Wednesday, August 25, 2010

जीवन काँडा कि फूल



जीवनको भोगाई र अनुभवले गर्भधारण गरी पैदा गरीएको झमकको एक शसक्त र उत्कृष्ठ लेखनशैलीले भरी पुर्ण दशौ(म गलत छुइन भने)सन्तान हो जीवन काँडा कि फूल। आफै कल्पना गरौ जव हामीमा चेतना हुन्छ त्यो बेला आफ्ना सामुन्यका मानीसहरुले विना गल्ति आफु माथी हरेक पटक बचन बाण हान्छन तव केही काम गर्न खोज्दा हामी सँग काम गर्ने हातहरु हुन्नन जब हिड्न खोज्छौ तर हिड्ने खुट्टा हुन्नन केही भावना ब्यक्त गर्न खोज्छौ तर त्यो ब्यक्त गर्ने माध्ययम बोली पनि नभइ तड्पिनु पर्दाको दर्दनाक पिडा कस्तो होला? हो यहि पिडा र भोगाइको पोखाइ हो यो निबन्ध ।
जम्मा ४७ वटा छोटा छोटा निबन्धको सँगालो भित्र जीवनको आरम्भ र म,हजुरआमा र लिङ्ग भेद, अवसानपछिको अभ्यास,शुन्यताभित्र जीवन, आशाको त्यो त्यान्द्रो सम्म, आशाका किरणहरु, अक्षरसँग पलाएको हर्ष, शब्दको उत्सव, धामी झाक्री र डाक्टरहरु, समाजले बुझेको सौन्दर्य भित्र म ,टालेका पाइजामा र लाज, कापी कलम पाएको त्यो पल, भूत प्रेत भगवान र विश्वास, विभेदको युद्दमा म एउटा बोझ, जातीय बिभेदहरु विच म, किशोरावस्थाका चेतना र उत्सुकता, नाम सँग बिद्रोह,ऋतुधर्म र बैस, सम्भावनाहरुको खोजी, पुस्तक सँसारमा प्रबेश, सिर्जनाका कोपिला, फराकिलो बाटाको यात्रा, अक्षरहरुमा जीवनको रङ, पत्रहरुमा मन पोखिदा, विस्तृत जगत्तिरका पाइला, ज्ञानको भोक र काठमाण्डौ बस्ने प्रस्ताव, पढ्न उमेरले छेक्तैन, समाजको दृष्टीमा अपाङगता, स्वाभिमान र श्रम, धार्मिक आस्था भित्र मान्छे र देउताहरु, स्वतन्त्रता भोग्ने रहर, कलम र मृत्युको सन्त्रास, रगताम्य समयसँग स्तब्ध मन, सङ्कटकाल र सन्त्रास्त समय, अध्यारो बाट मुक्तिको स्वर, कान्तिपुर पब्लिकेशन छिरेँ, रङ्ग कुची र क्यानभास, मान्छेको दिमागमा बसेको काती, बन्दुक सँग शब्दको परेड, धनकुटा जल्यो, आस्था आँसुसँग बर्सियो, अफ्ठ्यारोमा जीवन र सुनगाभाको मुस्कान, धुम्म आकाश उघ्रिएपछि मान्छेहरु,द्वन्दका घाउहरु छामेको अनुभूति, जीवनका आभाहरु ,सहमतिका हातहरु, जीवन काँडा कि फूल शिर्षकहरु समेटिएका छन ।

यो काँडामय जीवन अरुको नभै आफ्नै यी करिव उनन्तीस बसन्तको यात्रा पार गर्दाका यात्रा सँस्मरण हुन् । निवन्ध भित्र एक साँपे बालकबाट के कति जीवनका आरोह अवरोहहरु पार गरेर एक सफल साहित्यकार झमक घिमिरे सम्म आइपुगिन भन्ने कुराको बृतान्त कोरीएका छन् । अझ समाजमा अपाङ्गहरुको स्थान, अपाङ्ग हुनुको पीडा कथित सपाङ्ग भनिने मानिसहरुले दिइने चरम यातनाको रापबाट निश्किएको ज्वाला हो जीवन काँडा कि फ‍ूल ।

पुस्तक यति गहन छ त्यो त पढि सके पछि मात्र थाहा हुन्छ । मानिस भित्रको पीडाको छटपटी ओकल्न नपाउदा कस्तो हुन्छ ? एक चेतनशिल मानिले अर्को चेतनशिल मानिसलाइ दवाइरहदा दविएको ब्यक्तिको भावनामा कति ठुलो चोट पर्छ भन्ने कुरा यसबाट सिक्न सकिन्छ । अभावको पीडालाई टार्नको निमित्त आफ्नो शरिर लिलाम बिक्रि गर्ने र जीवन सँग हार खाएर आत्महत्या गर्ने कायरहरुको लागी पनि एउटा गतिलो झापड हो भन्दा अत्युक्ति नहोला ।

गरिवीको भुमरी भित्र पिल्सिनु पर्दाको पिडा अझ चेतनमन भित्र भौतिक शरिरको अशक्तपनालाई आफ्नै जीवनको भोगाइ झै गहिराइमा पढ्न सकिन्छ यहा । " बहिनीका छेउमा गएर उसले पल्टाइरहेका कितावका पानाहरु यसो हेर्थे। त्यहा भएका अक्षर शब्द वाक्य पढ्न र लेख्न म पनि जान्दथेँ। मलाइ उसलाइ जस्तो कापी कलम किताव कस्ले दिओस र । मेरो लागी त कापी कलम किताव भन्नु नै खुल्ला धरती र त्याहा भएका ढुगाँ माटो सिन्का र स्वयम आफ्नै मसिना खुट्टाका ओला थिए पृ७१ ।" जो कोही पुस्तकको गहिराइमा डुवुल्कि मार्दा दुख र पीडाको तलाउमा राम्रै सँग पौडी खेल्न सकिन्छ । पढ्दै जादा उनको जीवनमा आफुलाई नै पाउदा खेरी मुटु भक्कानिएर पीडाका छालहरु साउने भेल झै आशुका धाराहरु त कति बग्छन कति? " हाम्रो धार्मिक सँस्कारले अघिल्लो जन्ममा पाप गरेपछि पछिल्लो जन्ममा लाटा लठेव्रा अङ्गभङ्ग भएर या आइमाइको रुपमा जन्मिन्छन भन्ने कुरो हाम्रा दिमागमा कोचिएको छ । म त्यही अघिल्लो जन्मकी महापापी मान्छे जसले पाप कर्महरु गरेकाले पछिल्लो जन्ममा आफ्न धेरै अङग निष्कृय मात्र होइन आइमाइको रुपमा जन्मिएकी भन्ने सबैलाइ विश्वास थियो । त्यसैले गाउका दोजीया आइमाइहरु मलाइ देख्न चाहदैन थिए । वा कतै देखे भने उनीहरुका गर्भका शिशुहरु पनि म जस्तै अशक्त जन्मिन्छन भन्ने अन्धविश्वास या सन्त्रासले उनीहरु टाढैबाट हिड्थे। नानी जन्मिए पछि पनि मेरो छेउ मोच लाग्छ भनेर आउदैनथे । मेरी आमालाइ पनि उनीहरुका नानीहरु छुन दिदैनथे रे । पिढी छेउछाउ बस्न दिइदैनथे रे । कति पछाडी छ नेपालीहरुको चेतनाको स्तर? अहिले सम्झिदा ती सबै घटना परिघटनाहरु अहिल्यै घटे जस्तो लाग्छ र मनमा त्यसै त्यसै निचोरिएर आउछ पृ ७३।"
अझ आफु सपाङ्ग भएर पनि समाजलाई बुझ्न नसक्नुको पिडा, आफु साक्षर तथा समाजको शिक्षित ब्यक्ति कहलिएर पनि समाजको कुरिती कुनियतीलाई चिन्न नसक्नुको पिडा अझ आफु सकुशल सग्ल शरिरको धनि भएर पनि केही गर्न नसक्ने लाछीपनाको पिडातथा आत्मग्लानीले चौपट्टै पिरोल्दछ । यसअर्थमा यस पुस्तकका हरफहरुले हामी जस्ता देखिनमा सग्ल शरिर मानिसमा हुन पर्ने प्राय सबैगुणले सम्पन्न भएर समाजमा शिक्षित शव्दको बिल्ला भिरेर बसेका ढोँगी मपाइहरुलाई पनि गतिलो चड्कन दिएको छ ।

आजको एक्काइसौ सताव्दीमा आमाको गर्भबाट भुइमा झरी नसक्दा देखी भौतिक सुख सुविधामा बालबच्चाहरु हुर्किन थालेको समाजमा एउटा मुर्ती जो सबैको सरापको केन्द्रबिन्दु बनेको हुन्छ उसले सबै सबै देखेभोगेका ब्यवहारबाट सिकेर ज्ञानको भण्डार भरि पूर्ण पार्न सफल कथा जोडीएको छ यहा। ज्ञान तथा सिकाइ भन्ने कुरा हरेक पल हाम्रै आखा अगाडी हुन्छन भन्ने कुरालाई स्पस्ट सँग बुझ्न सकिन्छ यस पङ्क्तिहरुबाट "जब घाम डाँडा माथी आउथ्यो त्यो के होला भनेर हेरीरहन्थे। मानिसहरु त्यसतर्फहेरेर उ हेर घाम डाँडा माथी आइसक्यो भन्थे तब म त्यो त घाम रहेछ भन्थे अनि भुइमा लेख्थे घाम। आँगनको डिलमा पहेँला नीला सेता राता बिभिन्न बोटबिरुवाका फुलहरु फुल्थे म त्यो देखेर एकदम रमाउथे तर तिनका रङ छुट्याउन सक्दिनथेँ मान्छेहरु भन्थे यो टाँकीको रुखमा कति राम्रो सेतै फुल फुलेछ। बल्ल म यो रङ सेतो रहेछ भनेर चिन्थेँ ।
मलाइ जव आमाले नुहाइदिन्थिन तव म पानीको अनुभव गर्थे, मलाइ प्यास लाग्दा बहिनीले पानी पिलाइ दिदा तिर्खा मेटिएर आनन्दको अनुभव गर्थे । अनि मान्छेहरु भन्ने गर्थे कति तातो घाम लागेको उफ कस्तो गर्मी? अनि म मनमनै विचार गर्थे ए यो पो रहेछ तातो भनेको । अनि भुइमा कोर्थे तातो ।"

पुस्तक पढ्दै जादा केही अँशमा पङ्तिकारको अहँमपना पनि देखिन्छन् । उनको यो आदम्य साहस र आफू माथि कै विश्वासले गर्दा आजको यो चुली उनले चुम्न पाएकि छन। हजार मनले उनको दिर्घायुको सट्टा यो यस्तो कष्ट सहेर बस्नु भन्दा मरेकै जाती भनेर उनकै अगाडी मरणको कामना गर्दा पनि मर्न नसकी हिम्मतले बाचेर आइन । हुनत एउटा यस्तो अन्धविश्वासले ग्रस्त समाजमा लाखौ पटक हरेक हण्डर तथा ठक्कर खाएर आफूलाइ समाजमा राष्ट्रमा चिनाउन त्यति सजिलो छैन । तर यहा सम्म ल्याउनमा अन्य सहयोगीहात साथै उनकै आमाको त्यो न्यनोकाख पनि महत्वपुर्ण छ । यस पुस्तकमा धेरै जस्तो बाबा र आमाको बारेमा साथै भगवानको बारेमा अलि बढी नै नकारात्मक भावना उत्पन्न भएको हो की जस्तो देखिन्छ । भन्न त जन्म दिनु मात्र ठुलो कुरो होइन पनि भन्छन तर पनि यदि उनकी आमाले १० महिना सम्म कोखमा राखेर साथै समाजको नानाथरी बचन खाएर उनलाइ यो धर्तीमा पाइला नटेकाएकी भए ------- । जे होस दुख कष्ट भोग्नेलाइ मात्र थाहा हुन्छ देख्नेलाइ भन्दा ।

उनको लेखाइमा रहेका हरेक शव्द शव्दले हामी आफैलाइ कोपरीरहेको भान हुन्छ केही गरौ गर्न सक्छौ भन्ने उत्प्रेरणा दिइ रहेको हुन्छ । मैले यो भन्दा अगाडी यस्तै आत्मजिवनी जगदीश घिमिरेज्युको अन्तरमनको यात्रा पढेकी थिए । मलाइ लागेको थियो यतिको पुस्तक कसैले लेखेका छैनन र कसैले लेख्न पनि सक्ने छैनन तर म पनि यसै समाजबाट हुर्किएकी एक कथित साक्षात्कार युवा न परे । तर जब यो पुस्तक पढि सके थाहा पाए यस्ता अन्तरमनमा यात्रा गर्ने जगदिशहरु अरु पनि रहेछन् अझ उनको भन्दा पनि दर्दनाक पिडा बोकेर हिडिरहेका यात्रीहरु त्यसैले त भन्न मन लाग्यो धन्य सृष्टिकर्ता तिमीले एक यस्तो नारी धरतीमा पठायौ जसले आफु देख्नमा अपाङ्ग भएर पनि कथित सपाङ्गहरुको लागी एक पथप्रदर्शक बनेर समाजमा उभिन सफल छिन् । नारी मात्र भएर हैन एक समाजसुधारक मानव जातीकी प्रतिक भएर उभिन सफल छिन । झमक तिम्रो कलम र विवेकलाइ लाखलाख सलाम ।

उनकै पुस्तकको एक कविताँश शव्द सुमनको रुपमा

तिमी सधै सधै सुनगाभा भएर भिरको कापमा फुली रह
जसको सुन्दरतालाइ सबै सबैले मन पराओस
तर टिपेर कसैले पनि अनायास च्यातेर नमिल्काओस

तिमी युग युग यो धरतीकै आँगनमा बाची रह
आउने उज्यालाका आभाहरु पछ्याउदै पछ्याउदै
अभिसप्त पलहरुलाइ थाङ्नामा मिल्काउदै
यौटा जीन्दगी खोज
जुन यस्तो जीन्दगी होस
त्यहा पिडाको प पनि उच्चारण गर्न नपरोस

तिमी ध्रुवतारा झै सधै सधै चम्की रह
यसरी नै चम्किलो प्रकाशमय ज्योतिमय
मन्द शितलता प्रदान गर्ने जुन जस्तै
तर अन्धकार बनाउने ग्रहणको सामना गर्न नपरोस

अन्तमा भन्नै पर्ने एक शव्द समय भए पनि नभए पनि जीवन दर्शनकै लागी भए पनि यो पढ्नै पर्ने पुस्तक हो । यसलाइ प्रकाशन गर्न सहयोग गर्ने सहयोगीहातहरु पनि धन्यवादका पात्र बनेका छन् । जय होस झमकको, जयहोस सारा नेपालीको, जयहोस नेपाली साहित्यिक आकाशको ।

7 comments:

Dambar lungkhim said...

मनु जी झमक दिदी अपाङ्ग हुनुहुन्छ र उहाँले लेख पढ गर्न सक्नु हुन्छ भन्ने कुरा मैले फेसबुकको मेरो साथी मनोज बाट थाहा पाए पनि उहाँ एउटा महान साहित्यकार हुनुहुन्छ भन्ने कुरा मैले थाहा पाएको थियीन तर आज तपाईंले जानकारी गर्नु भएकोमा लाखौंलाख धन्यवाद ! यस्ता बिषय बस्तुहरु सेयर गर्दै गर्नु होला ल ।

वेदनाथ पुलामी (उमेश ) said...

बधाई छ मनु जी लाइ एउटा असल समालोचक को दर्जामा आफुलाई उभ्याउन सक्नु भएकोमा !

राम्ररि नै 'जीवन काँडा कि फुल' को थोरै प्रसंगहरुलाई लिएर भए'नी मिठो सार प्रस्तुत गर्नु भएको छ !
तपाइको लेखाइ हेर्दा तपाइले निकै निको मानेर अन्तरमन देखि नै पढ्नु भएको जस्तो लाग्यो ! र मलाइ नी यो पुस्तक एक पटक पढ्नै पर्ने जस्तो लाग्यो !

मनु ठाडा मगर (MANU) said...

आफ्नो ब्यस्त समयको एक भाग छुट्टाएर मलाइ समेत हौसला प्रदान गरिदिनु भएकोमा साथीहरुलाइ धेरै धेरै धन्यवाद । डि बि ज्यु उहा त एक स्तभकार साथै साहित्यकार हुनुहुन्छ । उमेश जि सके सम्म पडनुहोस मैले यहा त केही एक अशँ मात्र हो यहा उनान्नसय अँश छुटेको छ साह्रै मर्म स्पर्सी लेखहरु छन् ।

BabuDC said...

राम्रो लाग्यो

BabuDC said...

मर्मस्पर्शी छ, अर्पण, अष्ट्रेलिया

Anonymous said...

Hi! Do you know if they make any plugins to safeguard against hackers?
I'm kinda paranoid about losing everything I've worked hard on.
Any suggestions?

my blog post - football kit £99

Unknown said...

Really good upnyass