरु आशै आशमा निराश हुनु बाध्य छौ ।

अव फलाना ठाउको लागी योजना आयो रे, अव चाडै हाम्रो समस्याको समाधान हुने भो भनि फुरुगँ परेका विचरा हामी योजनको सुरुवाती दिन पर्खदा पर्खदा केश फुलेर फुस्रै भै सक्दा पनि काम सुरु हुन सक्दैन। कुनै कुनै काम सुरु नै भए पनि अन्त्य भएर लाभ लिन सकि रहेको हुदैन । अलि थोरै लगानीमा धस्काइएको सही हो भने केही दिनको पर्खाइ पछि केही दिनलार्इ मात्र भए पनि फल लिन सफल हुन्छौ । कुनै विदेशी नियोगले डलर वा पाउण्डस्टर्लीमा भिक्षा दिन्छन्, त्यो भिक्षा नेपाली जनता सामु आइ पुग्दा नेपाली रुपीयामा परिणत भै सक्छ अझ योजना कार्यान्वयन हुने ठाउमा आइपुग्दा त्यो रुपैया पनि पैसामा बद्ली सकेकेा हुन्छ । अव त्यो पैसाको लगानीले बनेको जुन कुनै पुर्वाधार बन्दा बन्दै जिर्ण भै सक्छन्। कुनै कुनैको एक वर्ष सम्मको लामो आयु हुन्छ तर अर्को सालत समस्या ज्युको त्युँ । झोलुगे पुल बन्छन् उद्घाटन अगावै भत्किएर जिर्ण हुन्छ, भवन निर्माण गर्छन वनि सक्दा हिमाल पहाड झै जिग्रीग रुप लिएर उभिदा कसैले लौरोले कोट्याउदा समेत पक्कि घरको छतबाट बुबुंती धुलो झर्छ । तर पनि हामीले विकास गरेका छौ भनेर गर्वका साथ कुर्लिन नेताहरुलार्इ लाज लाग्दैन ।

धन्य हामी नेपाली नियतीको खेल टुलुटुलु हेर्न बाध्य छौ। संविधान बनाउनका लागी चुनिएका सभासदहरु धमाधम नानाथरीको काण्डले निलम्वनमा पर्दैछन, सम्विधानको म्याद थपेको थपेकै प्रधानमन्त्रि फेरीएको फेरीएकै। नखाउ त दिनभरिको शिकार खाउ भने कान्छबाउको अनुहार भन्ने नेपाली उखानको चरितार्थ गरेको छ हालको अवस्थाले । खैर यस्ता गन्थन मन्थन थन्काउ यही कुनो तिर । अव गर्नै के त? उहि पुरानै कथा? अरुको कुरो काट्ने आफु पनि केही नगर्ने । अँह पटक्कै होइन। यि माथीका समस्या कुन मुलुकमा छैनन? सवै तिर छन् भ्रष्टाचार कहा छैन सबै देशमा छ तर हाम्रो बानी हजार राम्रो गुणमा एउटा मात्र अवगुण भेटाए तिनै अवगुणलार्इ खैरो खन्दै जान्छौ । अव विस्तारै सोच्ने शक्तिमा परिवर्तन ल्याउनु पर्छ । रोग छ, शोक छ भोक छ तर पनि हामीमा सबै थोक छ ।

हामीले आधा ग्लास पानी होइन आधा भरी पानीको मेथोडले अगाडी बढ्नु पर्छ । हामीले आफ्नो धरातल विर्सनु हुन्न मुख्य कुरा । हामी विश्वको दशौ महा गरिव देशमा पर्छौ त्यसैले हामीले युरोप र अमेरीकाको जीवन खोज्नु सार्थक छैन । हामीले पाएका शिक्षाले काम गरेर खाने भन्दा मुख बजाएर खाने सिप सिकेका छौ त्यसैले यो सिकाइलार्इ विस्तारै निरुत्साहित गर्दै मुख बजाएर हैन पाखुरी वजाएर खाने बातावरणाको सृजना गर्नु पर्छ । नेपालीहरुले अर्काको नक्कल चाडो गर्छौ तर हामी कुन धरातलको कुन कित्तामा उभिइ रहेका छौ भन्ने कुरा त भुसुक्कै भुल्छौ । कामलार्इ सम्मान गर्न जान्दैनौ तर अपमान गर्न पनि पटक्कै चुक्दैनौ यो प्रबृतिको निर्मुल गर्नु जरुरी छ । मुख्य कुरा सोचमा परिवर्तन आउनै पर्छ । यदि खयालत उही पुरातनबादी सोचले ग्रस्त छ भने टु पिस र मिनी स्कर्ट लगाउदैमा आधुनिक नारी भइदैन । हामी अर्काको देशमा जे पनि गर्न तत्पर हुन्छौ, त्यो जे भित्र जे पनि पर्न सक्छ तर आफ्नो देशमा काम गर्नु भन्दा अगाडी के भनेर प्रश्न गर्छौ । त्यो के लार्इ परै राखेर जे पनि गर्ने मानसिकता तयार गर्नै पर्छ । युरोप, अमेरीका जस्ता विकसित देशहरु त्यसै विकसित भएका हैनन् नत उनिहरु सुरुमै विकशित थिए । हाम्रो देशमा जस्तो काम गर्ने बेलामा के भनेर बसेको थियो भने उनीहरु पनि हाम्रै हाराहारीको कित्तामा उभिन्थे होलान् तर उनीहरु कामलार्इ के भनेर बसेनन् र भन्दैनन् पनि । हामी बाह्र महिनामा ४ महिना काम गर्छौ बाकी ८ महिना सुतेर विताउछौ त्यहि सुताइको क्रममा सुताइ धेर भएर निदाउन नसके पछि चियो चर्चा, अरुलार्इ घोचपेच छेडछाड गर्दै विताउछौ । विकसित मुलुकमा २४ घण्टामा १८ देखि २० घण्टा काम गर्छन हामी नेपाली नै पनि त्यति काम गर्न तत्पर हुन्छौ तर स्वदेश भित्र हामीलार्इ त्यति काम गर्न लाज लाग्छ । तर विडम्बना दिन दहाडै अर्कालार्इ लुटपाट गर्न, अरुलार्इ खिसी गरेर उडाउन, घोचपेच गरेर बोल्न लाज तथा सरम लाग्दैन । त्यसता प्रबृत्तकिो अन्त्य नभए सम्म न त समाज समृद्द बन्न सक्छ न त ब्यक्ति नै सभ्य बन्न ।

समाज परिवर्तन गर्नेहरुले पनि आफुलार्इ परिवर्तन गर्न सक्नै पर्छ । देश विकाश गर्नेहरुले पनि आफुलार्इ विकास गर्नै पर्छ । थालनी गरि सके पछि निश्चय नै गन्तब्यमा पुगिन्छ । हाम्रो जस्तो बहुजातिय बहुभाषिक र बहुसँस्कृतिको धनि मुलुकमा दलिय स्वार्थ र व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर म को हुँ भन्ने पहिचान गर्न सक्नु बुद्दिमानी हुने छ । शिक्षाको परिपाटी परिवर्तन गरी व्यवहारीक सिप सिकाउने हुन जसले पछिका दिनमा मुख बजाएर हैन पाखुरी बजाएर आफ्नो क्षमता प्रर्दशन गर्न सकुन ।

हरेक नागरिकले शान्ति सुरक्षा, न्याय र अधिकारको प्रत्याभुतीको बारेमा प्राथमिक तथा प्रारम्भिक तहबाटै ज्ञान लिन सकुन । हामी सँग अझै पनि दुइ खाले शिक्षा छ एक हुने खानेले आर्जन गर्ने शिक्षा र अर्को नहुने खानेले लिने शिक्षा तर सम्पूर्ण नेपाललार्इ एउटै डालोमा हालेर मुल्याकन गर्ने नीति नियमले भने लाखौ नेपाली जनता मर्कामा परेका छन् । काठमाण्डौको सुविधा सम्पन्न विधालयलार्इ हेरेर गरेको निर्णयले पक्कै पनि ताप्लेजुङ, मनाङ, हुम्ला र कर्णालीको जनतालार्इ हित गर्दैन । भनाइको तात्पर्य रातो वँङगला र लिटिल एन्जल्स तथा सेन्ट जेभियर्सबाट उत्पादीत विधार्थी र मनाङ को लोक प्रिय उच्च मा वि तथा चुङमाङको भारती मा.वि वा फलाटे मा.विबाट उत्पादीत विध्यार्थीको शैक्षिक योग्यतालार्इ प्रतिस्पर्धामा ल्याइनु उचित हुन्न । सकिन्छ भने राज्यले सवै विधालयलार्इ समानखालको पाठ्यक्रम प्रदान गरिनु पर्छ नभए पनि व्यवहारिक तथा व्यवसायिक शिक्षा निती ल्याउन जरुरि छ।

हामी मानीसको बुद्दि र क्षमता फरक फरक छ कसैको क्षमताले पाइलट बन्न सक्ला त कसैले सियो बनाउन केही भएन गारो लाउन वा घर बनाउन। कसैले कल चलाउन सक्ला वा कैची अर्थात काटा कुरुस नै किन नहोस कमसे कम व्यबहारिक सिप दिने खालको शिक्षा ल्याउनमा जोड दिइनु पर्छ । धनिलार्इ अझ धनि गरिवलार्इ झन गरिव बनाउने प्रबृतिको निरुपन हुन जरुरी छ । यसको लागि नियम कानुन चुस्त दुरुस्त र सबैलार्इ समान किसिमले लागु हुने मुलुकी ऐन हुनु जरुरी छ । नियम मात्र भएर हने होइन सवैले पालना गर्न सक्नु पर्छ यसको लागी हामीमा अनुशासन हुनु जरुरी छ । हाम्रा नेता ज्युहरु भन्नु हुन्छ १० वर्षमा नेपाललार्इ स्विजरलैण्ड बनाइ दिन्छौ । तर एक देशलार्इ अर्को देश बनाउदैमा बन्ने चिज हो र थोरै ? दिवा स्वप्न देख्नु त पाउनु पर्छ तर त्यति अचाक्लि पनि होइन । आफ्नो घाटी हेरेर हाड निले राम्रो । उपलब्ध श्रोत र साधनलार्इ सके सम्म सदुपयोग गरेर हरेक समाज र त्यहाका नागरिकलार्इ अनुशासित तथा सक्षम बनाउने हो भने न त १० वर्ष लगाएर नेपाललार्इ स्विजरलैण्ड बनाइ रहनु पर्छ न त बैकक । त्यो भन्दा हजार गुणा राम्रो आफ्नै समृद्द नेपाल बनाए कसो होला ?

No comments: