Saturday, August 21, 2010

छापामार युवातीको डायरी

गएको यो महिनामा धेरै दिन पश्चात नेपाली कितावहरु हात परेको थियो । जसमा पहिला करिव महिना दिन जति अगाडी दुइ उर्गेनको घोडा र मयुर टाइम्स नरेश खपाङ्गी दाइ बाट पाएँ । फेरी एक दिन नेपालबाट एक जना साथी सँग अनलाइन गफ भो । कुरा कुरामा केही कितावहरुको नामहरु थाहा पाए । नेपालबाट छिमेकि दिदी आउदै हुनुहुन्थ्यो यहि मौका हो भन्ने लागेर भाइलाइ कितावको नाम दिए । बिकाश भाइले मैले भनेका प्राय सबै कितावहरु पाठाइ दिएछ । गत हप्ता मात्र फेरी अन्य पुस्तकहरु हात पर्यो यसमा झमक घिमिरे दि को जिवन काडाँ कि फूल, कृष्ण धारावासीको आधाबाटो अनि तारा राईको छापामार युवतीको डायरी । कितावको मोटाइ हेरेर सानो बाटै सुरु गर्ने जमर्को गरे ।

आफ्नै कोर्षको परिक्षा पनि नजिकिएको बेला थुप्रिएको छ कितावहरु । तर पनि मन थाम्न सकिन आखा अगाडी आइ पुगेका कितावको थुप्रोमा मन कसरी थामियोस र? समाचारहरुमा छापामारक युवतीको डायरी बारेमा पडेकी थिए । यसो कितावको साइज हेर्दा छापामार युवतीको डायरी नै थोरै पेजको देखे यहि बाट सुरु गर्ने निधो गरे ।

यो कितावकी लेखिका सानै उमेरको भएकोले पनि मलाइ अलि बढी रुचि जाग्यो । किताव पढ्न सुरु गरे यो एउटा उपन्यास हो । यो एउटा यस्तो कथा जहा एक जना छापामारकै जिन्दगीलाइ नजिक बाट नियाल्न सकिन्छ । सरल र सरस भाषामा लेखिएको उपन्यास जसलाइ जो कोहीले सजिलै बुझ्न सकिन्छ । गणेश रसिक दाईले भने झै अबोध निष्कपट र गहिरो सँबेदनामा डुबेको छ। यो गाथा लेखिका ताराको मात्र नभै विगत एक दशकमा अग्रगामी छलाङ मारी देशको आमुल परिवर्तका नाममा छापामार भएका सम्पुर्ण नेपाली चेलीहरुको कथा हो ।

लेखाइ तारा बैनीको उमेर जस्तै कलिलो भए पनि धेरै कुरामा बास्तबिकता छ । पुस्तक पढ्दै जादा म आफ्नो मातृभुमी धनकुटा पनि पुगे । सल्लेरी, हुलाक टोल अनि रानीवन डुले । पुस्तककै कुनै खण्डमा पुग्दा खेरी करफोक शव्दले मेरो आदरणिय तथा आत्मिय दाइ रमेश राइलाइ पनि सम्झन पुगे । लेखिका तारा उनै दाइका गाउले बहिनी रहिछन । दाइ सँगको ति तिता मिठा पलहरु, चौतारीमा काम गर्दा लड्दै झगड्दै ललितपुरको समिट होटल हुदै धोबिघाट धाउदाका दिनहरु ताजा भयो । पुस्तकको धेरै वटा खण्डमा पुग्दा भने सेना र पुलिस ब्यारेक भित्रका भेदभाव अनि सानाले ठुलालाइ गर्नु पर्ने सम्मान बारेमा वास्तबिक चित्रहरु नाचे । म नेपालका प्राय सबै क्षेत्रहरु घुमेकी छु जहा जहा दाइको सरुवा हुन्थ्यो दाइ की प्यारी बहिनी म उहाको कार्यस्थान चाहार्न पुगी हाल्थे । त्यसरी जाने क्रममा मैले आफ्नै आखाले देखेका वास्तविच चित्रहरु कोरीएका छन डायरीका पानामा । कतिपय शाक्याशँहरुले मेरी दुइ जना उनैको उमेरको प्लस टु सकि सकेका बहिनीहरु सँग तुलना गरेर हेर्न बाध्य भए, उनीहरु लेखिका कै उमेरका छन तर आज सम्म आफ्नो लुगा राम्रो सँग धुन जानेको छैन । देश र जनताका बारेमा कुरा गर्नु त कता हो कता कतिपय बाक्यहरु यो भनेको के हो भन्न पछि पर्दैनन् । उनिहरुलाइ न त देशको चिन्ताको हावाले छोएको छ न त परिवार यहा सम्म कि आफ्नै भविष्यको । उनीहरुलाइ राम्रो लाउन र मिठो खान इन्टरनेटमा च्याट गर्न पाए सँसार सकियो । यति मात्र हैन म आफै सँग तुलना गरे उनको अगाडी के हो मेरो परिचय? उनको दिमाग भित्र एतिका धेरै कुराहरु छन् यति धेरै परिपक्वता तर ‌‌‌‌‌‌‌हामी मा ?

उपन्यास लेख्नु कुनै चानचुन कुरो होइन । अझ उनी ७ कक्षा सम्म मात्र पढेकी २० वर्षिया निम्न वर्गकी एक गाउले चेली उनको यो साहसलाइ कदर गर्नै पर्छ । यो कितावको बारेमा सुने हात पर्यो पढ्दै जादा उनको यो लेखाइले म आफै पनि विश्वास गर्न सक्दिन कि यो एक निम्न माध्यमिक तह सम्म अध्ययन गरेर छोडेको ब्यक्तिले लेखिएको हो भनेर । उनको लेखाइमा केही बचपना नै छ भने धेरै कुरो परिपक्व ब्यक्तिको झै । कि पढेर जानिन्छ कि परेर जानिन्छ भन्ने उक्तिलाइ यसले चरितार्थ गरेको छ । परिपक्व शव्दभण्डारका कारण यहा भित्रका कतिपय शव्दहरु पढ्दा लाग्दैन कि उनी २० वर्षकी कलिली र निम्न माध्यमिक तह सम्म अध्ययन गरेकी लेखिका हुन् ।मैले बल्ल थाहा पाए कि म मा कति धेरै सँकिर्ण सोच रहेछ । मैले अहिले सम्मको मेरो सँगतले सिकाएकै यहि थियो कि लेखक तथा साहित्यकार भनेका बालकृष्ण सम, डा गोबिन्द भटराइ, कृष्ण वस्ति , आचार्य प्रभा आदी आदी मात्र ले लेख्न सक्छन म लगाएत हामी साना उमेरका मानिसहरुले यस्ता ठुलाकाम गर्न सक्दैनन् भन्ने ज्यादै सानो सोचाइ रहेछ । यस पुस्तकमा पाइएका अली मन छुने बाक्यशँहरु यहाहरु सँग पनि बाड्न चाहन्छु

त्यो हेराइमा वर्गीय मायाको अथाह सागर थियो । त्यो बेलाको साथीहरुका पीडालाइ मैले महसुस गरेकी थिएँ । उनिहरुका आखामा मलाइ बचाउन नसक्नुको पिडा थियो । त्यो असहज अवस्थामा आमुल परिवर्तनको खोजी र नया नेपालको निर्माण गर्न हिडेको भन्न चाहीनँ पृ १९।

जनताको कर र पसिनाले बाँचेको सेनाकव असभ्य अभद्र ब्यवहार र नमीठो बोलीचाली देखेर म छक्क परेँ। मलाइ लाग्यो यी सैनिकहरुले देश र जनता प्रतिको कर्तब्य बुझिदिए तानाशाहीहरु यसरी जम्ने थिएनन् अकालमा गरिवका छोरा छोरी पनि मर्ने थिएनन् होला पृ २२।

तिमीलाइ छुटने मन छ कि छैन? म नबोली बसेँ । कसरी आफ्नो स्वार्थका लागी साथीहरुलाइ चिनाउन सक्छु र पार्टीको विश्वासमा म घात गर्न सक्दिन थेँ । एकाएक मेरो शरीर तातेर आयो । फेरी बोले छुट्ने मन छ छोडी दिनु हुन्छ भने ? छुट्न मन छ भने तिम्रा साथी चिनाउ । म त भर्खर त्यता हिडेकी त्यति थाहा छैन मैले कसरी चिनाउने सर म सक्दिनँ पृ ७३।

मैले समाजको कुरीति र कुसँस्कारको घेरा भित्र आफुलाइ जति नै बाँध्न खोजे पनि सकिनँ । र तिनै घेरा र सिमानालाई तोड्दै कुल्चदै म जनयुद्दमा सरिक भएँ । गरिवीको ज्वालामा पिल्सिएर आधापिल्टो हुदै साहुको ब्याजले थिचिएका निमुखाको नया सत्ता निर्माण गर्न सबै त्यागेर म युद्दमा हिडेँ पृ १२७ ।

तत्कालिन शाही सेनाको बख्तरबन्द गाडीले पनि जनतालाइ मौन सम्मान टक्राएर फर्क्यो । आन्दोलित जनता सडकमा नाङ्गो छाती थापेर सुतेपछि सेनाको बन्दुक पनि निकम्मा बन्यो । जनता सेनाको अगाडी पहाड बनेर उभिए । चट्टान बने जनता जसलाइ फोरेर जान सक्ने क्षमता शाही सेनाको थिएन । चौतर्फी दवाबले शाही शरकारले दमन गर्ने नीति अपनाए पनि क्रमश उ एक्लिदै गयो । विदेशी सहयोग पनि काटिदै गयो । आर्थिक नाकाबन्दि बैदेशिक दवाव बढ्दै गयो पृ १४०।

मौनतामा आँशु खसिरहदा सिरानी भिज्यो आफु महान् जनयुद्दको लाल सिपाही हुँ भन्ने नै बिर्सेछु । आँखाभरी आमाको मायालु तस्विर खेलिरह्यो पृ ९० ।

ढुङ्गाको मूर्ति अगाडी वरदान माग्नु बेकार थियो । सरकारको अन्धो भक्त जसले न्या दिन जान्दैन निर्दोष हो उ भन्ने जान्दा जान्दै । तर मैले यहाँ जेलरलाइ दोष दिन खोजेको हैन उनी पनि दास थिए । दास भइकन पनि मालिक बन्थे पृ १०० ।

मलाइ नमीठो लाग्यो सोचेँ कैदीहरुको मन मुटुबाट समबेदना भन्ने कुरा हराइ सकेको रहेछ। रुन मन लाग्यो । मैले चारै तिर नियाले । मान्छेको जस्तै छ उनिहरुको रुप तर हृदय दानवको जुन मैले रामायण र पुराणहरुमा सुनेकी थिएँ पृ १०६ ।

असोज लाग्यो छुट्छु कि जस्तो आशा पलायो मेरो मनमा। सम्झेँ वारीका डिलमा पहेँलै भएर सयपत्री फुलेका होलान। आँगन वरिपरि चाँहि मखमली फुलेका होलान् । मन उडेर घर गाउमा पुग्यो । गरिव दुखीका लागि गलाको पासो बनेर र हुने खानेका लागि खुसि बोकेर २०६२सालको दशै आयो । मैले मरी आमालाइ सम्झे । कस्तो भयो होला आमाको छाती मलाइ सम्झेर । गाउले साथीहरु रमाइलो गर्दै होलान आफू भने जेल भित्र पृ ११२।

हजारौको रगत र बलिदानले अघि बढेको सङ्घर्षमा लक्ष्मि र होमा जस्ताको मुटु दुखाउने खेल पनि जारि थियो । प्रशासनले हामी माथी आधिपत्य जमाउन नसक्नु नै प्रतिकुल षडयन्त्र गरेर हामीलाई बिराटनगर जेल सरुवा गरियो । हमुरो उपस्थितीमा उनीहरुलाइ चल खेल गर्न सहज थिएन । जेल बिकृति मुक्त हुनपर्छ भन्ने हाम्रो धारणा थियो पृ ११५ ।

राजनीतिक दलले प्रितगमन बिरुद्दको आन्दोलन चर्काउदै थिए । राज्यले दमन अझ बढाउदै थियो । जनताहरु बिद्रोहमा जुटि सकेका थिए मात्र बिष्फोट हुन बाँकी थियो । पृथ्वी तातिएर ज्वालामुखी फूट्न लागेको जस्तो भान हुन्थ्यो पृ १२६।

जे भए पनि जेल जिवन साह्रै पीडादायी हुन्छ । जेलमा शोषित र शासक दुइ पक्ष हुन्छ । छुवाछुत भेदभाव धनी गरिव विचको असमानताको खाडल त्यहा झन ठुलो हुन्छ । प्रशासनको सहयोगमा हुकुमी शासन चल्छ जेलमा । सोझा सिधालाइ यनीहरु दास बनाउछन् जेलका प्रहरीहरु पनि त्यस्तै हुदा रहेछन । सत्य सेवा सुरक्षणमको सपथ खाएका एकाध बाहेक तिनै मन्त्र भलेर कैदी बन्दी माथी प्रहार गर्थे । हुन त बोट गुणाको फल राज्य ब्यवस्था नै अन्धो र बहिरो भएर होला उसका अनुयायीहरु पनि त्यस्तै थिए । शासकको सुगा रटाइमा उनीहरु पुरै अभ्यस्त भइ सकेका थिए पृ १२७।

निर्ममताको पराकाष्ठा नाघेरै भए पनि जनआन्दोलन दवाएरै छाड्ने मनस्थितीमा शाही सरकार पुगेको छ भन्ने मलाइ लाग्यो । आन्दोलनमा माओवादीको घुसपैठ भन्दै प्रहरीका उच्च पदस्थ अधिकारीको घरबाट आन्दोलनकारी माथी गोली बर्साइयो । सुरक्षाकर्मीको त्यो अनैतिक ब्यवहारले जनता अझ आन्दोलनको आधी बन्दै थिए । आकाश उज्यालो थियो सायद नया वर्षको पूर्वसन्ध्यामा आन्दोलित जनताको साहस देखेर होला । नया युग नया सँसारको आह्वानमा म खुसीले रमाएँ। पृ १३३ ।

जनताको पक्षको आवाज घन्काउदै हामी लोकतन्त्रको पक्षमा नारावाजी गरीरह्यौ । आकाशमा कतै बादल थिएन । चैतको चर्को घाममा सुकेका घाटीलाइ पानीले भिजायौ । प्रतिकार गर्न प्रहरीले हामी तिर गोलि चलाए । तर साथीहरुको छटपटाहटले हामीलाइ बन्दुको गोलीको सामना गर्ने उर्जा प्रदान गर्यो । घाइते साथीहरुको चित्कार सँगै चर्को घामले तातिएको शिरलाइ पानीले भिजाउदै हामी नारा लगाउदै थियौ । हातमा लाठी बोकेर नाइकेहरु हाम्रो बिरुद्द अश्लिल शब्द प्रयोग गर्दै नाराबाजी गर्न थाले पृ १३६।

ठक्कर खादा खादा मेरो हृदय पत्थर भै सकेको थियो । परिस्थितीले मलाइ बन्दि बनाएर मेरो जिवनयात्रालाइ जटिल बनाएको थियो । जीवनयात्रामा म आफ्नै छाया सँग पछारीएँ टुक्रिएँ फुटेँ आफ‍्नै साथ बाट टाढिएँ। रोएका ति रातहरु मेरा लागि घाउ बनेर दुखि रहे । तिरस्कार र अपमानको थुप्रो लाग्यो । हजार सपना भुलेर एउटै सपना देख्न म अभ्यस्त भै सकेकी थिएँ। सबै सपनालाइ एकातिर थन्काएर गणतन्त्र जनताकव स्वतन्त्रता र स्वाभिमानको खातिर म कालकोठरीमा हास्दै थिएँ । सिङ्गो क्रान्ति नसोचेको उचाइमा पुगे पनि मैले आफुलाइ किन किन बदल्न भने सकिनँ । घरपरिवारको सम्झनाले घरीघरी घाटी अठ्याइ रहन्थ्यो । आमाको सम्झनाले मुटु पोलिरहन्थ्यो आफू महिला भएर पाएको हरेक यातना र पीडाका कारण म आमालाइ भन्न चाहन्थे आमा अर्को जुनिमा मलाइ नारीको रुपमा जन्म नदिन‍ू पृ १४८ ।

चेतनशिल जनता कसरी शासक प्रति प्रस्तुत हुन्छन भन्ने कुराको प्रमाण थियो जनआन्दोलन ६२/६३ जनता कति सम्म सहन्छन त्यो ज्यादति र दमनलाई परास्त गर्दै कसरी आफ्नो अधिकार खोस्न अगाडी बढ्छन भन्ने आदम्य साहसको उदाहरण थियो १९ दिने जनआन्दोलन पृ १४९ ।

उपन्यास भित्र जेलमा कस्ता कस्ता मानिस बस्दा रहेछन जेलको बातावरण कस्तो हुने रहेछ भन्ने पनि बुझ्न सकिन्छ । "जेलको ढोका खुल्यो प्रिकेटको पनि। हामी भित्र पस्यौ कारागारमा एक्कासि होहल्ला भयो आकाश नै थर्किने गरी, लडाइ जितेका सिपाहीहरुको हल्ला जस्तो कस्तो बिना अर्थको हर्षोल्लास । हामीलाइ देखेर सबै कराए खसी आयो पानी तताओ खसी आयो "

देश र जनताको लागी बर्गीय समानताको लागी लागी परेका तारा जस्तै हजारौ छापामारका कथा छन हाम्रो देशमा । उनिहरुले केही नबुझेरै लागे पनि कतिले बिर गति प्राप्त गरे कसैको अँग भँग भयो कसैले परिवार गुमाए तर खै के पाए उनीहरुले? "म आफुलाइ पार्टीको इमान्दार कार्यकर्ता ठान्थे । जब मैले इलाम जेलको ढोकामा आफु प्रतिको त्यो आरोप सुने त्यो समयमा आफु बाचेको बेकार भयो भन्दै धिक्कारे"। "समयको रफ्तार सँगै बगिरहेका मेरा इच्छा चाहानालाइ समयले ने बगरमा हुत्याइदियो। हजार छालहरुले लुछेर भुलेर गएको बगर झै बनाइ दियो निस्प्राण र विवश मलाई । जति नै चेतनशिल प्राणी हुँ भनेर घमण्ड गरे तापनि मानिस समयको दास रहेछ । बाध्यता र विवशताले हात फैलाएर घाटी अठ्याए पछि सबै स्विकार्नु पर्दो रहेछ । यो दुनियामा कोही खराव बने कोही असल तर जो जस्तो बने त्यहा भित्र बाध्यता र विवशता पक्कै हुदो रहेछ । मानिसले समयको तालमा नाच्नु पर्दो रहेछ । कसैको भाग्यमा सुख पर्छ कसैको भागमा दुख ।" उनको यो भनाइको अँशले पनि प्रष्ट हुन्छ उनीहरुमा पनि कुविचारका मानिसहरुले गर्दा मोर्चामा फाटो आएको हो।

मलाइ छापामार भन्ने बित्तिकै रिस उठ्थ्यो तर जब मैले यो पुस्तक पढे उनिहरुमा पनि दया माया भन्ने कुरा हुदो रहेछ । छापामार सबै क्रुर हुन्न रहेछन भन्ने लाग्यो । हुन त तारामा पनि जब जेलको चिसो क्षिडीले सताए पश्चात दर्दनाक भोगाइले नै यि सबै कुराहरु सिकाए होलान । तर जे भए पनि उनि जस्ता यि अवोध बालबालिकालाई अहिले सरकारमै आएर पनि उनैका पार्टीले केही गर्न सकेका छैनन् । उनैले स्विकारेका छन अहिले कसैले केही वास्ता नगर्दा बेकार जनयुद्दमा होमिएछ जस्तो लागेको छ उनलाई। पुस्तकका अघिल्लो भागमै गिरीश गिरी दाइ लेख्छन "यो सारा घटनाबाट ताराले सिकेको पाठ के हो ? त्यो परिवार पाल्न सेना प्रहरीको जागिर खाने हुन् वा हामी जस्ता तल्लो स्तरका कार्यकर्ता जता पनि ठुलाले सानालाइ प्रयोग गर्ने मात्र रहेछ । उनले बल्ल बुझेको अन्तिम सत्य बताउदै पछुतो ब्यक्त गरिन् कस्तो अन्धकारमा फँसियो कहिले काही त उतिखेरै सेनाले मारिदिएको भए पनि कति जाति हुन्थ्यो जस्तो लाग्छ।"
यो अवस्था हेर्दा माया लागेर आउछ। तर उनकै भनाइ सापट लिएर भन्नु पर्दा साच्चै मायाले न त पेट भरिन्छ न त आङ नै छोपिन्छ । माया त खालि महसुस गर्ने कुरा मात्रै रहेछ । माया मात्र भ्रम हो त? मनले प्रश्न गर्यो मलाई पनि ।

2 comments:

वेदनाथ पुलामी ( उमेश ) said...

आफुले पढ्न नपाएको पुस्तकको सार राम्रो संग बुझ्न पाइयो ! (धन्यवाद मनु जी !)

तर एउटा सच्चा देशभक्तले मुक्तिको लागि लड्न गरेको अठोट या आफ्नो निर्णय प्रति आफैले गर्नु परेको पछुतो जनाउनु पर्ने अवस्था देख्दा निकै खिन्न लाग्यो ! हुन् त ठुलाले साना लाइ माथि (उच्च पदमा जाने) पुग्ने सिंडीको रुपमा प्रयोग गरेको थाहा पाउदा कसको पो मन भाचिन्न र ? सायद त्यसै भएको हुनु पर्छ - लेखिका लाइ पनि !

सो समय त उहिहरु माथि क्रुर भएर बर्सियो तर अहिले नि देशको र नेता भनाउदाहरुको यो गति देख्दा ति देश भक्तहरुको ... मन र सोच कस्तो भएको होला ??

Unknown said...

Thank you Manu g padhe awasar dinu vayakoma