Thursday, December 15, 2011

फेसबुकमा मेरो दुई घण्टा

सँसार बिचित्रको छ, अझ यहाका मानिसहरु त झनै अचम्मै बिचित्रका । यहा कोहि पढ्छन, कोही लेख्छन , कोही गाउछन्, नाच्छन्, कोही काम गर्छन त कोही केही गर्दैनन । पढ्नेहरु पनि कोही आफ्ना लागि पढ्छन, कोही अरुकै लागि पढिदिन्छन, कोही केही सिक्न पड्छन, कोही समय बिताउनलाई पढि टोपल्छन् । लेख्नेहरु पनि कोही रहर पुरा गर्न लेख्छन, कोही बाध्यताले लेख्छन, कोही बाच्नका लागी लेख्छन् त कोही मै जस्तो रमाइलो गर्नको लागि । जे होस मानिसको स्वभावको बिविधता हेर्न सामाजिक सञ्जालमा पनि रमाइलो हुदो रहेछ। आजको बिज्ञान र प्रबिधिले जेलिएको कारण सँसारलाई हेर्न अझ सजिलो बनाएको छ । समय आफ्नै रफ्तारमा चलिरहेको छ । हामी मानबजातिहरु त्यहि समयको पछि पछि सकि नसकि दौडि रहेका हुन्छौ त्यही चल्ने क्रममा पनि कोही के गरेर कोही के गरेर म भने एक छिन सामाजिक सञ्जाल अनुहार पुस्तिका (फेसबुक) तर्फ छिर्छु ।

प्रबिधिमा मानिसको आविस्कार यो सामाजिक सञ्जाल प्राय धेरै जसो मानिसले प्रयोग गर्दा हुन् जो जस् सँग पहुँच पुगेको छ । तर पहुँच पुगेरै पनि प्रयोग नगर्नेहरुको सँख्या पनि अनगिन्ति नै छन् । त्यसमा कोही प्रयोग गर्न नजानेर त कोही जानेरै पनि समय नभ्याएर, कोही वास्ता नभएर अथवा यसलाइ यसो भनौ मन नपरेर खैर....... फरक ब्यक्ति फरक बिचार अनि फरक बिशेषता । सञ्जालबाट कसैले भरपुर मनोरञ्जन गरेका छ्न्, कसैले सके सम्म सदुपयोग गरेका छन्, कसैले यसलाइ भरपुर दुरुपयोग गरेका छन् । कसैले के रहेछ भनि चलाइ हेर्दैछन, कसैले यसलाइ सृजना बाड्ने थलो बनाएका छन्, कसैले आफ्ना बारेमा प्रचार गर्ने ठाउ बनाएका छन्, कसैले च्याट गरि नया नया साथी बनाउने ठाउ बनाएका छन त कसैले बिज्ञान र प्रबृधिको परिक्षण गर्ने ठाउ पनि बनाएका छन् । बिबिध थरिका मानिस मध्य म पनि एक हुँ म भने प्राय मेरा पुराना साथीहरुको खोजिमा छु ।

Sunday, December 4, 2011

धनकुटाकी चमक युवा साहित्यकार झमक


हिजो विश्व अपाङ्ग दिवस । विश्वभरि रहेका अपाङ्गहरुलाइ सम्बोधन गर्दै विभिन्न ठाउमा बिभिन्न कार्यक्रमहरु सम्पन्न गरे । हिजो धनकुटा नगरि मँसिरको जाडोमा पनि बेहुली सिगाँरीए झै चिटिक्कै परेर सजिएको थियो किन यति चिरिच्याट्ट सिगाँरियो त? भनेर भन्दा हाम्री झमक दिदी जन्मेको यो सुन्दर नगरी त्यसमा पनि झमकलाइ नागरिक अभिनन्दन गरिने दिन यति हुदा पनि झमक मात्र बेहुली सिगाँरीए झै सिगाँरिएर नहुने रहेछ त्यसैले धनकुटेलीहरुले नगरलाइ पनि चिरिच्याट्ट पारिएको थियो । यसै अवसरमा धनकुटाबासी नागरीकहरुले पनि धनकुटाको कचिडेमा जन्मि हुर्केकि युवा साहित्यकार झमक कुमारी घिमिरेलाई नागरिक अभिनन्दन गरेका छन् ।


अगाडी अगाडी शैनिक टुकडीको मँगल धुन साथै लावा लस्करका साथ आएका सैनीक, सशस्त्र तथा नेपाल प्रहरीका बर्दी टोली पछाडी पछाडी सेतो टाटा गाडीको पछाडी सोफामा मुसुक्क मुस्कानको चमक दिदै बसेकी थिइन झमक। यता नेवा पुच खल तथा अन्य विभिन्न जातिय सँस्थाले आ आफ्नै जातिय पहिरनमा निकालिएको झाँकी, घर घरको ढोका ढोकामा राखीएको जोडी घडाले धनकुटाको रौनक नै छुट्टै बनाएको थियो ।

Wednesday, November 9, 2011

धनकुटाको सेरोफेरो र स्वास्थ्य चर्चा


यिनि हुन मोरङ कि ८ बर्षिया बिनिता दनुवार जो हाल सम्म बोल्न सकेकि थिइनन् धनकुटामा भै रहेको निशुल्क स्वास्थ्य शिविरमा शल्यक्रिया पश्चात बोल्न सुरु गरेकी छन् ।



Saturday, October 1, 2011

दशै, दशा र हामी

सहर सुनसान हुदै छ अब दशै लागेछ क्यारे फेसबुकका भिताहरु हेर्दा पनि त्यस्तै भान भइ रहेको छ। खासमा यो दशै के हो र कसको हो मलाई पनि त्यति थाहा छैन । भन्छन् यो हिन्दुहरुको महान चाड, उसो भए अहिन्दुहरु यसमा रमाउनु किन? हुन त गणतान्त्रिक नेपालमा यो यस्को र त्यसको किन गर्ने सौहार्द्र रुपले सबैले सबैको चाड मिलेर मनाए के नै बिग्रने हो र? फेरी फेसबुक वालमा हेर्छु सबै सबैले शुभकामना आदान प्रदान गर्छन आफुलाइ दिइ सके पछि शुभकामनै साट्न त के नै फरक पर्ला र? लौ जा मैले पनि सबैलाई शुभकामना टक्राए तर केही साथीले गाली गरे शुभकामनाको लागि धन्यबाद तर यो त हिन्दुहरुको दशै हो यसमा तँ किन धेरै उछिल्लिएको ? म सँग यसको ठ्याक्कै जवाफ त छैन र मलाइ खास दशै पनि लागेको छैन तर जे होस मेरो पाच बर्षको भाइ र ८ बर्षकी बहिनीको एक हप्ता देखी नै खुसीले सिमानाघेको छ । सधै होमवर्क गर्न निकै कसरत गराउनु पर्ने यो पटक परिक्षा सकिने बितिकै देखी भ्याकेशन होमवर्कमा जुटेका छन् दुवै जना ।

दशैको बिदामा मामला जान पाइने र नया लुगा लाउन पाइने उमँग त छदैछ टिका थापेर पैसा जम्मा गर्ने लालच पनि उतिकै बढेको छ दुवैलाई। भन्छन यो पालाको दशैको टिका लाएर म झोला किन्छु अनि खै के के जाति खान्छु । तर तिनलाई यति धेरै उमँग ल्याउने दशै के हो थाहा छैन न त तिनलाई अहिले नै त्यो बुझ्नुको टाउको दुखाइ नै । अर्की बहिनी जो काठमाण्डौ बस्छिन तिनलाइ पनि उतिकै दशैको रन्कोले छोएको छ । बाबा ममि सँग दशै बिदामा घरजानलाइ एक महिना अगाडि देखी नै सहकार्य र सहमति जुटाउनमा ब्यस्त छिन । उनिहरुको स्कुल थोरै समयको लागि मात्र छुट्टि हुने हुनाले बाबा आमाको चाहाना छोरी यो पटक गाउ नजाउन तर कहा मान्छन र अचेलका भुराहरु ? हुन त खास गरि चाडबाड अझ यो दशै लाग्ने भनेको नै यिनै बालापन मै त हो नि । अलि बुझ्ने भए पश्चात अथवा अलि ब्यवहार टार्नु पर्ने उमेर आए पछि त यो दशैले उति धेरै उमँग नल्याउला भन्ने मेरो अडकल । किन कि मैले पनि त्यहि उमेर पार गर्दै आएकि हुँ । आठ दश बर्ष पछाडीका ति दशैलाई फर्केर हेर्दा सम्झनाका परेलीहरु ताजै हुन्छन । दशै ताका दाइ र दिदीहरुले ल्याइदिनु भएको त्यो फुलबुट्टे जामा नयाँ नयाँ लोभलाग्दा चप्पलका जोडिहरु लाएर कहिले साथीहरुलाइ देखाउ हुन्थ्यो मलाइ पनि। म आफु चिटिक्क नपरेकै भए पनि चिटिक्क परेका ति नयाँ बिदेशी लुगा चप्पलमा सजिएर मामला जानुको मज्जा नै अर्कै थियो । बल्ल एक वर्षमा एक पटक लाग्ने फुलपाती मेला हेर्न जानलाइ आमा सँग एक हप्ता अगाडी देखीको चिप्लो घस्नु पर्थ्यो । त्यो बेला ५ रुपैयाको रातो रिबन र ५ रुपैयाको चुरा पनि मेरा लागी असिम हर्ष ल्याउने चिज हुन्थे त्यसतै हुदो हो मेरा नानीहरुलाइ पनि आज। हिजो देखी नै मेरा नानीहरु टुडीखेल जाने आमाले ३० रुपैया पर्ने चिम्टि किन्नी दिन्छु भनेको भरमा खुसि कहा साटु कोस्लाइ सुनाम भएको छ । जे होस दशै भनेकै बालापनको लागि हो। जो जिबनमा एकपटक सबैले ब्यतित गरेका हुन्छन र फेरी पछि चाहेर पनि कसैले प्राप्त गर्न सक्दैनन् त्यो बालापन है अरु होइन ।

दशै दशै भन्छन् यो दशै हो या दशा ? भन्न त नहुने हो तर जब दशै आउछ तव दुर्घटना तथा घरमा दुख बिमारले च्याप्दै जान्छ ता पनि अबोध बालापनमा त्यसको के असर? जसले जे भोग्नु छ त्यो त सबै घरका ठुलाबडा नै त हुन नी । मेरो एकजना आफन्त जसलाइ म धेरै आदर गर्छु यति की मेरो आमा पछिको सम्मान पाउने उहा नै हुनुहुन्छ । उहा दश दिन देखी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर रोग सित लडाइ लडि रहनु भएको छ । तर उहाको पिडाले उहाको नाता नातिनिलाइ खासै छुन सकेको छैन । किन भने तिनीहरुलाई दशै लागेको छ बिधालयले दशै छुट्टि दिएको छ । तिनलाई नया लुगा किन्नु छ जुत्ता र अन्य आवश्यक पर्ने चिजबिज पनि । वरिपरिका यि र यस्तै परिदृष्य हेरेर मनमा प्रश्न उठ्छ साच्चै यो दशैले उमँग ल्याउछ कि टेन्सन?

शान्ता भन्दै थिइन "दशै आयो दशै आयो भन्छन आएको त केही देख्या होइन ब्यारे जुन पसलमा गए पनि भिड जे किन्न पनि लाइन त्यहि हो कि क्याहो दशै ?" साच्चै दशैले पसलेहरुलाइ भ्याइ नभ्याइ पारेको छ अनि किन्ने ग्राहकहरुलाइ सास्ती । हाम्रा सहकर्मीहरुको पनि पसल छ । तिनलाइ पनि दशैमासमा मौका छोप्न अति हतार पर्छ । कहिले पाच बज्छ र अफिसबाट हतार हतार गरेर पसल जानु हुन्छ । भन्छन म बसेको बेला एकै छिनमा चार पाच हजारको बिक्रि हुन्छ अरुले त्यति पारा ल्याउदैनन् दिनभरको आम्दानी त्यही दुइतिन हजार हुदो हो त्यसैले पनि म चाडै पुग्नु पर्छ। हुन पनि हो यसो दुइचार पैसाकै लागी त दुख गर्छन नी मानिसहरु त्यहि पनि बर्ष दिनमा एक पटक दशै तिहारको बेलाँ मात्र अलि चल्दो हो नत्र सुख्खाराम ।
बिशेष गरि दशैताका हर चिज आवश्यक पर्छ । दैनिक खाध् उपभोग्य होस वा अन्य लत्ताकपडा चाडबाड आयो कि चटारो । बेच्ने किन्ने सबैको लागि एकखालको उमँग र समस्या दुवै एकै चोटि लिएर आउछन् यो चाडबाडले । बेच्ने ब्यापारीहरुको जहान परिवार थोरै छ र पसल ठुलो छ भने नाफा नकमिएला भन्ने पिर तर त्यो भन्दा पनि समाजका गरिव बर्गहरुको लागी अझ ठुलो पिर । खास गरि यो दशै आए पछि विचारा गरिबहरुलाइ सास्ति । नमनाउ भने सबैले मान्छन मनै त हो आफु एक्लै नमनाइ कसरि बस्ने ? मनाउ त के ले पुराउने ? महँगि आकाशिएको छ दिनानु दिन सगरमाथा उक्लेको यात्री झै उकालो उकालो तर आयश्रोतलाई देश सरकार र सँबिधानले असर पुराएकै छ । छोरा छोरीको डिमान्ड बढेर छोइ सक्नु छैन नराम्रो र नमिठो हात नलाउ भन्छन, मिठो मसिनोको लागी गोजि पनि बाक्लै हुनु पर्यो । त्यसैले त यहि दशैताका हरेक आपराधिक घटना घट्छन् जस्तै लुटपाट चोरी डकैति सबै । गत हप्तामात्र खोकु तिरका दुइ दिदी बहिनी धरान दिदीको घर हिडेका रे साथमा पच्चिस हजार रुपैया बोकेका रहेछन् अज्ञात ब्यक्तिहरुले बाटैमा झ्वाम पैसा त लग्यो लग्यो उल्टो गालामा चड्कन पनि खाएछन् दिदी बहिनीले । जे होस यो दशैले निम्त्याएको एउटा दशा नै हो ति दिदी बहिनीलाई।

दशै चर्चा धर्म र अर्थ हरेक कुरा सँग जोडिएर आएको छ । अझ दशै आए पछि हजारौ पशु पक्षीको दशा स्वत आउछन् । धार्मिक साँस्कृतिक नाममा बलि चढाएर ति अबोध पशु पँक्षीहरुले अकाल ज्यान गुमाउनु पर्छ । धेरै जस्तोले यो हिन्दुहरुको मात्र महान चाड भनेर भनि रहदा पनि तिनले पनि पशुपक्षिबध गरेर दशै मनाइ रहेकै हुन्छन् जस्तै कि हामी त दशै मान्दैनौ भन्छन तर घरमा अन्यबेला भन्दा भिन्न तरिकाले मासु ल्याएर भेटघाट रमाइलो गरि खान्छन् । कसैले हामी त रातो टिका लाउदैनौ भन्छन तै पनि सेतै भए पनि टिका त लाएकै हुन्छन तर मैले नबुझेको कुरा टिका लाउनु मात्र दशै मान्नु हो र? अझै पनि कन्फ्युजमै छु। जे होस घरमा भएको नभएको पशुपँक्षि बध गरेर खादा ति अबोध पशुपँक्षिलाइ दशैले निम्ताएको दशा हो । अनि टिका जमारा सँग आशिर्बाद मात्र नभै भए नभइ पैसा प्रदान गर्नु पर्दा दिनेहरुको लागि जोहो गर्नु पर्ने अर्थको झन्जट दशैले निम्त्याएको दशा नै हो भन्न मन लाग्छ मलाई त ।
लौ हिन्दुहरु मात्रको दशै भए पनि हामी सबै नेपालीको भए पनि छुट्टि त पाएकै छौ सबैले त्यसैले शुभ रहोस सबैको दशै ।

Wednesday, September 28, 2011

स्वर्गको अनुभुति दिलाउने त्यो ठाउ मनाङ



जिबनका उकाली ओरालीहरुमा आरोह अवरोह पार गर्दै घुम्ने क्रममा एक स्वर्ग झै लाग्ने ठाउ मनाङमा पुगे जहा नेपाली भएर जन्मि सके पछि हरेक नेपालीले एक पटक पुग्नै पर्छ र प्रकृतिलाइ नियाल्नु पर्छ भन्ने मेरो मान्यता गत असार देखि बनेको छ । मनाङ यात्रा मेरो जिवनको एतिहासीक र साहसिक यात्रा मध्येको एक हो । मेरो ब्यक्तिगत भ्रमण नभै पशुपतिको यात्रा सिद्राको पनि ब्यापार भने झै तरिकाले उक्त स्थान पुगे पनि अब आउने दिनमा फेरी पनि त्यस ठाउमा ब्यक्तिगत भ्रमण बनाएर जाने सोच बढेको छ । हुनत पर्यटकिय क्षेत्र भएर पनि हुन सक्छ अत्यन्तै सहयोगि र मिलनसार मिजासका मानिसहरु मनाङमा बस्छन् । बिषेश गरि काठमाण्डौ तथा त्यस्तै सहरी क्षेत्रमा मानवत्वको भावना भुलेर ब्यवहार गर्ने ठाउमा बसि वाक्क भएको भए यो ठाउमा जानु राम्रो हुनेछ । मनाङेहरुको पाहुना प्रतिको सत्कार र आफ्नोपन अरुठाउ मैले पाएको छैन त्यसैले पनि एक पटक त्यो ठाउ जानु पर्छ। अझ प्राकृतिक सुन्दरताको हिसाबले भन्ने हो भने झनै जानु पर्छ ।



कुल क्षेत्रफलको २२४६ वर्ग कि मि ओगटेर गण्डकि अञ्चलमा मनमोहक दृष्यहरु अग्ला भिराला पहाड र उच्च हिमश्रृखलालाइ लिएर रहेको नेपालको दुर्गम जिल्लाहरु मध्यको एक हो मनाङ । बहुमुल्य जडिबुटि बनसम्पदा अपार जलश्रोतको धनि यस जिल्लाका अनेक अनौठो अनौठो बिषेशषताहरु छन् । जम्मा जस्तै १३ गाविसमा ११७ वडाहरु छन् र तर त्यहा एक घर परिवार पनि स्थायी व्राम्हण क्षेत्री पाइन्दैन । मर्स्याङदि दुधखोला नारखोला थोराङखोला सब्जेखोला माडा खोला डोना खोला आदी जस्ता ठुला ठुला खोलाहरु रहे पनि यी कुनै खोलामा पनि एउटै पनि माछा पाइन्न रहेछ । जिल्लाको कुल क्षेत्रफल २१९६२६ हे मा एकै गेडा पनि धान उत्पादन हुदैन । करिव ३ बर्ष अघि त झन कारागार भएको तर कैदि नभएको जिल्ला भनेर पनि चिनिने रहेछ तर नार घटनाले उक्त भनाइ हट्न पुगेछ ।



यहा पुग्नको लागि एक मात्र हवाइमार्ग काठमाण्डौ पोखरा पोखरा मनाङ हुम्दे रहेको छ । तर प्रतिकुल मौसमका कारण वर्षायाममा करिव ३ महिना उक्त मार्ग ठप्प हुने हुनाले त्यहा जानको लागि पैदल यात्रा मात्र बैकल्पिक मार्ग हो । लमजुङको बेशिसहर देखि चाम्चे सम्म गाडिको जोखिम यात्रा पश्चात सुरुहुन्छ गगनचुम्बि भिरहरुको यात्रा। एकान्त गोरेटो बाटो मर्स्याङदिको तिरै तिर करिब ३ दिनको कडा पैदल यात्रा पश्चात मात्र मनाङ बिमानस्थल पुग्न सकिन्छ तर यदि बिमानको यात्रा गर्ने हो भने सदरमुकाम चामे र त्यो वरि परि अझ लम्जुङको सुन्दर पहाडहरुलाइ चुम्नबाट बन्चित हुने छ ।

जति हिडे पनि एक पछि अर्को उस्तै उस्तै पहाड र बिकट बाटो खोलाको भिर भिर जादा आकाश साघुरो र अग्रेजी भी आकारको देख्न सकिन्छ पछाडि फर्केर हेर्दा सानो गल्छेडि भित्र मधुरो गाउ देख्न सकिन्छ । सदरमुकाम चामे देखी करिब ४ घण्टाको उकालो पश्चात ढिकुर पोखरीको प्रस्थानबाट भने आकाश फराकिलो हुदै जान्छ । हिडाइले लथ्रक्क गलेको शरिर पहाडी हुदै हिमाली मनोरम दृष्य साथै चिसो र शान्त हावाले एकखालको उमँग छाइरहन्छ । सुन्दर कलात्मक पहाड तथा हिमदृष्यहरुले शरिरका थकान मेट्दै जादा आनन्दको अनुभुति हुन्छ । जति जति माथी गयो उति उति मनमोहक दृष्यहरुले मन हरेर लैजादा आफ्ना पिर व्यथा भुलेर स्वर्गको अनुभुति दिलाउने त्यो क्षण कसैले पनि कहिले पनि भुल्ने छैनन् ।





आखा अगाडि नाकै ठोकिने हिमाली दृष्यहरुले प्रफुल्लित मन माथिल्लो मनाङमा पाइला टेकेपछि समथर फाटमा पुग्ने बितिकै सँसारकै साना गाइ लुलु पनि देख्न पाइन्छन् भने हिउद तिर चौरी गाइ तथा अन्य जँगलि जनावर पनि देख्न पाइन्छन । मसिना मसिना धुपि सल्लाका रुखहरु चौर भरि फैलिएका छन् । मुनि कलकल मर्स्याङ्दी नदि माथी अजँगको भिर स्वर्गद्वारीको मुनि रहेको त्यो बिशालकाय पत्रे चट्टान देउरालिबाट देखीने ति हिमदृष्य हुम्दे बिमानस्थल माथि पुगे पछिका अनेक आकृतिका माटोका पहाडहरु अँगालै हाल्न मिल्ने गरि देखिने ति अन्नपूर्ण हिमाल, पिसाङ, ङावल, घ्यारु , मनाङ टँकिमनाङ तथा भ्राका जस्ता माथिल्लो मनाङको भिताभरि टासिएका घरहरु वारपार भिताको पर्खाल झै देखिने सुन्दर बस्तिहरु जति बयान गरेर पनि नसकिने यस प्राकृतिक छटामा पाइला टेक्दा लाग्छ साच्चै स्वर्गको एक टुक्रा यस धरतिमा खसेको हो कि? हिमताल तथा सँसारकै उचाइमा रहेको तिलिचो ताललाइ स्पर्ष गर्न पाउनु तथा सँसारकै अग्लोपदयात्रा गरेर मनाङको थोरङ क्रस गरि मुस्ताङको मुक्तिनाथ तथा जोमसोम पुग्नु पाउनु एकबारको जुनीको अहोभाग्य मान्नु पर्दछ । वास्तवमै प्रकृति सँग लुकामारी खेल्ने नै हो र नजिकबाट नियाल्ने नै हो भने मनाङ तथा मुस्ताङको यात्रा गर्नु अत्यन्त आवश्यक छ ।



Saturday, September 24, 2011

‘सिक्लेसको ठिटो’



आफ्नै रफ्तारमा चलिरहेको समयको साथ लाग्दै कहिले दक्षिण त कहिले पश्चिम कहिले पुर्व त कहिले कता निरन्तर कहिले सार्थक त कहिले निर्थक यात्राको यात्री म ज्ञानगुणका लागि किताब नहेरेको पनि धेरै भएको रहेछ । बजारमा राम्रा राम्रा किताबहरु आएर पनि सकि सकेको हुदो रहेछ । म आफ्नै दुनियामा एउटा चार दिवारको बन्द बक्स भित्र नै सम्पुर्ण सँसार समेटी रमाउदी रहेछु । साथी भाइले फलानो किताबमा भनेको जस्तो फलानो लेख जस्तो भनेर सुनाउदा पो झसँग हुदी रहेछु । ए बा म पनि यहि दुनिया मै पो छु नी ।

हुन त कहिले समयले नै साथ नदिदो हो। कहिले अर्थले त कहिले थाहै नपाउदो हो । बल्ल तल्ल साथीभाइको सरसँगतबाट सुने पछि थाहा हुन्छन राम्रा पुस्तकहरुको नाम । यसरी नै सिक्लेसको ठिटोलाइ पनि नियाल्ने मौका प्रकाशन भएको झण्डै एक वर्ष हुनलाग्दा मात्र पाए त्यो पनि अरु नै मार्फत । किताब उपलब्ध गराइदिनु हुने मेरा मित्र गोबिन्द छन्त्याल यसको लागि धन्यबादका पात्र बनेका छन् । पुस्तक हात लाग्ने बितिकै सबै नियाल्न पाएको भए हुन सक्छ मैले यो मेरा भावना अगाडि नै लेख्ने थिए हुँला समय पनि कस्तो मैले पुस्तक हातपारेको भोलि पल्टै मेरी एक सहेलीकी भतिजीले एस एल सी पास गरिछन् हेटौडामा बनबिज्ञान अध्यनको लागी प्रयासरत छोरीलाइ कताबाट wwf को स्कलरसिप भर्ने भुत पनि सवार भइ सकेको रहेछ। खै कसले हो चन्द्र गुरुङको बारेमा लेखिएको ‘सिक्लेसको ठिटो’ भन्ने पुस्तक पढेमा केही ज्ञान पाइन्छ भन्देछन् । मेरा हातमा रहेको यो पुस्तक मैले नजर लाउनै नपाइ उनले उछिनी त गइन। म परे मनकी धनी लौ न त गरिखाउ भनेर पढ्न दिए तर फर्किनलाइ झण्डै एक महिना लाग्यो । उपलब्धि के त? भन्दा पढिस पढिनस नानी पढे मात्र । किन भने इन्ट्रान्स दिएर फर्केपछि बनबिज्ञानको मोह त्याग भएर स्थानिय स्कुलमै बिज्ञानमात्र पढ्ने भुत चढेछ र भर्ना भइछन् । जे होस ज्ञान बाड्नु नराम्रो होइन । ला.........................म त किताब भित्रका कुरा लेखुला भन्थे बहकिएर अन्तै कतै पुगेछु ।

२०६३ को घटस्थापनामा पूर्वी नेपालस्थित ताप्लेजुङ जिल्लाको घुन्सामा गाउँ नजिकैको एउटा पहाडमा ठोक्किएर हेलिकप्टर दुर्घटना हुँदा नेपाल र विश्वकै संरक्षण क्षेत्रका हस्तीहरुको निधन भएको थियो तिनै हस्ति मध्यका एक हस्ति हुन चन्द्र गुरुङ र उनैको जीवनकथा जीवनगाथाको सँगालो सिक्लेसको ठिटो । नेपालकै एक बरिष्ठ लेखक मञ्जुश्री थापाले अंग्रेजीमा लेखिएको पुस्तक ‘अ ब्वाय फ्रम सिक्लेस’ को दिपक अधिकारीले नेपालीमा अनुवाद गरेका हुन् ‘सिक्लेसको ठिटो’ लाइ ।

१८४ पृष्ठको मोटो पुस्तकमा विभिन्न १८ सन्दर्भहरु छन् । पुस्तकले घुन्सा दुर्घटनाका फ्ल्यास ब्याक देखी सुरु भएर उनको ब्यक्तिगत जीवन सम्मका धेरै कुराहरु बोकेकाछन् । पुस्तकले नेपालको वास्तविक प्राकृतिक अवस्थाको राम्रो चित्रण गरेको छ । पुस्तकले लेकमा बस्ने मगर÷गुरुङ समुदायको सामाजिक चेतना र बिकासक्रमलाई पनि रोचक रुपमा समेट्न भ्याएको छ । मुल पात्र चन्द्र एक त्यसका ज्वलन्त उदहारण हो । उनका सँगैका कतिपय सहपाठीहरु अहिले पनि त्यही गाउघरको चौघेरा नाघ्न सकेका छैनन तर चन्द्र छोटो समयमै एक विश्वव्यापी नागरिक बनिसकेका थिए ।

गाउको परिवेश आमा समुह गठन प्रकृया र त्यसले ल्याएको सकारात्मक प्रभाव कर्मचारी तन्त्र नाताबाद कृपाबाद तथा बिगतका दिनमा आरक्ष तथा निकुञ्जमा हुने गरेका सिकारको बारेमा पनि मनग्य थाहा पाइन्छ । अन्नपुर्ण सरक्षण क्षेत्र विस्तार देखि सरक्षणका हरेक क्रियाकलापमा सँलग्न रहेका चन्द्रको ब्यक्तिगत जिबन भने त्यति सफल भएको देखिन्न । हिड्दा बस्ता माया पिरती बसे पछि दुइ बिबाह गर्न पुगेका चन्द्रको दुवै सँग राम्रो घरजम हुन सक्दैन तर पनि देशको प्रकृती सँरक्षणको पाटोमा कति पनि प्रभाव पर्न दिएको छैन ।

नेपालको आदीवासी जनजाति मध्यको अन्नपुर्ण क्षेत्र भित्र सिक्लेसको गुरुङगाउमा जन्मेका चन्द्र अध्ययन तथा कामको सिलसिलामा युरोप अमेरिका सम्म पुगेर पनि घुमिफिरी रुम्जाटार भने झै आफ्नै देशमा फर्केर नेपाल र नेपालीका हितका निमित धेरै कुरा गरि नेपालकै एक कुना जहा हत्तपती मानिस पनि पुग्न नसक्ने ठाउमा पुगेर आफ्नो जिवनको इहलिला समाप्त गरेका छन् ।

पुस्तक एक जीवनी उपन्यास तथा निवन्ध सँग्रह जे भने नी हुन्छ किन भने यस पुस्तक आख्यान वा गैरआख्यान दुवै भिन्न भिन्न बिषय रुचाउने दुवैले रुचाउन सक्ने पुस्तक बनेको छ । यो एउटा सकारात्मक सोचको निम्ति प्रेरणाको श्रोत हो । देशको लागी वा आफ्नै लागि पनि केही गर्छु भन्ने भावना भएका ब्यक्तिहरुका लागी साच्चै एउटा राम्रो मार्ग दर्शन बन्ने छ ।

प्रेरणादायि पुस्तक लेखनमा लेखक मन्जुश्री थापाले २० वर्ष अघि देखीको आफ्नो मित्रताले भ्याए सम्म कुनै कुरा खोट नराखी सिक्लेसी ठिटो चन्द्र गुरुङको बारेमा हामी सामु बाड्ने हर प्रयत्न गरेको देखिन्छ । यो भन्दा अगाडी दिपक अधिकारीले अनुवाद गरेका पुस्तक नपढे पनि सिक्लेसको ठिटोलाइ भने पूर्ण न्यायदिएको छ भन्दा अत्युक्ति नहोला । साथै म जस्ता अज्ञानि अर्धज्ञानी अग्रेजी पुस्तक पढ्न अल्छेहरुलाइ पनि अनुवादकले अति धेरै गुण लगाएका छन् यदि यो पुस्तक नेपालीमा अनुबाद नभएको भए सायदै पढ्थे हुँला यदि पढि नै हाले पनि म जस्ती आलाकाचाले अधकल्चोमात्र बुझ्थे हुँला र यो अधकल्टो ज्ञान भनेको भयानक पनि हुन सक्थ्यो मेरा लागि । हुन त मैले यो पुस्तक पढेर देशकै लागि त केही नगरुला तै पनि आफ्नो व्यक्तिगत जिवनमा केहि थोरै मात्र भए पनि सकारात्मक सोच ल्याउन सकुला यहि नै मेरो लागि ठुलो हुने छ ।

Tuesday, September 20, 2011

लिम्बुवान तिर टहलिदा

बिषय प्रवेश
बिगत एक दशक देखी आफ्नो स्वायत्तराज्यको स्थापना गर्ने तथा लिम्बुवानबासीहरुको धर्म भाषा सँस्कृती तथा समग्र बिकास गर्ने उद्देश्य बोकेर अगाडि बढिरहेको लिम्बुवान आन्दोलन अझै पनि सँक्रमणकालिन अवस्थाबाटै गुज्रिरहेको छ । नेपालको एतिहासिकतालाइ सम्मान गर्दै जातीय जनसँख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको सिद्दान्त स्वीकार गरी जातीय एतिहासिक पृष्ठभुमि भाषिक एवँ क्षेत्रिय आधारमा सँवघिय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाका लागि लडिरहेका छन् लिम्बुवानका आदिबासीहरु बिषेशत लिम्बुवानका लिम्बुहरु ।

कहा हो त लिम्बुवान भुमी ?

सँखुवासभा धनकुटा तेह्रथुम पाँचथर ताप्लेजुङ मोरङ झापा र इलाम गरि जम्मा पुर्वका नौ जिल्लाहरुमा खास गरि लिम्बुजातिहरुको बसोवास बढि पाइने र उल्लेखित क्षेत्रहरुलाइ नेपाल एकिकरण पुर्व पल्लो किरात राज्य वा लिम्बुवान राज्य भनिने भएकाले उक्त गुमेको स्वशासित क्षेत्रलाइ पुन आत्मनिर्णयको अधिकार सहितको लिम्बुवान राज्य सँबिधानमै उल्लेख गरि लेखिनु पर्छ भन्ने लिम्बुवानी लिम्बुहरुको जोड रहेको छ ।

म टहलिन पुगेको धन्कुटा भित्रको लिम्बुवान क्षेत्र

महाभारत:
धनकुटा जिल्लाको ३५ गाबिस मध्यको एक भौगोलिक बिकटताले भरिएको र लिम्बुवान भित्रको एउटा राइजातिको बढि बसोबास भएको क्षेत्रहो महाभारत । सदरमुकाम धनकुटा नगरपालिका नजिकै देखी छोएको यो गाबिस जिल्लाकै सबै भन्दा टाढाको आहाले गाबिससम्म छोएको यस क्षेत्रमा बसोबास गर्ने धेरै जसो आदिवासी जनजातिहरु अशिक्षा र अज्ञानताको शिकार बनेर बस्नु परेको छ । सडक बिधुत तथा खाने पानि जस्ता भौतिक पुर्वाधार बिकासको सेवाबाट प्राय बञ्चित छन् । थुप्रै ग्रामिण सडकहरु बिस्तार भएता पनि हालसम्म महाभारत गाबिस सम्म जोडिने एउटै पनि सडक निर्माण कार्य पुरा हुन नसक्दा यहाको जनताले दिनप्रति दिन शास्ति खेप्नु परेको छ । सडक बिस्तार नभै सकेको कारण त्यहा उत्पादन भएका तरकारी तथा फलफुल पनि कुहिएर जानुका साथै सस्तोमा बिक्रिबितरण गर्नु परेको तितो अनुभव स्थानिय बासिन्दा बाडिरहेका छन् ।


गत आ वमा स‌सदकोष र जनसहभागिताबाट केही उल्लेखनियकाम भएतापनि धेरैबाँकि छ । अशिक्षाका कारण कुनै पनि कार्यक्रममा उपस्थिति जनाउन पनि अौठाछाप गर्ने अधिकाँश जनतालाइृ कुरा बुझाउन गाह्रो त छदैछ बिकासको लागि कहा के आवाज उठाउनु पर्ने भन्ने सम्बन्धमा केही थाहा छैन । अव लिम्बुवान प्राप्तिको लागि लडिरहनेहरुले यस पक्षतिर पनि ध्यान दिने हो कि एक पटक गहिरिएर सोच्ने बेला आएको छ ।



ताँखुवा:
जिल्लाको सदरमुकामबाट करिब ५ घण्टाको पैदलयात्राबाट पुग्न सकिने सुन्दर स्थान हो ताँखुवा । बिषेशत लिम्बु मगर क्षेत्रिब्राम्हणको मिश्रीत बसोबास रहेको यस क्षेत्रमा बिकासको पुर्वाधार मानिने ग्रामिण सडकले बि सँ २०३९ सालबाटै पाइला टेके पनि हाल सम्म एउटा ल्याण्ड रोबर पनि दैनिक चल्न नसक्ने अवस्थामा छ । अरु त अरु ब्यक्तिगत मोटरसाइकल पनि अोहोर दोहोर गर्न नसक्ने बिचरा अवस्थाबाट गुज्रिरहेको छ । बिशेषत सोझो सिधा जनजाती रहेकव यस ठाउमा कुनै पनि कार्यका लागी जनसहभागिता जुटाउनु परे सहभागीहरु महिलाको सँख्या प्राय सुन्य नै छ । उपभोक्ता समुहमा महिलाहरु राखेपनि अरुले जहा हस्ताक्षर गर भने त्यहि दस्तखत गरिदिने तर त्यो कुन प्रयोजनको लागि हो भन्ने कुरा केही थाहा नभइकन दस्तखत गर्ने खालका महिलाहरु मात्र छन् ।
शिक्षाको क्षेत्रबाट धेरै नै पछाडि परेको यस क्षेत्रको महिलाहरुको बिकासको लागी सचेतना कार्यक्रमहरु गर्न गराउन अत्यन्तै जरुरी देखिन्छ । पुरुष वा महिला हतपती कार्यक्रममा उपस्थित नहुने भै हाले पनि मादक पदार्थ सेवन पछि रमझमको अवस्थामा उपस्थित भए पछि आवश्यकिय कुराहरु पनि उठान गर्न नसकेको मेरो आफ्नो मुल्याङ्कन हो ।

बाख्रेखोला:
सदरमुकाम धनकुटा बजारको नजिकै रहेको बाख्रेखोला वरिपरिका जनता आफ्नै आँगनबाट गाडी अोहोर दोहोर गरि रहदा पनि भनेको समयमा सेवा सुबिधा लिनबाट बञ्चित छन् । बिषेशत आठपहरिया राइहरुको बढि बसोबास रहेको यस गाउमा बिकासको पुर्वाधार मानिने ग्रामिण सडकले भर्खरमात्र प्रबेश गरेको छ । नगरपालिका भित्रकै क्षेत्र भएता पनि उनिहरुको जिवस्तर तथा शैक्षिक क्षेत्रमा धेरै नै पछाडि परेका छन् ।

कुनै पनि कार्यका लागि जनसहभागिता कुरा उठाउनु परेमा कोही बोल्न नसक्नेहरुमात्र छन् । शिक्षा स्वास्थ खानेपानी तथा सडक हरेक क्षेत्रबाट धेरै पछाडि परेको यस क्षेत्रको बिकासको लागि नगरपालिकाले खास केही पहल गरेको पाइन्दैन । वडा नँ ३ कै माथिल्लो भेगमा क्षेत्रिब्रम्हण बस्ति बढि रहेको र नगरमा बनेका योजनाहरु सबै माथिल्लो भेगमै तान्ने र तलका बिचरा सोझा जनजाति हेरेको हेर्यै अबस्थामा छन् । समान हक र अधिकारको लागी लड्नै परे पनि कसरी र कहा लड्नु पर्ने भन्ने कुरा थाहा नभएका यस क्षेत्रका जनताको जिवनस्तर उकास्न केही गर्नै पर्ने तथा सोच्नै पर्ने अवस्था स्पष्ट छ ।

पेलेकपाङ:
पुर्वाञ्चलको सुन्दर नगरी धनकुटा जिल्लाको सदरमुकाम धनकुटा बजारको धनकुटा नगरपालिका अन्तर्गत ९ वटा वडाहरु मध्यको वडा न नौ मा पर्दछ । बिशेषत आठपहरिया जातिको एकलौटी बसाइ रहेको यस क्षेत्र सदरमुकामबाट करिब एक घण्टाको पैदल दुरिमा रहेको छ । बिकासको पुर्बाधार मानिने ग्रामिण सडकले भर्खरमात्र पाइला टेकेको यस गाउ बत्तिमुनिको अध्यारो जस्तै बनेर बसेको छ । कुनै पनिकाम परेर सुबिधा लिन परेमा दस्तुर नगरवासीहरु सँगै बरावर भएता पनि उनिहरुको जिवनस्तर तथा शैक्षिक स्थिति हेर्ने हो भने बिचरा नै छ ।
कुनै पनि कार्यक्रममा जनसहभागिता जुटाउनु परे महिला सहभागिता सुन्य प्राय रहने यस क्षेत्रलाइ हेर्दा कतै कर्णालीकै कुनै भाग होइन भन्ने भान हुन्छ । शिक्षा स्वास्थ खानेपानि तथा सडक हरेक क्षेत्रबाट बञ्चित यो क्षेत्रको लागि धेरै काम गर्न बाकि देखिन्छ ।

बुढिमोरङ:


तुलनात्मक अन्य क्षेत्र भन्दा धेरै अगाडी शिक्षा स्वास्थ तथा बिकासको हिसावले रहेको गाबिस बुढिमोरङमा लिम्बु राइ तामाङ तथा मगरहरुको मिश्रित बस्ति रहेको पाइन्छ । बिकासको पुर्वाधार सडक बिस्तारले भर्खर बाबे सार्दै गरेको यस क्षेत्रमा दैनिक बस सञ्चालन हुन सकेको छैन । अर्थको र शिक्षाको हिसाबले केही अगाडि नै रहेको यस क्षेत्रमा पर्यटनको बिकासलाइ अघि बढाउन सके अझै धेरै लाभ लिन सकिने देखिन्छ ।

Monday, September 5, 2011

नेपालको बर्तमान अवस्था

भन्नै पर्दा म जस्ता सर्वसाधारणले बुझ्ने र चिन्ने विश्वको सर्वोच्च शिखर सगरमाथाको देश भएर पनि विश्वसामु आफ्नो सान उच्च बनाउन नसकेको, शान्तिको अग्रदुत भगवान गौतम बुद्धको जन्मभुमि भएर पनि शान्ति र सद्भाव हुर्कन नसकेको, प्राकृतिक रुपमा विश्वको धनि देशहरु मध्येको भएर पनि दुनियाको दरीद्र राष्ट्रमा सुचिकृत हुन पुगेको, दुनियामा बहादुर गोर्खालीको पहिचान बनाएर पनि आफ्नै मातृभुमिको सिमाना दिन दहाडै मिचीदा लाचार र मुकदर्शक भएर बसिरहनु परेको, संसारमा जहासुकै पुगेर पनि इमान्दार जातिको रुपमा पहिचान बनाउन सक्ने नेपाली जातिको स्वदेश स्वय्ममा भने धुत्र्यार्इ (छली, चेलिवेटि बेचविखान गर्ने देखि स्वदेशी काठपात तस्कर गर्ने एउटा विचित्रको देश हो नेपाल । किन यस्तो हुन गयो त नेपालको स्थिति ? यो स्वाभिमानी नेपालीहरुको निम्ति ज्यादै महत्वपुर्ण र गम्भिर सवाल हो । यस सवाललार्इ सहि तरिकाले विश्लेषण गरिनु, उचित उतर पहिचान गरिनु र निकासको बाटो खोज्नु नितान्त जरुरी छ । मर्निङ्ग सोज द डे भनिए जस्तै अर्थात जस्को वर्तमान राम्रो छ उसैको भविश्य पनि राम्रो हुनेछ भन्ने भनार्इ सँग नेपालको वर्तमान स्थितिलार्इ दाजेर हेर्दा साथै यहांका राजनैतिक पार्टी वा तिनका नेताहरुको हर्कत हेर्दा अनि बहुसंख्यक मानिसहरुको प्रबृति हेर्दा त्यो छाट अझै निक्कै पर देखिन्छ । यसो भनिरहदां म निरासावादि ठहरीन सक्छु तर त्यो अवश्य पनि होर्इन ।

Saturday, September 3, 2011

अन्यौलतामा रुमलिएको हाम्रो भविश्य


शिक्षा, स्वास्थ्य, खानेपानी, आदी मानव जीवनको आधारभुत आवश्यकताहरु हुन् भनेर भनिरहनु पर्दैन । तर पनि यिनै भौतिक तथा आधारभुत आवश्यकताको पूर्ती गर्न नसकेर हाम्रो देश हरेक पक्षबाट काकाकुल अवस्थामा पुगेको छ । शिक्षाको लागी गाउ गाउमा शिक्षाको उज्यालो पुराउने भन्ने नियम छन् तर विद्यालय छैनन्, विद्यालय छन्, शिक्षक छैनन्, शिक्षक छन् पाठ्य पुस्तक छैनन्, केन्द्रतहमा यी सवै कुरा छन्, यसबाट उत्पादित दक्ष र योग्य जनशक्ति लार्इ रोजगार छैन, शान्ति सुरक्षाको प्रत्याभुती गर्न पाएको छैन, मानब अधिकार हनन भै रहेका छन् । स्वास्थ्यलार्इ हेरौ, केन्द्रमा योजना बनेका छन्, नीति नियम छन् तर जिल्ला तह सम्म आइपुग्दा अस्पताल छैन, अस्पताल छन् डाक्टर छैनन्, डाक्टर छन्, ‍औषधी उपचार छैन, यी सवै छन् एउटा मुर्दाघर छैन मानव जिवनमा अत्यावश्यक मानीने स्वास्थ्य सँस्थाको यस्तो जर्जर स्थीती छ । पानी कै कुरा गरौ, दक्षिण एसियामै पानीको दोश्रो धनीको रुपमा कहलिएको हाम्रो देश जहा एक घुट्को पानीको थोपा नपाएर सयौ मानिस छटपटिएका छन् । ठुला भनाउदा नेताहरु तिनै पानीको व्यापार गर्छन, राजनीति गर्छन अझ भनौ डलरको खेती गर्छन तर मध्यम तथा निम्न बर्गिय हामी जनताहरु काकाकुलको काकाकुल। हजारौ साना ठुला खोला कुवा धारा पधेरा देखेका छौ , सयैा खोलानाला चिनेका छौ तर विडम्वना तिर्खालागेको बेला एक घुट्को पानी पाउन निकै हम्मे पर्छ । पूर्व मेची देखी महाकाली सम्म केही भाग पानीको हाहाकारबाट मुक्त भएता पनि प्राय जसो ठाउमा मानीसले काकाकुल वन्नै परेको छ ।

जनसँख्या दिन दुगुणा रात चौगुणाको दरले बढी रहेका छन् तर उपभोग्य वस्तुहरु ठ्याक्कै त्यसको विपरीत हुदैछ । पूर्वाधार विकासक्रमको लहर चैत्रमा डडेलो सल्केझै सल्किएता पनि काम तथा नतिजा भने सुन्य देखिन्छ । खानेपानी तथा धारा घरघरमा , विधुत तथा सडक गाउ गाउमा भन्ने नाराका साथ जि.वि.स. गा.वि.सका योजना अगाडी बढेता पनि कार्यान्वयन हुन सकेको छैन। अचम्म त के भने धारा छ पानी छैन, विधुतको पोल छ विधुतीय तरँग अर्थात करेन्ट छैन। सडक गाउ गाउमा पुगेका छन् तर यातायातका साधन सुन्य छ । यो हरेक कुरा छैन छैनको स्थिति सृजना भै रहेतापनि योजनाहरु बन्न भने रोकिएका छैनन् । माथीका केन्द्रिय तहमा रहने ठुला भनाउदा नेताहरु तिनै पानी, सडक, विधुत आदीको योजना बनाउन तारे होटल धाउछन्, करोडौको लगानी गर्दैछौ भनी कागजमा सहि धस्काउछन्, तर हामी निम्न बर्गिय जनताहरु आशै आशमा निराश हुनु बाध्य छौ ।

अव फलाना ठाउको लागी योजना आयो रे, अव चाडै हाम्रो समस्याको समाधान हुने भो भनि फुरुगँ परेका विचरा हामी योजनको सुरुवाती दिन पर्खदा पर्खदा केश फुलेर फुस्रै भै सक्दा पनि काम सुरु हुन सक्दैन। कुनै कुनै काम सुरु नै भए पनि अन्त्य भएर लाभ लिन सकि रहेको हुदैन । अलि थोरै लगानीमा धस्काइएको सही हो भने केही दिनको पर्खाइ पछि केही दिनलार्इ मात्र भए पनि फल लिन सफल हुन्छौ । कुनै विदेशी नियोगले डलर वा पाउण्डस्टर्लीमा भिक्षा दिन्छन्, त्यो भिक्षा नेपाली जनता सामु आइ पुग्दा नेपाली रुपीयामा परिणत भै सक्छ अझ योजना कार्यान्वयन हुने ठाउमा आइपुग्दा त्यो रुपैया पनि पैसामा बद्ली सकेकेा हुन्छ । अव त्यो पैसाको लगानीले बनेको जुन कुनै पुर्वाधार बन्दा बन्दै जिर्ण भै सक्छन्। कुनै कुनैको एक वर्ष सम्मको लामो आयु हुन्छ तर अर्को सालत समस्या ज्युको त्युँ । झोलुगे पुल बन्छन् उद्घाटन अगावै भत्किएर जिर्ण हुन्छ, भवन निर्माण गर्छन वनि सक्दा हिमाल पहाड झै जिग्रीग रुप लिएर उभिदा कसैले लौरोले कोट्याउदा समेत पक्कि घरको छतबाट बुबुंती धुलो झर्छ । तर पनि हामीले विकास गरेका छौ भनेर गर्वका साथ कुर्लिन नेताहरुलार्इ लाज लाग्दैन ।

धन्य हामी नेपाली नियतीको खेल टुलुटुलु हेर्न बाध्य छौ। संविधान बनाउनका लागी चुनिएका सभासदहरु धमाधम नानाथरीको काण्डले निलम्वनमा पर्दैछन, सम्विधानको म्याद थपेको थपेकै प्रधानमन्त्रि फेरीएको फेरीएकै। नखाउ त दिनभरिको शिकार खाउ भने कान्छबाउको अनुहार भन्ने नेपाली उखानको चरितार्थ गरेको छ हालको अवस्थाले । खैर यस्ता गन्थन मन्थन थन्काउ यही कुनो तिर । अव गर्नै के त? उहि पुरानै कथा? अरुको कुरो काट्ने आफु पनि केही नगर्ने । अँह पटक्कै होइन। यि माथीका समस्या कुन मुलुकमा छैनन? सवै तिर छन् भ्रष्टाचार कहा छैन सबै देशमा छ तर हाम्रो बानी हजार राम्रो गुणमा एउटा मात्र अवगुण भेटाए तिनै अवगुणलार्इ खैरो खन्दै जान्छौ । अव विस्तारै सोच्ने शक्तिमा परिवर्तन ल्याउनु पर्छ । रोग छ, शोक छ भोक छ तर पनि हामीमा सबै थोक छ ।

हामीले आधा ग्लास पानी होइन आधा भरी पानीको मेथोडले अगाडी बढ्नु पर्छ । हामीले आफ्नो धरातल विर्सनु हुन्न मुख्य कुरा । हामी विश्वको दशौ महा गरिव देशमा पर्छौ त्यसैले हामीले युरोप र अमेरीकाको जीवन खोज्नु सार्थक छैन । हामीले पाएका शिक्षाले काम गरेर खाने भन्दा मुख बजाएर खाने सिप सिकेका छौ त्यसैले यो सिकाइलार्इ विस्तारै निरुत्साहित गर्दै मुख बजाएर हैन पाखुरी वजाएर खाने बातावरणाको सृजना गर्नु पर्छ । नेपालीहरुले अर्काको नक्कल चाडो गर्छौ तर हामी कुन धरातलको कुन कित्तामा उभिइ रहेका छौ भन्ने कुरा त भुसुक्कै भुल्छौ । कामलार्इ सम्मान गर्न जान्दैनौ तर अपमान गर्न पनि पटक्कै चुक्दैनौ यो प्रबृतिको निर्मुल गर्नु जरुरी छ । मुख्य कुरा सोचमा परिवर्तन आउनै पर्छ । यदि खयालत उही पुरातनबादी सोचले ग्रस्त छ भने टु पिस र मिनी स्कर्ट लगाउदैमा आधुनिक नारी भइदैन । हामी अर्काको देशमा जे पनि गर्न तत्पर हुन्छौ, त्यो जे भित्र जे पनि पर्न सक्छ तर आफ्नो देशमा काम गर्नु भन्दा अगाडी के भनेर प्रश्न गर्छौ । त्यो के लार्इ परै राखेर जे पनि गर्ने मानसिकता तयार गर्नै पर्छ । युरोप, अमेरीका जस्ता विकसित देशहरु त्यसै विकसित भएका हैनन् नत उनिहरु सुरुमै विकशित थिए । हाम्रो देशमा जस्तो काम गर्ने बेलामा के भनेर बसेको थियो भने उनीहरु पनि हाम्रै हाराहारीको कित्तामा उभिन्थे होलान् तर उनीहरु कामलार्इ के भनेर बसेनन् र भन्दैनन् पनि । हामी बाह्र महिनामा ४ महिना काम गर्छौ बाकी ८ महिना सुतेर विताउछौ त्यहि सुताइको क्रममा सुताइ धेर भएर निदाउन नसके पछि चियो चर्चा, अरुलार्इ घोचपेच छेडछाड गर्दै विताउछौ । विकसित मुलुकमा २४ घण्टामा १८ देखि २० घण्टा काम गर्छन हामी नेपाली नै पनि त्यति काम गर्न तत्पर हुन्छौ तर स्वदेश भित्र हामीलार्इ त्यति काम गर्न लाज लाग्छ । तर विडम्बना दिन दहाडै अर्कालार्इ लुटपाट गर्न, अरुलार्इ खिसी गरेर उडाउन, घोचपेच गरेर बोल्न लाज तथा सरम लाग्दैन । त्यसता प्रबृत्तकिो अन्त्य नभए सम्म न त समाज समृद्द बन्न सक्छ न त ब्यक्ति नै सभ्य बन्न ।

समाज परिवर्तन गर्नेहरुले पनि आफुलार्इ परिवर्तन गर्न सक्नै पर्छ । देश विकाश गर्नेहरुले पनि आफुलार्इ विकास गर्नै पर्छ । थालनी गरि सके पछि निश्चय नै गन्तब्यमा पुगिन्छ । हाम्रो जस्तो बहुजातिय बहुभाषिक र बहुसँस्कृतिको धनि मुलुकमा दलिय स्वार्थ र व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर म को हुँ भन्ने पहिचान गर्न सक्नु बुद्दिमानी हुने छ । शिक्षाको परिपाटी परिवर्तन गरी व्यवहारीक सिप सिकाउने हुन जसले पछिका दिनमा मुख बजाएर हैन पाखुरी बजाएर आफ्नो क्षमता प्रर्दशन गर्न सकुन ।

हरेक नागरिकले शान्ति सुरक्षा, न्याय र अधिकारको प्रत्याभुतीको बारेमा प्राथमिक तथा प्रारम्भिक तहबाटै ज्ञान लिन सकुन । हामी सँग अझै पनि दुइ खाले शिक्षा छ एक हुने खानेले आर्जन गर्ने शिक्षा र अर्को नहुने खानेले लिने शिक्षा तर सम्पूर्ण नेपाललार्इ एउटै डालोमा हालेर मुल्याकन गर्ने नीति नियमले भने लाखौ नेपाली जनता मर्कामा परेका छन् । काठमाण्डौको सुविधा सम्पन्न विधालयलार्इ हेरेर गरेको निर्णयले पक्कै पनि ताप्लेजुङ, मनाङ, हुम्ला र कर्णालीको जनतालार्इ हित गर्दैन । भनाइको तात्पर्य रातो वँङगला र लिटिल एन्जल्स तथा सेन्ट जेभियर्सबाट उत्पादीत विधार्थी र मनाङ को लोक प्रिय उच्च मा वि तथा चुङमाङको भारती मा.वि वा फलाटे मा.विबाट उत्पादीत विध्यार्थीको शैक्षिक योग्यतालार्इ प्रतिस्पर्धामा ल्याइनु उचित हुन्न । सकिन्छ भने राज्यले सवै विधालयलार्इ समानखालको पाठ्यक्रम प्रदान गरिनु पर्छ नभए पनि व्यवहारिक तथा व्यवसायिक शिक्षा निती ल्याउन जरुरि छ।

हामी मानीसको बुद्दि र क्षमता फरक फरक छ कसैको क्षमताले पाइलट बन्न सक्ला त कसैले सियो बनाउन केही भएन गारो लाउन वा घर बनाउन। कसैले कल चलाउन सक्ला वा कैची अर्थात काटा कुरुस नै किन नहोस कमसे कम व्यबहारिक सिप दिने खालको शिक्षा ल्याउनमा जोड दिइनु पर्छ । धनिलार्इ अझ धनि गरिवलार्इ झन गरिव बनाउने प्रबृतिको निरुपन हुन जरुरी छ । यसको लागि नियम कानुन चुस्त दुरुस्त र सबैलार्इ समान किसिमले लागु हुने मुलुकी ऐन हुनु जरुरी छ । नियम मात्र भएर हने होइन सवैले पालना गर्न सक्नु पर्छ यसको लागी हामीमा अनुशासन हुनु जरुरी छ । हाम्रा नेता ज्युहरु भन्नु हुन्छ १० वर्षमा नेपाललार्इ स्विजरलैण्ड बनाइ दिन्छौ । तर एक देशलार्इ अर्को देश बनाउदैमा बन्ने चिज हो र थोरै ? दिवा स्वप्न देख्नु त पाउनु पर्छ तर त्यति अचाक्लि पनि होइन । आफ्नो घाटी हेरेर हाड निले राम्रो । उपलब्ध श्रोत र साधनलार्इ सके सम्म सदुपयोग गरेर हरेक समाज र त्यहाका नागरिकलार्इ अनुशासित तथा सक्षम बनाउने हो भने न त १० वर्ष लगाएर नेपाललार्इ स्विजरलैण्ड बनाइ रहनु पर्छ न त बैकक । त्यो भन्दा हजार गुणा राम्रो आफ्नै समृद्द नेपाल बनाए कसो होला ?

Monday, July 25, 2011

जीवन

समयको भुमरी अनि परिस्थितीको खेलहरुमा
जीन्दगीको लडाईं लड्दै पड्दै जिवनलाइ खोज्दै थिए
कहिले अर्काको लागि त कहिले आफ्नै पहिचानको लागि किन नहोस
असहज र व्याकुलता भित्रको अन्तरद्वन्दमा फस्दै थिए

Thursday, April 14, 2011

शुभकामना

शुभकामना नव युगलाई
शुभकामना नव युगका पाखुराहरुलाई
शुभकामना सम्पुर्ण नेपालीहरुलाई
नव वर्ष २०६८को शुभकामना मेरा ब्लगमा पाल्नुहुने पाहुना पाठकहरुलाई
हजुर आदरणिय पाठक मित्रहरु घुम्दै फिर्दै रुम्जाटार भने झै फेरी पनि हाम्रो सामु एउटा सुखद दिन आएको छ । हुनत सबै दिन उस्तै नै हुन् र हामीले सबैलाई सुखद बनाउनु पर्छ तै पनि परापुर्वकाल देखि यो दिनलाई वर्षको नयाँ दिन भनेर शुभकामना आदान प्रदान गरिने दिन हुनाले म पनि यहाहरु सामु आफ्नै धरातल, आफ्नै मातृभुमि प्यारो देश नेपाल, अझ भनौ जन्मस्थान गृह जील्लाबाट नया वर्षको नया प्रहरमा हृदय देखि नै शुभकामना ब्यक्त गर्दछु ।
समय चक्रको परिधिमा समाहित हुदै जीवनका अनेकौ मोडहरु सँग अनवरत यात्रा गरि रहने हामी यात्रीहरुको जिवनयात्रा सधै एकैनास नहुने रहेछ । यहि यात्रालाई अँगालेर जीन्दगीको सार खोजी रहने यात्री म विगत ३, ४ महिना देखि ठप्प रहेको मेरो ब्लगलाई पुनः ब्युताउन आइपुगेकी छु । भनिन्छ जिन्दगीको उकाली लाग्ने बेला कहिले काही मानिसलाई थकाइ लाग्छ चौतारीमा बसेर सुमधुर गीत सुन्न मन लाग्छ अनि सँगितको मधुर धुनमा गुन गुनाउदै आफ्ना थकान मेटाउन मन लाग्छ साथै आँखा चिम्लिएर सपनाको सँसारमा डुवुल्की मार्दै पिडाका धारहरु पार गर्न महासागरको एक किनारमा छछल्किएका छाल सँगै मझेरी खेल्न मन पर्छ । यस्तै यस्तै परिवेश र परिस्थितीमा म पनि केहि महिना मनको थकान मेटाउन चौतारीमा सुसेलि खेल्दै बसेकी थिए । चौतारीको शितलता सँगै समाज र समयलाई बुझ्ने जमर्को गर्दै थिए । तर वास्तविकतालाई सामना गर्न नसकेर भाग्न खोज्नु जीन्दगीको सार खोज्नु होइन रहेछ । जीन्दगी यो पनि होइन रहेछ कि आफ्नो कर्तव्य र लक्ष्यलाई विर्सेर चौतारीमै बसेर दिउसै सपना देख्नु अनि कर्तव्यबाट पलाएन हुनु (कर्ण शाक्य, सोच) । जीन्दगी अगाडी बढ्ने क्रममा हरेक बाधा ब्यवधान आई पर्छ त्यसलाई समाधानको बाटो खोजेर अगाडी बढ्नु नै जिन्दगीमा मिठो रँग भर्नु रहेछ । त्यसैले त भन्दा रहेछन् क्रियाशिल मानिसको जिन्दगी निर्मल आकाश जस्तै हुन्छ जहा झट्ट हेर्दा केही देखिन्न तर अदृश्य वायुमण्डलमा हजारौ लिप्त वस्तुहरु छन् जुन हामी निश्चित समयमा मात्र देख्न सक्छौ ।
समय आफ्नै गतिमा सेकेण्ड सेकेण्ड गर्दै सुलुलु चिप्लदो छ । विहान हुन्छ दिउसो साँझ गर्दै रात छिप्पिदै गए पछि पुन नयाँ दिन सुरु हुन्छ यसै गरी वसन्त गृष्म वर्षा सरद उछिन्दै वर्षले फेरी पनि पुनः नयाँ नाम पाउछ । विरुवाले नया पालुवा पाउछ । वर्षले नया दिन पाउछ । हिजो झै लाग्छ साथीहरु माझ २०६७ को नया वर्षमा शुभकामना आदान प्रदान गरेको तर पृथ्वीले आफ्नो कक्षमा बसेर पुरै अक्ष पार गरि सकेछ । ३६५ दिनको लामो यात्रा सकि फेरी सुरुको १ बाट गन्ति गर्ने दिन आएछ । वसन्तका पालुवाहरु मौलाउन थाल्दा, बोट विरुवामा नव वर्षको स्वगतको लागी मुस्कुराइ रहेको फुलहरुले यो वातावरण त्यसै त्यसै रमणिय तथा उल्लासमय त बन्छ नै यहि मौकामा हामीले पनि नया जोस जाँगर र उत्साहलाई नया नया सृजनात्मक काममा लागाउनु पर्छ । नया वर्षले ल्याएको यो घडी यो पलसँगै एउटा नया सोच राखौ र यहि सोचलाई साकार पार्ने दृढ सँकल्प गरौ । तपाई हामीमा भएको सोच सफल पार्न हामी सबैको शुभकामना एक आपसमा निहित हुनेछ ।
पुनः सबै नव युगका पाखुराहरुलाई शुभकामना ।

Tuesday, February 22, 2011

ब्लडी सिचुएसन

२०१२ अर्थात पृथ्वीको अन्त्य हुने दिन । तपाइहरुलाइ कस्तो लाग्छ के वास्तवमै पृथ्वीमा रहेका सम्पुर्णकुरा नास हुने नै हो त ? हुनत यस्तो अनिष्ट हुदैछ वा पृथ्वीमा भएङ्कर दुर्घटना घट्दैछ पृथ्वीमा पुछ्रेतारा खस्दैछ भन्ने जस्ता हावादारी कुरा नेपालमा पनि हरेक वर्षायाममा एक पटक चलिरहेकै हुन्छन । तापनि अहिले सम्म कहि कतै पुछ्रेतारा त खसेको थिएन तर अवको २०१२ सालमा भने पृथ्वी सकिने कुरा भने के हुने हो थाहा छैन । यस अघि नै २०१२ साल विश्व खतम हुने दिन भनेर केही बैज्ञानिकहरुले घोषणा नै गरी सकेका छन त यसको बारेमा अमेरीकामा चलचित्र पनि बनि सकेका छन् । यसमा पर्खिनु र हेर्नु मात्र बाकी छ कि यो कुरामा कतिको सत्यता छ ।

Saturday, February 12, 2011

एउटा अपुरो यात्रा

करिव दिउसोको एक बजेको हुदो हो, रानुले विहान देखी केही नखाइ हिडेकीले पेटमा निकै वटा मुसा दौडीरहेको थियो । काउण्टरको माथी झुण्डिरहेको बोर्डमा मुल्य हेरी । लाइनमा चार जनाको पालो पछी उनको पालो आयो । काउन्टरमा उभिएकी इन्डियन जस्तो देखिने केटीले मसक्क मुस्कुराउदै सोधि
गुड आफ्टरनुन ह्वाट उड यु लाइक टु इट म्याम ?
माथि बोर्ड तरि हेर्दै रानुले अर्डर गरिन क्यान आइ ह्याभ अ चिकेन लिजेन्ड प्लिज ।
ह्विच ड्रिङ्कस डु यु प्रिफर म्याम?
स्मल पेप्सि विथ लिल् बिट आइस प्लिज
एनि थिङ्ग इल्स?
ब्यापारीको अन्य थप कुरा बिकाउने उपाय मिसाइ हाली कालीले ।
नो थ्याÍक्यु । इट्स फो सिक्सटी सेभेन प्लिज । टिलमा पैसा जोडेर इन्टर बटम दाब्दै बोली । झोलाको गोजी छामछुम पार्दा पनि चार पाउण्ड पुगेन चानचुन पैसा त्यसैले ५ पाउण्डको नोट झिकेर दिइन्,
योर अर्डर इज बिइङ्ग रेडी,
इट्स योर रेसिट एन थर्डटी थ्री पी म्याम ।
फिर्ता पेनी सहित विल रानुलाइ दिइन ।
थ्याङ्गक्यु ।

Tuesday, January 18, 2011

फरक शैलि : मैले देखेका बुझेका र यो सानो दिमागले जानेका केहीकुराहरु

कृष्णधाराबासी दाई सँग आधाबाटो सम्म पुग्दा गरिवि भोक प्यास र दुखाइले थलित परे ! उहा सँगै इलाम झापा सँग सँगै डुल्दा पुराना दिनहरुको ताजा सम्झना आइ रह्यो । आफ्ना जीवनका भोगाइहरुलाई शब्द शब्दमा उनेर राखीएका एक बन्डन पिडाको पोकाले सबैलाई मुटु घोच्न सफल आधाबाटो सकेर केही दिन बस्दा बुद्दीसागर दाई सँग कर्णाली घुम्ने अवसर पाए ! कर्णाली नेपालकै भुभाग भए तापनि सौताको छोरोलाई हेला गरे झै हेला गरेर कुनै पनि नेता वा सरकारले हाल सम्म पनि बिकासका पुर्वाधार बिजुली र सडकबाट बञ्चित गरेको कारण कर्णालीका जनताले झेली रहेको वास्तविक पिडाको बयानले मुटु चिमोटी रह्यो । अझ जीवन यापनका क्रममा भोग्नु परेको तितो यथार्थले कहिले बिकट गाँउ त कहिले नेपालगञ्जको बजार, कहिले सुर्खेत बजार त कहिले कर्णालीको डाडाकाडाँ सँग सँगै भौतारीदै दुख सँग रन्थनिदा जिन्दगी जीउनु वोटलको पानी पिउनु सरह सजिलो छैन नेपालमा भन्ने भान भो । केहि दिन दुखै दुखमा डुवेर छटपटि रहेको मन मुटु लिएर बसेको बेला एउटा अर्को यात्रा गर्ने मुड चल्यो यहि मुडमा दुखि रहेको मन लिएर ताना शर्मा ज्यु सँगै बेलायत तिर बरालिन आइपुगे! बेलायत तिर बरालिदा बेलायत मात्र नभइ लगभग सिगै युरोप डुल्न पुग्दा भने अलि मथ्थर भो।