मान्छेहरुको माझमा म फेरी हराउन थालेको छु
खै किन हो कुन्नी कुराहरु मनमै राख्न थालेको छु
पहाड चढ्ने यी पाइलाहरु त्यसै त्यसै गलेर
अगाडी पटक्कै नबढ्ने निश्चय गर्न थालेको छु
नयाँ सडक नयाँ मान्छे खोज्न थालेको छु
लक्ष बिहिनको गन्तव्य रोज्नु थालेको छु
यसैले होला बेचैनीले दिल गाल्न थालेको छु
भित्र भित्रै आफैलाइ पोल्ने पिडा पाल्न थालेको छु
बर्सौ देखी भगवानको नाममा लाख बत्ती बाल्न थालेको छु
आस्तिक होइन म मानवताको सिमा ढाल्न थालेको छु
सुन्दर सपनामा लिप्त भै आफैले आफैलाइ भुल्न थालेको छु
थाहै नपाइ आफ्नै संसारबाट भौतारिदै हराउन थालेको छु
यसैमा
म स्वार्थी मान्छे
मान्छेको लागी मैले गाली बेचेछु
पैसाको लागी मैले बाली बेचेछु
धन्दा नगर्नुस कहिले काही
खुला सडकमा ताली पनि बेचेछु
म पागल मान्छे
पागलपन मै बिलासीए छु
यही खोजमा भौतारीए छु
त्यस्तैमा कहिले काहि
निन्द्राको तन्द्रा बिचमै बौलाए छु
म फोहोरी मान्छे
बलेसी मै बसि रात काटेछु
बाग्मती मै माया प्रेम साटेछु
के नै भयो र कहिले काही न हो
साथी भाइ बिचमै फाटेछु
म झुटो मान्छे
जंगलमा बस्दा धेरै डोरीहरु बाटेछु
हुदा हुदा दुनियालाइ धेरै ढाटेछु
के नै पो बिग्रीएको छ र यहा
भनेको त आफ्नै खुट्टा आफैले पो काटेछु